उनले आगामी २१ फागुनपछि कस्तो सरकार बन्छ ? प्रश्न र चासो आम नागरिकमा रहेको उल्लेख गर्दै नयाँ विकल्पको रूपमा उज्यालो नेपाल पार्टीको स्थापना भएको बताए। उनले परिवर्तनको नेतृत्व नयाँ पुस्ताका सक्षम व्यक्ति, संस्था र संगठित जनसमूदायले गर्न आवश्यक रहेको पनि बताए । उनले आम नागरिकको इच्छा र आकांक्षाका आधारमा वैकल्पिक शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। घिसिङले वैकल्पिक राजनीतिक शक्ति एक ठाउँमा नआएसम्म परिणाममुखी परिवर्तन सम्भव नहुने जिकिर गरे । बिग्रिएको बेला गाली गर्ने तर अवसर आउँदा पछि हट्ने प्रवृत्तिले मुलुकको विकास सम्भव नरहेको उनको भनाइ छ ।
उनले भने, ‘२१ फागुनपछि कस्तो सरकार आउँछ भन्ने धेरै नागरिकको चासो छ । त्यही कारण उज्यालो पार्टी जन्मेको हो । अब परिवर्तनको नेतृत्व नयाँ विकल्प दिनसक्ने व्यक्तित्वहरु, संस्थाहरु र पार्टीहरुले गर्नुपर्छ । यसको लागि आम जनसमूदायको इच्छा, आकंक्षाका आधारमा आपसमा एकताबद्ध भएर लाग्नुपर्छ भन्ने मेरो बुझाई छ । अब सबै नयाँ र वैकल्पिक साथीहरु एकठाउँमा आएर जस्तोसुकै परिस्थितिमा पनि एक ठाउँमा आएर परिवर्तनलाई परिणाममा बदल्नुर्छ । यो परिणाम दिनको लागि नयाँ र युवाको नेतृत्व आउनुपर्छ । बिग्रिएको बेला सबैले गाली गर्ने तर जुनबेला अवसर आउँछ त्यो बेला भाग्ने हो भने फेरी पनि परिवर्तन आउँदैन । यो परिवर्तनको लागि देशभित्र तथा देशबाहिर रहेका सम्पूर्ण नेपाली जनताले योगदान गर्नुपर्छ । एकदुई जनाको योगदानले हुदैन सबैले एकमत भएर लाग्नुपर्छ । मुलुकको विकास र समृद्धिका लागि सबै एकजुट भएर लागौँ भन्ने मेरो आह्वान हो । अहिले एकताका लागि केही साथिहरु लागिरहनुभएको छ । अब नेपाल समृद्ध हुन धेरै समय लाग्दैन । नेपालको समृद्धिको आधार भनेको सुशासन हो । भ्रष्टाचारमुक्त देश बन्नु नै नेपालको समृद्धिको प्रमुख आधार हो । जेनजीले उठाएका मागहरुको सम्बोधन गर्न सबैभन्दा पहिले भ्रष्टाचारमुक्त मुलुक बनाउनुपर्छ । भ्रष्टाचारमुक्त देश बनाउन सक्यौं भने मात्र हामी समृद्धितर्फ अगाडि बढ्छौं । अब राजनीतिमा पनि सही व्यक्तिहरु आउनुपर्यो । बाहिर बसेर गालि गरिरहने तर राजनीतिमा आउन नचाहाने प्रवृत्तिले देश परिवर्तन हुँदैन ।’
राजनीतिमा सही, सक्षम र इमान्दार व्यक्तिहरू प्रवेश गर्नुपर्नेमा उनको जोड थियो । मन्त्री घिसिङले प्रमुख अतिथिको रुपमा पार्टी घोषणा सभाको सम्बोधन गरे ।