एप्पलले सार्वजनिक गर्‍यो हाते थैली, मूल्य २३० अमेरिकी डलर पर्ने

Nov 16, 2025 03:04 PM Merolagani



एप्पलले आईफोन राख्ने थैली सार्वजनिक गरेको छ । कम्पनीले मङ्गलबार ‘आईफोन पकेट’ नाम दिइएको नयाँ क्यारिङ केस (हाते थैली) सार्वजनिक गरेको हो ।

यसको मूल्य २३० अमेरिकी डलर (करिब साढे ३२ हजार रुपैयाँ) तोकिएको छ । गत शुक्रबारदेखि यो केस अमेरिकासहित फ्रान्स, चीन, इटाली, जापान, सिङ्गापुर, दक्षिण कोरिया र बेलायतमा उपलब्ध भएको छ । यही थैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा एप्पलको चर्को आलोचना भइरहेको छ ।

मोबाइल बोक्ने सामान्य थैलीको यति महँगो मूल्य देखेर धेरैले आश्चर्य व्यक्त गरेका छन् । धेरै प्रयोगकर्ताले यसको अस्वाभाविक मूल्यलाई लिएर आलोचना गरेका छन् भने कतिपयले यसको डिजाइनलाई सामान्य बुनेको मोजा जस्तै भएको भन्दै मजाक उडाएका छन् ।

एप्पलका अनुसार यो उत्पादन ‘कपडाको एउटा टुक्रा’ बाट प्रेरित छ र यसको अवधारणा ‘एउटा अतिरिक्त पकेट बनाउने सोच’बाट आएको हो । छोटो फित्ता भएको यो थैली आठ ओटा कलर भेरियन्टमा उपलब्ध छ । साथै फिताको सन्दर्भमा यो तीन ओटा भेरियन्टमा उपलब्ध छ ।

यो घोषणासँगै सामाजिक सञ्जालमा धेरैले ‘एप्पलका फ्यानले जेसुकैको लागि पनि पैसा तिर्छन्’ भन्दै आलोचना गरेका छन् । थैलीको खुला मुख र मोजा जस्तो बनावटलाई लिएर पनि प्रश्न उठेको छ । एक्सका एक प्रयोगकर्ताले भने, “न जिपर, न कुनै बलियो बनावट र आजकल आईफोन चोरीका घटना बढिरहेका बेला यसमा सुरक्षा खोइ ? ”

तर, केहीले भने यसको बचाउ पनि गरेका छन् । उनीहरूका अनुसार ‘इसे मियाके’ जस्तो ठूलो फेसन ब्रान्डसँगको सहकार्यका कारण यसको मूल्य बढी भएको हो ।

उनीहरूले यसलाई ‘एप्पलको इतिहासप्रतिको सम्मान’ को रूपमा व्याख्या गरेका छन् । सामाजिक सञ्जाल विश्लेषक म्याट नभाराले बीबीसीलाई बताए अनुसार यसको मूल्य उपयोगिताभन्दा पनि ‘बनावट, ब्रान्डिङ र विशिष्टता’ मा केन्द्रित देखिन्छ ।




एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश वितरण गर्ने, बोलायो साधारण सभा

Nov 12, 2025 10:19 AM

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।