निरन्तर तेस्रो कारोबार दिन बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Nov 25, 2025 03:10 PM Merolagani



मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ५.३२ अंक बढेर २६५५.९९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ७ अर्ब रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१९ स्टकको १ लाख २ हजार ६४२ पटकको कारोबारमा ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँबराबरको १ करोड १९ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन झापा इनर्जी, सागर डिष्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको जोशी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ४.९६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन बन्दीपुर केबलकार एण्ड टुरिजम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ९९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको २४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.३३ प्रतिशत घटेको छ।