पार्टीको आसन्न ११ औं महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध वरिष्ठ नेता ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरेका बेला उनले ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने कुरालाई मान्न नहुने कुनै कारण नरहेको प्रतिक्रिया दिए ।
प्रेस चौतारी नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले पार्टीको आसन्न ११ औ महाधिवेशनमा सहमतिका साथ टुंगिने दाबी समेत गरे । अध्यक्ष ओलीको नेतृत्वको वरिपरी गोलबन्द भएर पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ भन्ने कुरालाई नमान्नुपर्ने कुनै कारण आफूले नदेखेको उनको जिकिर थियो । उपाध्यक्ष पौडेलले पाँचौँ राष्ट्रिय महाधिवेशनमा मदन भण्डारी विरुद्ध दिइएको उम्मेदवारी अन्तिम समयमा आएर फिर्ता भएको जस्तै आसन्न महाधिवेशनमा पनि सोही बाटोबाट एमालेले नेतृत्व चयन गर्ने विश्वास समेत व्यक्त गरे । उनले पार्टी, आन्दोलन र मुलुकको नेतृत्व गरिरहेकाले ओलीनै पार्टीको नेतृत्वमा उपयुक्त हुने तर्क पनि गरे ।
उपाध्यक्ष पौडेलले भने, ‘यो ध्रुव २९ गतेसम्म रहँदैन । त्यो भन्दा अगाडि नै सकिन्छ । म अहिले पनि के देख्छु भने नेकपा एमालेको ११ औ महाधिवेशन सहमतिका साथ, एकताका साथ सम्पन्न हुने सम्भावना देख्छु मैले । म तपाईहरुलाई बताउँछु–पाँचौ राष्ट्रिय महाधिवेशन हामीले एकेडेमीमा गरेका थियौं । महाधिवेशनमा नोमिनेशन भयो । त्यहाँ मदन भण्डारीको जब्बरजस्त प्रभाव थियो। उनले प्रभाव दिन भनेर गरेको पनि होइन । उहाँका विचार, उहाँका व्यवहार, उहाँका प्रस्तुति त्यसको प्रभाव थियो । नोमिनेशन सकियो, एकथरी साथीहरुले नोमिनेशन नै गरेनन । उनीहरुलाई के लाग्यो भने चुनावमा गयो भने हारिन्छ । हार्ने चुनाव किन लडने ? नोमिनेशन नै नगर्ने । बडो आफूलाई मूर्धन्य भनिठानेका नेताहरुले नोमिनेशन नै गरेनन । पछि यस्तो परिस्थिति बन्यो कि जसजसको नोमिनेशन भयो, त्यो पनि फिर्ता भनेर सबैको उम्मेदवारी फिर्ता भयो । त्यसपछि फेरि छलफल भयो । रस्साकस्सी भयो । पार्टी फुट्यो भन्दै थिए मान्छेहरु । पार्टी फुट्ने होइन, हामी सहमतीका साथ महाधिवेशन सकेर भव्य विजय उत्सव मनायौ हामीले । त्यसपछिका एमालेका यात्राहरुको बारेमा म मैले धेरै केही भनिरहनु परेन ।

त्यसकारणले फुटयो, फुटयो अव डिलडिलमा पुग्यो, टुक्रा, टुक्रा भयो भनेको अवस्थाबाट पनि पार्टीलाई सम्हालेर लिएर हिँडेको हाम्रो अनुभव छ । मिल्दैनन भनेको बेलामा पनि मिलेको अनुभव छ । मलाई के लाग्दैन भने अहिले चाँही अनेक प्रकारको हण्डर, ठक्कर आरोहअवरोहको सामना गर्दै पार्टीलाई, आन्दोलनलाई, मुलुकलाई नेतृत्व गर्दै आउनु भएका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वरिपरी गोलबन्द भएर पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ भनेर भन्दाखेरी नमान्नुपर्ने पनि म कुनै त्यस्तो देख्दिन । यो सम्भव छैन भन्ने पनि मलाई लाग्दैन । अब ध्रुवको समाचार लेख्ने दिन चाहीँ २९ गतेसम्म हो कि । तर प्रतिष्पर्धा गर्ने हो भने पनि वैधानिक व्यवस्था छ, हुन्छ ।’