नेपालमा आईफोन बोक्नेको संख्या झण्डै ६ हजार, वार्षिक ४० करोडभन्दा बढीको कारोबार

Nov 23, 2025 04:37 PM mero lagani



स्मार्ट फोनको सबैभन्दा अत्याधुनिक ‘भर्सन’ मानिने आईफोन बोक्नेहरुको संख्या नेपालमा पनि उल्लेख्य मात्रामा बढेको छ । सबै गरेर नेपालमा झण्डै ६ हजार जनाले आइफोन बोक्ने गरेको अनुमान व्यवसायीहरुले गरेका छन् । याे तथ्यांकमा अनाैपचारिक रुपमा बाहिरबाट ल्याइएका आइफोनहरु समावेश गरिएकाे छैन् ।

यो पछिल्लो भर्सनसम्मका सबै मोडलका आईफोनहरुको संख्या हो ।

गत वर्ष बजारमा आएको आईफोन १६ प्रोम्याक्स औपचारिक च्यानलबाट मात्रै झण्डै २ हजार वटा विक्री भएको थियो । नेपालमा औपचारिकरुपमा आईफोनको ‘डिलरसीप’ लिएर विक्री गर्ने दुईवटा कम्पनीहरु छन् —दरबारमार्गको इभो स्टोर र बबरमहलको ओलिज स्टोर ।

 

ती दुवै स्टोरहरुले गत वर्ष आएको आईफोन १६ प्रोम्याक्स १-१ हजार अर्थात दुईवटाले गरेर २ हजारको हाराहारीमा विक्री गरेका थिए । ‘यकिन संख्या दिन मिल्दैन तर १ हजारको आसपासमा हामीले बिक्री गरेको भनेर बुझ्नु भए हुन्छ’ इभो स्टोरका एक अधिकारीले मेरो लगानीसँग भने । ओलिज स्टोरले पनि आफूले करिब १ हजारवटा आईफोन १६ प्रोम्याक्स विक्री गरेको जानकारी दिएको छ ।

त्यसबाहेक कतिपय मानिसहरुले विदेशबाट सोझै मगाएर पनि आईफोन बोक्ने गरेका छन् । आईफोन १६ प्रोम्याक्सको बजार मूल्य २ लाख ७ हजार थियो (हाल बजारमा छैन) त्यो आधारमा २ हजारवटा मात्रै आईफोन १६ प्रोम्याक्सको विक्री भएको मान्ने हो भने ४१ करोड ४० लाखको कारोबार भएको देखिन्छ ।

उच्च गुणस्तरको फोन बोक्न चाहाने तर आर्थिक अवस्थाको कारण सम्भव नहुने खासगरि मध्यमवर्गका मानिसहरुले ‘सेकेण्ड ह्याण्ड’ आइफोन किन्ने गरेका छन् । उच्च वर्गका मानिसहरुले केही समय चलाएपछि नयाँ मोडलको आइफोन किन्नको लागि पुरानो मोडलको आईफोन मूल्य घटाएर स्टोरलाई विक्री गर्छन् र मध्यम वर्गकाले ‘सेकेण्ड ह्याण्ड’ आईफोन खरिद गर्छन् ।

यसरी नेपालमा आईफोनको नयाँ मोडलको साथसाथै ‘सेकेण्ड ह्याण्ड’ बजार पनि निकै चलेको छ । ‘सेकेण्ड ह्याण्ड’ आईफोन अवस्था हेरि २०-२५ हजारदेखि ८०-८५ हजारसम्ममा कारोबार हुने गरेको व्यवसायीहरु बताउँछन् । कतिपय आइफोनहरु त पटक पटक विक्री हुने गर्छन् । अर्थात ‘थर्ड ह्याण्ड, फोर्थ ह्याण्ड’ समेत खरिद विक्री हुने गरेको छ । आईफोनको ‘सेकेण्ड, थर्ड र फोर्थ ह्याण्ड मार्केट’ पनि करोडौंको रहेको उनीहरुको भनाइ छ ।

हाल बजारमा आईफोन १७ प्रोम्याक्स आउने क्रममा रहेको छ । २ लाख ४० हजार रुपैयाँबाट शुरु हुने आईफोन १७ प्रोम्याक्सको लागि कम्पनीहरुले क्रेडिट कार्डमार्फत ३ महिना, ६ महिना र १ वर्षको किस्तावन्दी सुविधा पनि दिने घोषणा गरेका छन् । आईफोन १६ प्रोम्याक्स झण्डै २ हजारको संख्यामा विक्री भएको नेपाली बजारमा आईफोन १७ प्रोम्याक्स कति विक्री हुन्छ अहिले नै अनुमान गर्न कठिन हुने व्यवसायीहरु बताउँछन् ।

स्मरण रहोस् आइफोन इन्टरनेट तथा मल्टीमीडिया चलाउन मिल्ने एप्पल आइएनसीद्वारा बनाइएको तथा बजारमा ल्याइएको एउटा स्मार्टफोन हो । पहिलो आइफोन ९ जनवरी २००७ मा एप्पल आइएनसीका प्रमुख कार्यकारी अधिकृत स्टिभ जब्सले सार्वजनिक गरेका थिए ।  यो २९ जुन २००७मा बजारमा आएको थियो । अहिलेसम्म आईफोनका दर्जनौं भर्सनहरु आइसकेका छन् ।