तर, एनपीएल त्यत्तिमा मात्र सिमित छैन । आयोजना भएको दोस्रो वर्षमै यो प्रतियोगिता नेपालका कर्पाेरेट हाउसहरु बीचको प्रतिस्पर्धाको रुपमा स्थापित हुँदै गएको देखिएको छ ।
त्यसको मुख्य कारण कर्पाेरेट हाउसहरुबीच एनपीएलमा सहभागि टीमहरुसँग जोडिने अर्थात् प्रायोजन गर्नको लागि प्रत्यक्ष/अप्रत्यक्ष रुपमा देखिएको होडबाजी नै हो । खेलकुद क्षेत्रका जानकारहरु अहिले एनपीएल खेलमा जोडिएर प्रायोजन गर्नको लागि जुन किसिमले कर्पाेरेट हाउसहरुबीच प्रतिस्पर्धा चलिरहेको छ, त्यस्तो अवस्था यस अगाडि कुनै पनि प्रतियोगिता र कार्यक्रमहरुमा नदेखिएको बताउँछन् ।
सिद्धार्थ बैंक लिमिटेड पाँच वर्षका लागि एनपीएलको मुख्य प्रयोजक बनेको छ। क्यानद्वारा गत वर्ष आयोजित पहिले सिजनदेखिकै ५ वर्षसम्म अर्थात् सन २०२९ सम्म (५ वर्ष) को मुख्य प्रायोजकको रुपमा सम्झौता गरिसकेको छ । मुख्य प्रायोजक भएकोले क्यानले यो प्रतियोगितको नामको अगाडि नै बैंकको नाम राखेको छ,अर्थात् सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिता नाम राखिएको छ ।
त्यस्तै एनसेल पनि एनपीएलको मुख्य प्रायोजकमध्ये एक बनेको छ ।

केही महिना अगाडि नासा सेक्युरिटिजले नेपाली राष्ट्रिय क्रिकेट टोलीसंग गरेको जर्सी प्रायोजन गरेको लगायतका एकदुई घटना बाहेक विभिन्न नाममा प्रायोजक भएर टीमसंग जोडिने कम्पनी र सम्वन्धित टीमले प्रायोजनको रकम खुलाउने गरेका छैनन् । नेपाल क्रिकेट संघ (क्यान) ले नासा सेक्युरिटीजसँग ३ वर्षको लागि ७ करोड ८ लाखको प्रायोजन सम्झौता गरेको थियो ।
नेपाली खेलकुदमा नै जर्सी प्रायोजनको यो अहिलेसम्मकै सर्वाधिक रकम हो । यसअघि क्यानले माई सेकेन्ड टिचरसँग वार्षिक ७७ लाखको सम्झौता गरेको थियो ।
यस्तै खेलकूदका पोशाकहरुको विक्री वितरण गर्दै आएको एक्स स्टेप एनपीएलको दोस्रो सिजनको लागि ‘एपेरियल पाटर्नर’ बनेको छ । एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेशमान श्रेष्ठ र क्यानका सचिव पारस खड्काले एपेरियल पाटर्नरको सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तर, सम्झौता रकम खुलाईको छैन ।
यस्तै क्यानसँगको सम्झौतापछि एक्सपर्ट एजुकेसन एनपीएलको आधिकारिक एजुकेसनल कन्सलटेन्सी पार्टनर बनेको छ ।
त्यो त राष्ट्रिय क्रिकेट टोलीको कुरा भयो । एनपीएलको आयोजन क्यान र विभिन्न टीमसंग जोडिएर प्रायोजन सम्झौता गर्ने कम्पनी र ती टीमहरुले कति रकमको लेनदेन गरिदैंछ भन्ने बारेमा केही बताउने गरेका छैनन् । त्यसैले प्रायोजन गर्ने कुन कम्पनीले प्रायोजन वापत कति रकम तिरे वा तिर्दैछन् भन्ने यकिन तथ्याँक सार्वजनिक हुन सकेको छैन ।
तर खेल क्षेत्रका जानकारहरुकाअनुसार एनपीएलमा सहभागि रहेका विभिन्न आठवटा टीमले यसपटक प्रायोजनबाट मात्रै ५० करोड भन्दा धेरै रकम कमाएका छन् भने आयोजक क्यानसँग समेत सम्झौता गर्ने कम्पनीहरुले गरेको लगानीलाई जोड्ने हो भने त्यो रकम अझ बढ्ने देखिएको छ ।
यहाँ एनपीएलको आयोजक क्यान र ८ टीमसँग प्रायोजन गर्ने कम्पनीहरुको बारेमा चर्चा गरिएको छ ।
प्रायोजनमा काठमाण्डु गुर्खाज सबैभन्दा अगाडि देखिएको छ । मिडिया टाइकुन कैलाश सिरोहिया, अर्बपती उपेन्द्र महतो र अरूण सराफको लगानी रहेको नेपाल स्पोर्टस डेभलपमेण्ट भेन्चर प्रा.लि. कम्पनी काठमाडाैंकाे गुर्खाजको स्वामित्व रहेको कम्पनी हो । एनपीएलका आठ टिममध्ये धेरै कम्पनीसँग प्रयोजन सम्झौता गर्नेमा काठमाण्डु गोर्खाज पहिलो बनेको हो । अहिलेसम्म आधा दर्जनभन्दा धेरै कम्पनीसंग प्रायोजन सम्झौता गरेको छ ।
कम्पनीले शिखर इन्स्योरेन्सलाई ‘गोल्ड पार्टनर’, एक्सट्रिम इनर्जिलाई ‘ड्रिङ्क पार्टनर’, आइआइएमएस कलेजलाई ‘अफिसियल एजुकेशन पार्टनर’, जाम्बोरी एजुकेसर्नसँग ‘नलेज पार्टनर’ र साथै ‘अफिसियल हस्पिटालिटी पार्टनर’को रुपमा टुलिप होटलसंग प्रायोजन सम्झौता गरेको छ । त्यस्तै काठमाडौं गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ ।
शैक्षीक परामर्श संस्था केआइइसीसँग समेत प्रायोजन सम्झौता गरेको त्यस्तै काठमाण्डु गोर्खाजले यसअघि नै मुख्य प्रायोजकको रुपमा वर्ल्ड लिंकसँग सम्झौता गरेको छ ।
काठमाण्डुको पछि—पछि कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स
काठमाण्डौ गुर्खाजपछि सबैभन्दा धेरै प्रायोजन सम्झौता गर्ने एनपीएलका टिमहरुमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स रहेका छन् ।
कर्णाली याक्स स्पोर्टस प्रा.लि.ले गत साउन ३ गते नै कर्णाली याक्सले हिल्टन होटल काठमाडौंसँग हस्पिटालिटी पार्टनरका रुपमा सहकार्य गर्ने सम्झौता गरेको थियो।
तर, जेनजी आन्दोलनको क्रममा हिल्टन होटल पूर्णरुपमा क्षतिग्रस्त भएपछि उक्त सम्झौता कार्यान्वयन नहुने अवस्था भएपछि कम्पनीले होटेल याक एण्ड यतिसँग सहकार्य सम्झौता गरेको छ ।
सम्झौता अनुसार एनपीएलका दौरान कर्णाली याक्सका खेलाडी तथा अफिसियल दरबारमार्ग स्थित याक एण्ड यति होलटमा बस्नेछन् ।
त्यस्तै कर्णाली याक्सले नेबिको विस्कुटसंग सहप्रायोजन, एसियन पेन्ट्ससँग सह प्रायोजन, ‘स्ट्रेन्थ पार्टनर’को रुपमा प्लम्बर पाइप्ससंग सम्झौता गरेको छ।
सुदूरपश्चिम रोयल्सले धनगढीस्थित एसपिए कलेजसँगको सम्झौता नवीकरण गरेको छ । पहिलो सिजनदेखि नै एसपिए कलेजले टिमसँग सहकार्य गर्दै आएकोमा थप २ सिजन यो साझेदारी रहनेछ ।
त्यस्तै सुदूरपश्चिम रोयल्ससंग एनपीएलको दोस्रो संस्करणका लागि मार्भल टेक्नोप्लास्ट प्रालिले एक्सिलेन्स पार्टनरको रुपमा सम्झौता गरेको छ ।
उता सुदूरपश्चिम रोयल्सको आधिकारिक एपरेल (पोशाक) पार्टनरको रुपमा डिआरसँग सम्झौता गरेको छ ।
चितवन राइनोजको सहप्रायोजक हिमालयन एभरेष्ट इन्स्योरेन्स
खेलकुदको प्रवर्द्धन र बीमा सचेतना विस्तार गर्ने उद्देश्यका साथ हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चितवन राइनोजसँग सह प्रायोजन सम्झौता गरेको छ ।
विराटनगरलाई पीएलओको निरन्तर साथ
एनपीएलका लागि विराटनगर किंग्स र पीएलओ ग्रुपबीच गत कात्तिकमा प्रायोजन सम्झौता भएको थियो ।
पहिलो सिजनमै विराटनगरसँग सहकार्य गरेको पीएलओले निरन्तर साथ दिने घोषणा गरेको छ ।
जनकपुर बोल्ट्ससंग प्रायोजन सम्झौता गरेका कम्पनीहरु
साविक विजेता जनकपुर बोल्ट्सले एनपीएल दोस्रो संस्करणका लागि क्लाउड एजुकेसन एन्ड भिसा सर्भिस एजुकेसन कन्सलटेन्ससंग प्रायोजन सम्झौता गरेको छ ।
त्यस्तै मुख्य उत्पादन कारखाना बुटवल औद्योगिक क्षेत्रमा रहेको फेमस स्टिलले जनकपुर बोल्ट्ससँग प्रायोजन सम्झौता गरेको छ । जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ ।
जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् ।
लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा याङ्गो
एनपीएल क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले विश्वव्यापी प्रविधि कम्पनी याङ्गो अन्तर्गतको याङ्गो नेपालसँग मुख्य प्रायोजकका लागि सम्झौता गरेको छ ।
अपवादमा पोखरा एभेन्जर्स
अन्य प्रतिस्पर्धी फ्रेन्चाइज क्लवहरु प्रायोजक खोज्न व्यस्त रहेको बेला पोखरा एभेन्जर्स भने अपवाद बनेको छ । गत वर्षको पहिलो सिजनमा सबैभन्दा कमजोर प्रदर्शन गरेको एभेन्जर्सले यसपटक कुनै पनि व्यवसायिक कम्पनीसंग प्रायोजन सम्झौता गरेको सार्वजनिक भएको छैन । बरु उस्ले सांगितिक कार्यक्रमहरु र विद्यार्थीहरुलाई सहयोग लगायतका विभिन्न कार्यक्रमहरुमार्फत आफ्नो टीमको प्रचार प्रसार गरिरहेको छ । टोलीले किन कुनै पनि व्यवसायिक कम्पनीसंग प्रायोजन सम्झौता गर्ने प्रयास गरेन ? औपचारिकरुपमा केही बताइएको छैन । तर टोलीका केही अधिकारीहरु मालिकहरुले आफै क्लवलाई सफल बनाएपछि बल्ल व्यवसायिक साझेदारहरु खोज्ने निर्णय गरेकोले प्रायोजनको लागि वेवास्ता गरिएको हो ।
स्मरण रहोस् पोखरा एभेन्जर्स नेपाल टी–ट्वान्टी क्रिकेट लिमिटेडले खरिद गरेको छ, जस्को टिम मालिकमा सुवोध त्रिपाठी र मनोबल श्रेष्ठ रहेका छन्।