बढ्दो क्रममा रहेको नेपालको निर्यात ४ महिनामा ९३ अर्ब पुग्यो, अझै पनि व्यापार घाटा भने भयावह

Nov 23, 2025 04:35 PM MeroLagani



नेपालले चालु आवको पहिलो ४ महिनामा साढे ९३ अर्ब रुपैयाँको सामान निर्यात गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७७ दशमलब ५१ प्रतिशतले बढी हो । गत वर्ष नेपालले चार महिनामा ५२ अर्ब ६७ करोड रुपैयाँको मात्रै सामान निर्यात गरेको थियो।

आयातको तुलनामा निर्यातको प्रतिशत बढे पनि आयातको तुलनामा निर्यातको आकार भने एकदमै सानो छ । गत वर्षको चार महिनामा कुल व्यापारको निर्यातको हिस्सा ९.३० प्रतिशत रहेकोमा चालु आवको पहिलो चार महिनामा सो हिस्सा बढेर १३.३० प्रतिशत पुगेको छ । निर्यात हिस्सा बढ्दा सोही मात्रामा कुल व्यापारमा आयातको हिस्सा भने ९०.७० बाट घटेर ८६.७० प्रतिशत पुगेको छ ।

निर्यात बढ्दो क्रममा रहे पनि चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालको व्यापार घाटा ५ खर्ब १५ अर्ब रुपैयाँ पुगेकाे छ । गत वर्षको पहिलो चार महिना भन्दा नेपालको व्यापार घाटा ११.९९ प्रतिशतले बढेको थियाे ।

भन्सार विभागका अनुसार कात्तिक महिनासम्म नेपालले ६ खर्ब ९ अर्ब ४५ करोडको बस्तु आयात गरेको छ जुन अघिल्लो वर्ष ५१ अर्ब ३३ अर्ब ८८ करोड रुपैयाँ थियो । नेपालको आयात व्यापार गत आवको भन्दा १८.७१ प्रतिशतले बढेको छ । आयात र निर्यातमा वृद्धिसँगै कुल वैदेशिक व्यापार पनि २४.१८ प्रतिशतले बढेर ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष आयात निर्यात अनुपात ९.७५ गुणा रहेकोमा चालु आवमा यो घटेर ६.५२ गुणा पुगेको छ ।