नेप्सेमा 'फन्डामेन्टल्ली स्ट्रोङ' कम्पनीहरू कसरी छान्ने?

Dec 05, 2025 02:23 PM Merolagani



  • स्याम चालिसे

नेपालको शेयर बजार (नेप्से) मा लगानी गर्नु सुरुमा डर लाग्दो देखिन सक्छ। नेप्सेमा सयौं कम्पनीहरू सूचीकृत छन्, तर कुन कम्पनी खरिद गर्न लायक छ भनेर कसरी थाहा पाउने?

 

यसको उत्तर हो — Fundamental Analysis

यो संसारभरका अनुभवी लगानीकर्ताले प्रयोग गर्ने तरिका हो जसले दीर्घकालीन रूपमा राम्रो प्रतिफल दिने कम्पनीहरू पत्ता लगाउन सहयोग गर्छ। राम्रो कुरा के छ भने, तपाईं नयाँ भए पनि, केही ज्ञान र सीपहरूले तपाईंलाई Fundamentally Strong कम्पनीहरू छान्न सजिलो हुन्छ।

१. Fundamentally Strong भन्नाले के बुझिन्छ?

Fundamentally Strong कम्पनी भन्नाले त्यस्तो कम्पनी जसले:

  • नियमित नाफा कमाइ रहेको छ
  • कम ऋण बोकेको हुन्छ
  • हरेक वर्ष लाभांश बाँड्छ
  • बिस्तारै बजार वृद्धि गरिरहेछ
  • दीर्घकालीन सम्भावना भएको क्षेत्रमा सञ्चालन भइरहेको हुन्छ

समग्रमा भन्नुपर्दा, आर्थिक रूपमा बलियो र सक्षम व्यवस्थापन भएको व्यवसाय जुन बजारको उतारचढाव झेल्न सक्छ।

२. मुख्य अनुपातहरू के के हुन्?

नयाँ लगानीकर्ताले निम्न सरल वित्तीय अनुपात हेरेर लगानी गर्न सक्छन्:

  • प्रतिशेयर आम्दानी (ईपीएस)

ईपीएसले कम्पनीले प्रति शेयर कति नाफा कमाइ रहेको भन्ने देखाउँछ।

  • मूल्य आम्दानी अनुपात (पीई रेशियाे)

पीईले शेयरको मूल्य नाफासँग तुलना गर्दा महँगो कि सस्तो छ भन्ने देखाउँछ।
कम पीई भएको कम्पनी तुलनात्मक रूपमा सस्तो मानिन्छ (तर त्यही सेक्टर भित्र तुलना गर्नुपर्छ)।

  • रिटर्न अन इक्विटी (आरओई)

आरओईले लगानीकर्ताको पैसाबाट कम्पनीले कति नाफा कमायो भन्ने देखाउँछ।
आरओई १० प्रतिशतभन्दा माथि भए राम्रो मानिन्छ।

  • डेब्ट टु इक्विटी रेशियाे (डिइ) 

ऋण बढी भएको कम्पनी जोखिमयुक्त हुन्छ, डिइ रेशियाे कम हुनु राम्रो हो।

डिइ रेशियाे १ भन्दा कम भए राम्रो मानिन्छ। 

३. कम्पनीको वार्षिक प्रतिवेदन पढ्नुहोस्

वार्षिक प्रतिवेदन वा वार्षिक प्रतिवेदनबाट तपाईंलाई कम्पनीको सम्पूर्ण स्थिति थाहा हुन्छ — पूँजी, मुनाफा, खर्च, ऋण, लाभांश, भविष्य योजना आदि। नेप्से वा कम्पनीको वेबसाइटबाट सजिलै डाउनलोड गर्न सकिन्छ।

पढ्नुपर्ने मुख्य कुरा:

  • आम्दानी वृद्धि
  • मुनाफा ट्रेन्ड
  • सम्पत्ति र दायित्व
  • व्यवस्थापनको टिप्पणी र लेखापरीक्षकको निष्कर्ष

४. हाइपभन्दा कन्सिस्टेन्सी हेर्नुहोस्

एक्कासि चर्चामा आएका शेयर वा "Hot Tips" पछ्याउने होड नगर्नुहोस्।
बरु हेर्नुहोस् कि कम्पनीले:

  • आम्दानी र मुनाफा वर्षेनी बढेको छ?
  • पछिल्ला ४–५ वर्षमा लाभांश दिएको छ?
  • इन्स्याेरेन्स, जलविद्युत, बैंकिङ, फाइनान्स, उत्पादन तथा प्रशाेधन जस्ता मजबूत क्षेत्रभित्र पर्छ?

यी कम्पनीहरूले बिस्तारै तर स्थिर रूपमा सम्पत्ति बनाउने काम गर्छन्।

५. एक्सेल वा उपकरण प्रयोग गरेर तुलना गर्नुहोस्

आफ्नै तुलनात्मक सिट तयार पार्नुहोस्, तलको डाटा निकाल्नुहोस्:

  • प्रतिशेयर आम्दानी
  • मूल्य आम्दानी अनुपात
  • आरओई
  • डिइ
  • डेभिडेन्ड यील्ड
  • खुद नाफा वृद्धि

कम्तीमा ५–१० कम्पनी एउटै सेक्टरबाट तुलना गर्नुस्। एकदमै स्पष्ट देखिन्छ — कुन कम्पनी बलियो छ र कुन कमजोर?

६. लगातार सिक्दै जानुहोस् र सानो रकमबाट सुरुवात गर्नुहोस्

सुरुवातमा थोरै रकम लगानी गरेर सिक्नुहोस्। "सबै कुरा बुझिसकेपछि मात्र लगानी गर्छु" भन्ने सोच लिनुस्।

राम्र‍ो अनलाइन काेर्स, ट्रेनिङ वा लर्निङ ग्रुपमा जोडिनुस्।

धेरै नयाँ लगानीकर्ताहरू बिना बुझाइ, अरूलाई सुनाउन शेयर किन्छन् र घाटा बेहोर्छन्।

निष्कर्ष

Fundamentally Strong कम्पनी खोज्न फाइनान्सियल एक्सपर्ट हुनै पर्दैन। तपाईंलाई चाहिन्छ —

  • सही सोच
  • केही आधारभूत उपकरणहरू
  • सिक्ने चाहने

लगानीमा – आर्थिक रूपमा सबल र स्थिर कम्पनीले नै सफलताको ढोका खोल्छ।

सानोबाट सुरु गर्नुहोस्, दीर्घकालीन सोच राख्नुहोस् — अनि तपाईंको पैसा तपाईंको लागि काम गर्न थाल्छ।