नेपाली कांग्रेसको निर्णय र दुर्गा प्रसाई समुहसँग सम्झौतापछि चुनावी वातावरण तयार हुँदै, एमालेले कार्की आयोगको रबैया हेरेर निर्णय गर्ने

Nov 23, 2025 02:32 PM mero lagani



फागुन २१ को लागि तोकिएको निर्वाचन हुने, नहुने आशंकाकाबीच विस्तारै चुनावी माहौल बन्दै गएको छ । प्रायः सबै राजनीतिक पार्टीहरु चुनावको आन्तरिक तयारीमा लाग्न थालेका छन् ।

तर, विघटित प्रतिनिधि सभाको दोस्रो ठूलो दल नेकपा एमाले भने चुनावको तयारीभन्दा संसद पुनर्स्थापनासहितको सडक संघर्ष र महाधिवेशनमा केन्द्रित भैरहेको छ ।

विघटित प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले चुनावमा भाग लिने गरे लगत्तै सरकारले आन्दोलनको तयारी गरिरहेको दुर्गा प्रसाईं समुहसंग सहमती गरेर चुनावि वातावरणलाई गति दिएको छ । प्रसाईंले गर्ने भनेको आन्दोलनलाई स्थगित गराउन सफल भएसंगै देशभर चुनावको थप माहौल सृजना हुने देखिएको छ । तराई मधेशलगायतका विभिन्न ठाउँमा एमाले र जेनजीका समुहरुबीच भैरहेको र हुन सक्ने सम्भावित झडपलाई रोक्नु अब सरकारको लागि मुख्य चुनौति देखिएको छ ।

जेनजी आन्दोलनपछि अन्य पार्टीहरुको तुलनामा विभिन्नरुपमा कार्यकर्ता परिचालनलाई तीब्रता दिइरहेको नेकपा एमालेले अझै पनि चुनावलाई महत्व दिएको देखाएको छैन । उस्ले संसद पुनस्र्थापनालाई नै महत्व दिइरहेको बताइरहेको छ ।

एमाले नेताहरु आफ्नो पार्टीले बाहिरिरुपमा चुनावलाई महत्व दिएको नदेखाएपनि आन्तरिकरुपमा भने निकै शसक्तरुपमा चुनावी तयारी गरिरहेको बताउंछन् । ‘टोल, वडादेखि केन्द्रसम्म पार्टी पङित परिचालित भएको छ । विभिन्न अभियानहरु चलिरहेका छन् । त्यो भनेको चुनावि तयारी नै त हो । हामी त अरु कुनै पार्टीले तयारी नगर्दै चुनावी अभियानमा होमिएका छौं’ नेकपा एमालेका एकजना उपाध्यक्षले मेरो लगानीसंग भने ।

उनका अनुसार सरकारले जेनजी आन्दोलनमा दमन गरेको निहुँमा अध्यक्ष केपी ओलीलाई पक्राउ गर्छ कि भन्ने आशंकाले चुनावमा भाग लिने घोषणा नगरिएको हो । ‘जेनजी भनिने केही व्यक्तिहरु, उनीलाई पर्दा पछाडिबाट आड भरोसा दिने व्यक्तिहरु र स्वंय प्रधानमन्त्री सुशिला कार्की तथा गृहमन्त्री ओमप्रकाश अर्याल जस्ता व्यक्तिहरु ओलीलाई जसरी पनि थुन्नु पर्ने पक्षमा देखिएका छन् । त्यस्तो भएमा हामी कसरी चुनावमा भाग लिन्छौं ? त्यसैले तथाकथित छानविन आयोग र सरकारको रबैया स्पष्ट नभएसम्म हामी चुनावको पछाडि लाग्दैनौ, आन्तरिकरुपमा गर्नु पर्ने कामहरु भने गर्छाैं’ नाम उल्लेख गर्न नचाहाने त्यो उपाध्यक्षले भने । उनले औपचारिकरुपमा जे जे भनिए पनि खासमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको भूमिकामा पार्टीको चुनावि रणनीति तयार हुने बताए ।
‘प्रधानमन्त्री, गृहमन्त्री र जाँचबुझ आयोगका अध्यक्ष नै ओलीलाई जसरी पनि थुन्नु पर्ने मान्यतामा देखिएका छन् । त्यसो भएपछि हामीले कसरी भाग लिने ?’ भन्ने प्रश्न गर्दै यदि आयोगले ओलीलाई केही गरेमा एमालेले चुनावमा भाग नलिने मात्र होइन, चुनाव नै विथोल्न सक्ने सम्भावना रहेको दावी गरे ।
यता, जेनजी आन्दोलनको क्रममा भएको धनजनको क्षतिको छानबिन गर्न बनाइएको जाँचबुझ आयोगले ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकसहितका उच्च पदस्तहरुसंग बयान लिने तयारी गरेको छ । आयोगले २ दिन अगाडि मुख्यसचिव एकनारायण अर्यालसंग घण्टौं बयान लिइसकेको छ

अब आयोगले ओली र लेखकसहित अन्य अधिकारीहरू पनि अनुसन्धानको दायरामा रहेको भन्दै छानबिनको निम्ति कुनै पनि समय आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृतिबेगर काठमाण्डू उपत्यका छाड्न नपाउने निर्णय असोज १२ गते गरेको थियो । त्यसबाट उत्तेजित बनेका ओलीसहितका नेता कार्यकर्ताहरु आयोग र सरकार विरुद्ध आक्रामक रहंदै आएका छन् । उनीहरुले ओलीलाई बयानको लागि बोलाइ नजाने दावी गर्दै आएका छन् ।


एमाले नेताहरूले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जिम्मेवारी पाउनुअघि तत्कालीन सरकारका नेताहरूविरुद्ध सामाजिक सञ्जालमै धारणा व्यक्त गरेको भन्दै आयोगको निष्पक्षतामाथि निरन्तर प्रश्न उठाउंदै आइरहेका छन् । आयोगको अध्यक्ष बन्नु अघि नै कार्कीले तत्कालिन प्रधानमन्त्री ओलीलाई पक्राउ गरेर हदैसम्मको कारवाही गर्नु भन्दै सामाजिक संजालमा निरन्तर आवाज उठाइरहेका थिए ।