लुम्बिनी प्रदेशमा पर्यटक घटेसँगै होटलले गरे कर्मचारी कटौती

Nov 16, 2025 11:25 AM Merolagani



नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा लुम्बिनी प्रदेशका होटलहरूले ३७.३४ प्रतिशतले कर्मचारी कटौती गरेका छन्। लुम्बिनी प्रदेशमा पर्यटक आगमनमा कमी आएपछि त्यस क्षेत्रका होटलहरुले कर्मचारी कटौती गरेका हुन् ।

लुम्बिनी प्रदेशमा गत आवमा पर्यटक आगमन ६१.७८ प्रतिशतले घटेर ४६ हजार ५ सय १९ आएको देखिएको छ । जसमा भारतबाट २९ हजार ६ सय ६१ पर्यटक आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि चीनबाट ३ हजार ३ सय ५९ र तेस्रो मुलुकबाट १३ हजार ४ सय ९९ पर्यटक लुम्बिनी घुम्न आएका छन् । राष्ट्र बैंकले सेवा क्षेत्र अन्तर्गत पर्यटन सम्बन्धी तथ्याङ्क तथा जानकारीहरु छनौटमा परेका १० वटा होटल तथा होटल व्यवसायी संघबाट संकलन गरिएको छ भने अन्य तथ्याङ्कहरु सम्वन्धित स्थानीय निकायहरु, कार्यालयहरु तथा संस्थानहरुबाट संकलन गरिएको जनाएको छ ।

मुलुकको सेवा क्षेत्रमध्ये लुम्बिनीले मात्र ५५ प्रतिशत हिस्सा ओगटेको छ । सेवा क्षेत्रमा सबैभन्दा धेरै योगदान बागमतीले ७७.१ प्रतिशत रहेको तथ्यांक छ ।

कुल पर्यटकमध्ये भारतबाट ३७ हजार ७ सय २१ र तेस्रो मुलुकबाट १ हजार ६ सय ७० आएको देखिएको छ । अघिल्लो आव पर्यटक आगमन १४.३४ प्रतिशतले बढेर ३४ हजार १ सय ४३ थियो । पर्यटक आगमन वृद्धि भएसँगै होटल व्यवसाय विस्तार भए पनि रोजगारी भने कटौती भएको देखिने राष्ट्र बैंकको विश्लेषण छ ।

लुम्बिनी प्रदेशका पहाडी र समथर भू–भागलाई जोड्ने पर्याप्त सडक सञ्जाल निर्माण गर्न सके स्थानीय रुपमा उत्पादित वस्तु तथा सेवालाई बजारीकरण गरी आयआर्जनमा टेवा पुर्याउन सकिने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सकेमा भैरहवा, लुम्बिनी, बुटवल, परासीलगायत आसपासका स्थानहरुमा रहेका होटल व्यवसाय तथा अन्य आर्थिक क्रियाकलाप बढाउन सकिने र आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न सक्ने सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशमा निर्माण भएका क्रिकेट स्टेडियम तथा सम्मेलन केन्द्रहरुमा राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरका खेल तथा सम्मेलनहरु आयोजना गर्न सकिने सम्भावना रहेको छ भने बुटवललाई पाल्पासंग जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा खण्डमा निर्माणधीन सुरुङ मार्गले यात्रालाई छिटो र सुरक्षित बनाउने भएकोले व्यापार तथा पर्यटनमा वृद्धि हुन सक्ने सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने तथा पर्यटन विकासको लागि प्रर्याप्त सुविधा, सूचना र सुरक्षित वातावरण निर्माण गरी गुणस्तरीय सेवा सुविधा उपलब्ध गराई पर्यटकको बसाई अघि लम्ब्याउनु पर्ने देखिएको छ । लुम्बिनी प्रदेशको बुद्ध जन्मस्थलमा भारतबाट भारतीय गाडीमा भारतीय गाइडलाई साथ लिएर आउने र पर्यटकलाई पनि भारतकै कुनै स्थान जसरी ब्रिफिङ दिने गुनासो आएकाले त्यसलाई पनि निर्मूल पार्ने गरी नीति तर्जुमा गर्नुपर्ने देखिएको छ ।





एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश वितरण गर्ने, बोलायो साधारण सभा

Nov 12, 2025 10:19 AM

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।