रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी दबाबलाई बेवास्ता गर्दै व्यापार सम्झौता हुने

Dec 03, 2025 06:16 PM mero lagani



रूसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणको लागि बिहीबार साँझ भारत आउँदैछन् । करिव ३० घण्टा भारतमा रहँदा उनले भारतीय नेताहरुसँग भेटघाट गर्नुको साथै भारतसँग विभिन्न सम्झौताहरु गर्नेछन् ।

युक्रेन युद्धको कारण अमेरिका र युरोपेली देशहरुबाट चर्काे आलोचना खेपिरहेका पुटिनको भारत भ्रमणलाई विश्वव्यापीरुपमा चासोका साथ हेरिएको छ । उता, पुटिनको भ्रमण शुरु हुनु केही घण्टा अगाडि भारतमा रहेका जर्मनी र फ्रान्सका राजदूतहरु तथा बेलायतका उच्चायुक्तले कडा टिप्पणीसहित संयुक्त लेख लेखेपछि त्यसले कुटनीतिक क्षेत्रलाई थप तताईरहेको छ ।

पुटिन ४ वर्षपछि पहिलो पटक भारत भ्रमणमा आउन लागेका हुन् । यसअघि सन् २०२१ मा भारत भ्रमणमा आएका उनले आफ्नो भ्रमणको दौरानमा भारतीय राष्ट्रपति द्रौपति मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतका उच्च पदस्त अधिकारीहरुसँग भेट गर्नेछन् ।

अमेरिकाले भारतलाई रुससँगको कारोबार बन्द गर्न दबाब दिइरहेको बेला हुन लागेको पुटिनको भ्रमणकाे क्रममा ठूलो मात्रामा सैन्य,उर्जा, कृषिलगायतका आर्थिक क्षेत्रसँग थुप्रै सम्झौताहरुमा हस्ताक्षर हुने भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतले रुसबाट ठूलो मात्रामा हात हतियार, पेट्रोलियम पदार्थ र कृषि उपजहरु खरिद गर्ने र रुसले भारतबाट पनि विभिन्न बस्तुहरु खरिद गर्ने, भारतीय जनशक्तिलाई रुसमा रोजगारी दिनेलगायतका विषयहरुमा सम्झौता हुने बताइएको छ ।

पुटिनको भ्रमणको लागि नयाँ दिल्लीमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । बाहिरबाट नयाँ दिल्ली प्रवेश गर्ने हरेक रुटहरुमा चेक जाँचलाई कडा पारिएको छ ।

उता,पुटिनको भ्रमण शुरु हुनु केही घण्टा अगाडि भारतमा रहेका जर्मनीका राजदूत फिलिप एकरम्यान, फ्रान्सका राजदूत थिरी मथाउ र बेलायतका उच्चायुक्त लिंडी क्यामरुनले टाइम्स अफ इण्डियामा लेखेको एउटा संयुक्त लेखले भारतको राजनीति र कुटनीतिक क्षेत्रलाई थप तताएको छ ।उनीहरुले लेखमा भारतलाई रुससँग सम्झौता गर्नु अगाडि रुसले युक्रेनमा गरिरहेको अत्याचारलाई स्मरण गर्न आव्हान गरेका छन् ।

 

उनीहरुले भारतले रुसी राष्ट्रपति पुटिनसँग रुस विश्व शान्तिको लागि चुनौति बनिरहेको कुरा स्मरण गराउन आग्रह गर्दै भारतले आफ्नो क्षणिक स्वार्थको लागि रुससँग झुके त्यो दुर्भाग्यपूर्ण हुने भन्दै चेतावनी दिएका छन् ।

उनीहरुको लेख प्रकाशित भएपछि त्यसले भारतको स्वतन्त्रतामा हनन गरेको र लेख लेखेका कुटनीतिज्ञहरुले भारतको सम्प्रभुतामाथि आक्रमण गरेको भन्दै तीब्र आक्रोस व्यक्त भइरहेको छ । वरिष्ठ अधिवक्तासमेत रहेका सांसद कपिल सिब्बलले कुटनीतिज्ञहरुले कुटनीतिक मूल्य मान्यतालाई विर्सेर भारतको विरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै उनीहरुमाथि कारवाही गर्न माग गरेका छन् ।

भारतीय कुटनीतिक क्षेत्रका कैंयौं जानकारहरुले त ती तीनजना कुटनीतिज्ञहरुमाथि मात्र नभएर उक्त लेख प्रकाशित गर्ने पत्रिका टाइम्स अफ इण्डियाका प्रकाशक र सम्पादकलाई समेत कारवाही गर्नु पर्ने आवाज उठाइरहेका छन् । तर सरकारको तर्फबाट भने त्यसबारेमा कुनै टिप्पणी गरिएको छैन ।

पुटिनको भ्रमणको बेला त्यो मुद्दालाई चर्किए त्यसले थप विवाद सृजना गर्न सक्छ भन्ने महसुस गरेर सरकार मौन बसेको हुन सक्ने आशंका गरिएको छ । पुटिन फर्किए पछि ती राजदूतहरुलाई भारत सरकारको तर्फबाट चेतावनी दिन सक्ने सम्भावना रहेको बताइएको छ ।




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।