सरकार उल्टो बाटो हिँड्दैछ, राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँः दुर्गा प्रसाईं

Dec 04, 2025 11:23 AM merolagani



नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गरेका छन् । आफूले अन्तरिम सरकारसँग विभिन्न बुँदामा मागहरु राखेको उल्लेख गर्दै वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गरेका हुन् ।

उनले लडाईं नचाहने हो भने जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताए। नेपाल जोगाइराख्ने बाटो बनाउनु सबैको दायित्व भएको बताउँदै गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि यसबारे कुरा भएको र गृहमन्त्री आफूहरुका मागप्रति सकारात्मक रहेको बताए । आफूहरुका माग नेपाल टुक्राउने खालका नरहेको भन्दै माग पूरा हुनेमा ६० प्रतिशत विश्वस्त रहेको बताए । यदी सरकारले आफूहरुका माग पूरा नगरे आन्दोलन नै अन्तिम विकल्प हुने चेतावनी दिए । अन्तरिम सरकारले भ्रष्टाचारीलाई पनि कारबाही गर्न नसकेको र जेनजीलाई टेकेर बनेको सरकारले जेनजीहरुलाई नै थुनिरहेको उल्लेख गर्दै सरकार उल्टो बाटोमा रहेको बताए । जेनजी विद्रोहीलाई थुन्न नहुने उनको भनाइ छ ।

उनले भने, ‘हामीले किराँत बौद्धसहितको वैदिक सत्य सनातन हिन्दु धर्म, राजसंस्था र प्रदेश एवं प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जाऔँ भनेका छाैं। ल तपाईंहरु लडाईं चाहनु हुँदैन भने जनमत संग्रहमा जाऔँ । हामीले नेपाल जोगाइराख्ने बाटो बनाइदिउँ । मेरा माग नेपाल बेच्ने माग छैनन्, नेपालीहरुको माग छ । नेपाल टुक्राउँ भन्ने माग छैन । गृहमन्त्री पोजेटिभ हुनुहुन्छ । म सरकारले माग पूरा गर्नेमा ६० प्रतिशत विश्वस्त छु । माग पूरा नभए आन्दोलन छँदैछ नि । चित्त नबुझ्नेले आन्दोलन गर्ने हो । यि माग पूरा भएनन् र चित्त बुझेन भने त आन्दोलन गर्छौं । उहाँहरुले भ्रष्टाचारीलाई पनि कारबाही गर्न सक्नुभएन । जुन जेनजीलाई टेकेर सरकारमा जानुभयो आखिर त्यही जेन जीलाई थुनेको छ । उहाँहरु उल्टो बाटोमा हिँड्नुभएको छ । जेनजी विद्रोहीलाई थुन्नुभएन ।’

उनले २३ र २४ गतेको आन्दोलन गर्नेहरुलाई थुन्नु नहुने उनको भनाइ छ । राष्ट्र जोगाउने भए सबैले आफूलाई साथ दिन पनि आह्वान गरे ।