शेयर धितो कर्जा थप बढ्यो, मार्जिन कर्जा मात्रै एक खर्ब ४४ अर्ब नाघ्यो, तर शेयर बजारमा छैन रौनक

Nov 16, 2025 06:11 PM merolagani



शेयर धितो कर्जा थप बढेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको असोजसम्मको विवरणमा मार्जिन कर्जा थप बढेको देखिएको हो।

विवरण अनुसार असोजमा मार्जिन प्रकृतिको कर्जा तीन प्रतिशतले बढेको छ। केन्द्रीय बैंकका अनुसार असोजसम्म मार्जिन प्रकृतिको कर्जा मात्रै कुल एक खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ प्रवाह भएको छ। गत असार मसान्तसम्म उक्त प्रकृतिको कर्जा एक खर्ब ४० अर्ब ७० करोड रुपैयाँ मात्रै प्रवाह भएको थियो। जुन तीन प्रतिशतको बृद्धि हो। गएको तीन महिनामा मात्रै बैंक वित्तीय संस्थाले चार अर्ब २४ करोड रुपैयाँ शेयर धितो कर्जा दिएका छन्।

गत वर्षदेखि नै शेयर धितो कर्जा क्रमिक रुपमा बढ्दै आइरहेको छ। अघिल्लो असोजको तुलनामा गत असोजसम्म मात्रै मार्जिन कर्जा ३९ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सहज नीति अघि सारेसँगै शेयर धितो कर्जा बेस्सरी बढ्न थालेको हो।

शेयर धितो राखेर एक करोड रुपैयाँ भन्दा बढी ऋण लिने सबैभन्दा धेरै छन्। एक खर्ब रुपैयाँ भन्दा धेरै एक करोड रुपैयाँ भन्दा बढीको ऋण गएको छ। असोजसम्म एक करोड रुपैयाँ भन्दा बढीको ऋण २.१ प्रतिशतले बढेको छ। यसैगरी ५० लाख रुपैयाँ देखि एक करोड रुपैयाँसम्मको ऋण १०.५ प्रतिशतले बढेको छ। यता २५ लाख रुपैयाँ देखि ५० लाख रुपैयाँसम्मको ऋण १.५ प्रतिशतले बढेको छ भने २५ लाख भन्दा कमको ऋण ३.१ प्रतिशतले बढेको छ।

हरेक महिना शेयर धितो राखेर दिने ऋण क्रमिक रुपमा बढ्दै गए पनि त्यसको प्रत्यक्ष असर दोस्रो बजारमा भने पर्न सकेको छैन। दोस्रो बजार भने अझै पनि सुस्त नै गतिमा देखिन्छ। आम सर्वसाधारणले भने नेपाल राष्ट्र बैंकले नीतिमा गरेको कडाइले गर्दा शेयर बजार बढ्न नसकेको विश्लेषण गर्ने गरेका छन्। तर केन्द्रीय बैंकले गरेको सबै नीतिगत कडाइ खुला गरिदिँदा समेत दोस्रो बजारमा भने त्यसको असर देखिएको छैन।

आम सर्वसाधारण लगानीकर्तामा कन्फिडेन्स नबढेको कारण दोस्रो बजार बढ्न नसकेको विश्लेषण अहिले हुन थालेको छ। अर्कोतर्फ आउने निर्वाचनको अनिश्चितताले गर्दा पनि शेयर बजार सुस्त रहेको केही लगानीकर्ताको विश्लेषण छ। तर जस्तो सुकै परिस्थितिमा पनि बैंकबाट ऋण काढेर शेयर किन्ने क्रम भने रोकिएको छैन। लगानीकर्ताले बैंकको पैसा ल्याएर दोस्रो बजारमा खन्याउने क्रम भने हरेक महिना बढ्दै गइरहेको छ।

आम सर्वसाधारण लगानीकर्ताले शेयर धितो राखेर बैंक वित्तीय संस्थाबाट ऋण चलाउन पाउँछन्। यस अघि व्यक्तिगत लगानीकर्तालाई सीमा लगाइएको भएपनि अहिले भने सबै सीमा हटाइएको छ। अहिले बैंक वित्तीय संस्थाले शेयर धितो राखेर ऋण दिए पनि बैंक वित्तीय संस्थाले सूचीकृत सबै कम्पनीको शेयरमा ऋण दिँदैनन्। बैंक वित्तीय संस्थाले तोकेको सूचीकृत कम्पनीमा मात्रै शेयर ऋण प्रवाह गर्ने गर्छन्। बैंक वित्तीय संस्थाले सूचीकृत कम्पनीको १८० दिनको औसत मूल्य वा बजार मूल्य जुन कम हुन्छ त्यसको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने गरेका छन्।

बैंक वित्तीय संस्थाले जति सुकै ऋण प्रवाह गर्न सक्दैनन्। उनीहरूले पनि आफ्नो कोर क्यापिटलको ४० प्रतिशत मात्रै ऋण दिन पाउने केन्द्रीय बैंकको नियम छ।




एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश वितरण गर्ने, बोलायो साधारण सभा

Nov 12, 2025 10:19 AM

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।