बोर्डले दिएको समय भित्र व्यक्ति संस्था र सरोकारवालाहरूले आ-आफ्नो तर्फबाट राय सुझाव दिएका छन्। जसमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पनि राय सुझाव दिएको छ। सबैले दिएका राय सुझाव महत्त्वपूर्ण हुने भएपनि मार्जिन सेवामा प्रत्यक्ष सहभागिता रहने ब्रोकर कम्पनीले दिने सुझाव अरू सुझाव भन्दा महत्त्वपूर्ण हुन्छ। किनकि मार्जिन सेवा दिने भनेको ब्रोकर कम्पनीले नै हो। यस अघि पनि ब्रोकर कम्पनीले अपुरो नियम रहेको भन्दै सेवा दिएका थिएनन्। जसलाई सम्बोधन गर्न पनि बोर्डले निर्देशनको प्रारम्भिक मस्यौदा तयार पारेको हो। बोर्डले तयार पारेको निर्देशनमा अझै पनि ब्रोकर कम्पनीले चित्त बुझाएका छैनन्। ब्रोकर कम्पनीहरूले निर्देशनको सट्टा नियमावली नै आवश्यक रहेको औँल्याएका छन्। एसोसिएसनले दिएको सुझावको पहिलो प्यारा ग्राफमा नै “मार्जिन कारोबारको व्यवस्थालाई निर्देशिकाबाट भन्दा पनि नियमावली मार्फत आउँदा अझै बलियो कानुनी आधार बन्न सक्ने हाम्रो सुझाव रहेको छ,” लेखिएको छ।

यस अघि स्रोत अभाव देखाउँदै ब्रोकर कम्पनीहरूले मार्जिन सेवा सुरु गर्न आनाकानी गर्दै आइरहेका थिए। उनीहरूले मार्जिन कारोबार गर्दा लगानीकर्ताले किनेको शेयर नै धितो राखेर रकम परिचालन गर्न पाउनु पर्ने माग गर्दै आइरहेका थिए। जुन माग पुरा नभएसम्म मार्जिन सेवा उपलब्ध गराउन नसकिने ब्रोकर कम्पनीहरूले जिकिर गर्ने गरेका थिए। त्यस विषयलाई पनि ब्रोकर कम्पनीहरूले प्राथमिकताका साथ उठाएका छन्। उनीहरूले दिएको सुझावमा सो विषयलाई “ग्राहकबाट लिएको शेयरलाई बैंक तथा वित्तीय संस्थाहरूमा धितो राखेर कर्जा परिचालन गर्ने व्यवस्था हुँदा जोखिम बाँडिने र श्रोतको पनि उचित व्यवस्था हुने अवस्था रहन्छ,” एसोसिएसनले दिएको सुझावमा उल्लेख छ।
यसैगरी प्रस्तावित मस्यौदामा पनि ब्रोकर कम्पनीहरूले बुँदागत रुपमा छुट्टा छुट्टै सुझाव दिएका छन्। मस्यौदामा भएका धेरै जसो बुँदामा एसोसिएसनले संशोधन खोजेको छ।
तल हेर्नुहोस् एसोसिएसनले दिएको सुझाव जस्ताको त्यस्तै
मार्जिन कारोबारलाई व्यवस्थित गर्न आवश्यक सुझावहरू,
यस अघि मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०७४ लागू भएकोमा केही सदस्य दलाल व्यवसायीहरूले प्रयोगमा ल्याउन चाहेता पनि केही व्यावहारिक कठिनाइ तथा केही प्राविधिक कठिनाइले गर्दा र मार्जिन सुविधा प्रदान गर्ने स्रोतको समस्याले गर्दा हाल कार्यान्वयनमा ल्याउन सम्भव नभएर यथास्थितिमा रहेको अवस्था थियो। यसै बीच धितोपत्र बोर्डले मार्जिन कारोबार सम्बन्धी निर्देशन २०८२ मा केही संशोधन सार्वजनिक गरेर सुझाव माग गरेकोमा हामी आभारी छौ। तथापि अझै पनि केही विषयमा हाम्रा गम्भीर कठिनाइसँगै सुझाव पेस गरेका छौँ।
जुन कुराहरू निम्न रहेका छन्
१. सदस्य दलाल व्यवसायीहरूले मार्जिन कारोबारको लागि चाहिने लगानीको रकम कसरी व्यवस्थापन गर्ने भन्ने विषय नै रहेका छ। यसमा मुख्य गरी हामीले उठाउँदै आएको विषय ग्राहकबाट लिएको शेयरलाई बैंक तथा वित्तीय संस्थाहरूमा धितो राखेर कर्जा परिचालन गर्ने व्यवस्था हुँदा जोखिम बाँडिने र श्रोतको पनि उचित व्यवस्था हुने अवस्था रहन्छ। त्यसैगरी मार्जिन कारोबारको व्यवस्थालाई निर्देशिकाबाट भन्दा पनि नियमावली मार्फत आउँदा अझै बलियो कानुनी आधार बन्न सक्ने हाम्रो सुझाव रहेको छ।
२. मार्जिन कारोबार गर्ने ग्राहकको परिवार, हकवाला, अन्य नियमनकारी निकाय, अनुसन्धान गर्ने निकाय, अड्डा अदालत वा नेपाल सरकारबाट कुनै पनि अनुसन्धान वा कारबाही गर्नु पर्ने अवस्था सृजना भई सम्पत्ति रोक्का गर्नु पर्ने अवस्था आएमा धितोपत्र दलाल व्यवसायीले दिएको मार्जिन कर्जाको दायित्व असुल उपर गर्न आवश्यक धितोपत्र वा रकम एकिन गरी छुट्टाई बाँकी रहेको रकम मात्र रोक्का गर्ने व्यवस्थाका लागी धितोपत्र बोर्डले सीडीएस एण्ड क्लियरीङ्ग लिमिटेडलाई निर्देशन समेत जारी गर्नुपर्ने आवश्यकता रहेको छ। यसका अतिरिक्त हामीले केही बुँदागत रुपमा सुझाव पनि राखेका छौँ।
निर्देशन नम्बर ३ मा मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०८२ को ३ (ग) बुँदामा पछिल्लो ३ वर्षमा २ वर्ष लाभांश वितरण गरेको भन्ने रहेकोमा लाभांशको प्रावधान व्यावहारिक नभएको कारण मुनाफामा गएको भन्ने शब्द राख्न आवश्यक भएको।
निर्देशन नम्बर ३ (घ) बुँदाको सट्टामा “प्रारम्भिक सार्वजनिक निष्कासन मार्फत निष्कासन भई कम्तीमा १८० दिन कारोबार सम्पन्न भएको भन्ने वाक्य राख्न आवश्यक भएको।
निर्देशन नम्बर ४ को बुँदा (ग)को सट्टामा “निक्षेप सदस्यले प्राप्त गरेको वा निक्षेप सदस्य कम्पनी खोली लगानी गरेको”भन्ने शब्द राख्न आवश्यक भएको।
निर्देशन नम्बर ६ को (१) बुँदाको सट्टामा “धितोपत्र दलाल व्यवसायीले सूचिकृत सङ्गठित संस्थाको शेयरको बजार मूल्यको न्यूनतम अनुसूची–१ बमोजिमको प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग प्रारम्भिक मार्जिनको रुपमा लिनु पर्नेछ,” भन्ने कुरा राख्न आवश्यक भएको ।
निर्देशन नम्बर ६ को (३) बुँदाको सट्टामा “प्रारम्भिक मार्जिनको रुपमा लिइएको शेयर र मार्जिन सुविधा अन्तर्गत खरिद भएको शेयरको मूल्याङ्कनमा मार्क्ड टु मार्केटको आधारमा गर्नुपर्नेछ। तर उक्त शेयरको मूल्यमा भएको वृद्धिको आधारमा थप सुविधा दिन पाइने छैन।”
निर्देशन नम्बर ७ को (१) बुँदाको सट्टामा “शेयरको बजार मूल्यमा हुने परिवर्तनका कारण लगानीकर्ताले मार्जिन कारोबार सुविधा अन्तर्गत खरिद गरेको शेयरमा आवश्यक पर्ने सम्भार मार्जिन कायम गर्नु ग्राहकको कर्तव्य हुनेछ। सो पुरा नगरेमा धितोपत्र दलाल व्यवसायीले लगानीकर्तालाई सोही दिन मार्जिन कल गर्नु पर्नेछ ।”
निर्देशन नम्बर ७ को (२) बुँदाको सट्टामा “उपदफा (१) बमोजिम मार्जिन कल गरेपश्चात् अर्को कारोबार दिनको कारोबार सुरु हुनु अगावै आवश्यक मार्जिन कायम नगरेमा धितोपत्र दलाल व्यवसायीले बजारको अवस्था र जोखिमलाई हेरी मार्जिन कारोबार सुविधा अन्तर्गत खरिद गरेको शेयर विक्री गर्न सक्नेछ ।”
निर्देशन नम्बर ७ को (५) बुँदाको सट्टामा “यस दफामा जुनसुकै कुरा लेखिएको भएतापनि लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले लगानीकर्तासँग उक्त मार्जिन कायम गर्न आवश्यक रकम बराबरको मार्जिन कारोबार योग्य धितोपत्र धितो बन्दकीको रुपमा लिन सक्नेछ। उक्त शेयरको मूल्य गणना गर्दा १८० दिनको भारित औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ७० प्रतिशतले हुन आउने मूल्यलाई मात्र गणना गर्नुपर्नेछ।”
निर्देशन ८ को (१) बुँदाको सट्टामा “धितोपत्र दलाल व्यवसायीले आफ्नै स्रोतबाट, बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर वा आफ्नो शेयरधनी वा सञ्चालकसँग वा हाइ नेटवर्थ भएका व्यक्ति वा संस्थाहरूसँग असुरक्षित ऋण लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्नेछ । तर, धितोपत्र दलाल व्यवसायीले शेयरधनी वा सञ्चालकसँग वा हाइ नेटवर्थ भएका व्यक्ति वा संस्थाहरूसँग असुरक्षित ऋण सापटी लिँदा प्रचलित कम्पनी सम्बन्धी कानुनमा भएको व्यवस्था पालना गर्नु पर्नेछ ।”
निर्देशन ८ को (२) बुँदाको सट्टामा “धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा प्रदान गर्न बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर वा आफ्नो शेयरधनी वा सञ्चालकसँग वा हाइ नेटवर्थ भएका व्यक्ति वा संस्थाहरूसँग असुरक्षित ऋण धितोपत्र दलाल व्यवसायीको नेटवर्थको ५ गुणाभन्दा बढी हुनु हुँदैन। तर धितोपत्र दलाल व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रचलित कानुनको अधीनमा रहेर आवश्यकता अनुसार लिएको अन्य ऋण यसमा गणना हुने छैन ।”
निर्देशन ८ मा एउटा थप (४) बुँदा थप गर्नु पर्ने “धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाबाट स्रोत व्यवस्थापन गर्न पर्ने भई उक्त प्रयोजनको लागि बैंक वित्तीय संस्थाले धितो जमानत खोजेमा मार्जिन कारोबार सुविधा अन्तर्गत खरिद भएका ग्राहकहरूको मार्जिन कारोबार हितग्रही खाता (मार्जिन ट्रेडिङ खाता) मा मौज्दात रहेको कुल शेयर मध्ये आवश्यक परिमाणमा धितोपत्रहरु रोक्का नरहने गरी बैंक तथा वित्तीय संस्थालाई धितो स्वरूप लेखिदिन सक्नेछन्।”
निर्देशन ९ को (१) को सट्टामा “धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको दश गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने छ । यस सम्बन्धी थप व्यवस्था धितोपत्र बजारले तोके बमोजिम हुनेछ ।”
निर्देशन ९ को (२) सट्टामा “धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढीमा २५% प्रतिशत वा अधिकतम रु १० करोड मध्ये जुन कम हुन्छ त्यो भित्र रहेर मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने छन्।”
निर्देशन १३ को सट्टामा निम्न बमोजिम हुनुपर्ने (१) यस निर्देशनको अधीनमा रही धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार अन्तरगत सम्पन्न गर्ने क्रियाकलापहरूमा एकरूपता हुने गरी र धितोपत्र बजारले मार्जिन कारोबार सुविधा सम्बन्धमा आवश्यक कार्यविधि बनाई लागू गर्नुपर्नेछ।
(२) धितोपत्र दलाल व्यवसायी र धितोपत्र बजारले उपदफा (१) बमोजिम जारी गर्ने कार्यविधिमा देहायका विषयहरू न्यूनतम रुपमा राख्नु पर्नेछ ।
(क) मार्जिन कारोबार सेवा सञ्चालन गर्न चाहने धितोपत्र दलाल व्यवसायीहरूलाई सहमति प्रदान गर्दा आवश्यक पर्ने कागजात सहित सहमति प्रदान गर्ने तथा नवीकरण गर्ने प्रक्रिया सम्बन्धमा,
(ख) मार्जिन कारोबार अन्तरगत कारोबार गर्न मिल्ने वर्गीकृत शेयर र सोको मार्जिन सम्बन्धमा,
(ग) मार्जिन कारोबार सञ्चालन गर्न आवश्यक पर्ने कारोबार प्रणालीमा कायम हुनुपर्ने न्यूनतम फिचर्सका बारेमा,
(घ) मार्जिन कारोबार सञ्चालनका लागि आवश्यक रकमको श्रोत जुटाउनका लागि प्रदान गरिने ब्याजदरको सम्बन्धमा,
(ङ) मार्जिन कारोबार सेवा लिन चाहने लगानीकर्ता पहिचान तथा विश्वसनीयता परीक्षण सम्बन्धी प्रक्रियाका सम्बन्धमा,
(च) मार्जिन कारोबार अन्तरगत रियल टाइम र्माक टु मार्केट तथा दैनिक मार्क टु मार्केट गर्ने प्रक्रियाका सम्बन्धमा,
(छ) सम्भार मार्जिन गणना तथा मार्जिन कल गर्ने विधि सम्बन्धमा,
(ज) मार्जिन कल अनुसार सम्भार मार्जिन प्राप्त गर्ने विधि सम्बन्धमा,
(झ) मार्जिन कल अनुसार सम्भार मार्जिन आंशिक वा पूर्ण रुपमा प्राप्त नभएमा शेयर बिक्री सम्बन्धी व्यवस्था,
(ञ) मार्जिन कारोबार गर्दा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सञ्चालन तथा सुपरिवेक्षण गर्ने सम्बन्धमा,
(च) एकल ग्राहक मार्जिन सुविधा प्राप्त गर्ने तथा सञ्चालन गर्ने अधिकतम सीमा सम्बन्धमा,
(छ) मार्जिन कारोबार सेवा सञ्चालनका लागि आवश्यक कारोबार खाता तथा हितग्राही खाताको व्यवस्था सम्बन्धमा,
(ज) मार्जिन कारोबार सेवा अन्तरगत भएको खरिदबिक्री तथा राफसाफ एवं मार्जिन कारोबार हितग्राही खाताको शेयरलाई बैंक वित्तीय संस्था वा नन बैंकिंग वित्तीय संस्थामा धितो राखी ऋण लिई मार्जिन कारोबार सेवा सञ्चालन गर्ने सम्बन्धमा,
(झ) बैंक वित्तीय संस्था बाहेक शेयरधनी, सञ्चालक तथा हाइ नेटवर्थ लगानीकर्ताहरूबाट ऋण सापटी लिई मार्जिन सेवा सञ्चालन गर्ने सम्बन्धमा,
(ञ) मार्जिन कारोबार सेवा अन्तरगत ग्राहकहरूबाट ब्याज लिन पाउने सीमा निर्धारणका सम्बन्धमा,
ट) मार्जिन कारोबार सेवा सञ्चालन गर्न धितोपत्र दलाल व्यवसायीले ग्राहकहरूसँग माग्न सक्ने आवश्यक कागजात सम्बन्धी विवरणका सम्बन्धमा,
(ठ) धितोपत्र दलाल व्यवसायी र लगानीकर्ता बीच गरिने सम्झौताको ढाँचा,
(ड) मार्जिन कारोबार सुविधा प्रदान गर्दा लगानी विविधीकरण गर्न अपनाइने नीति सम्बन्धमा,
(३) उपरोक्त बाहेक धितोपत्र बजारले मार्जिन कारोबार सेवा अन्तर्गतका सहभागीहरूको आवश्यकता बमोजिम बोर्डको स्वीकृति लिई कार्यविधिमा थपघट तथा संशोधन गर्न सक्नेछ।