घोषित मितिमा निर्वाचन गराई युवाशक्तिको हातमा सत्ता सुम्पिन तयार छौँः प्रधानमन्त्री कार्की

Dec 04, 2025 03:18 PM Merolagani



प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गराई युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तिब्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने सरकार प्रमुख दायित्व भएको बताएकी छन् । ज्यापु संस्कृति विकास कोषको आयोजनामा आज काठमाडौंमा सम्पन्न २२ औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्णरुपमा तयारीमा जुटेको पनि बताइन् । उनले जेनजी आन्दोलनले उठाएका मागहरु सम्बोधन गर्न सरकार गम्भीर रहेको पनि बताइन् । जेनजी आन्दोलनले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र गास, बास, कपासको ग्यारेन्टी माग गरेको उल्लेख गर्दै उनले ती मागहरु पूरा सबै कटिवद्ध हुनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘भदौ २३ र २४ को जेनजी आन्दोलनसँगै घटेका घट्नाहरुबाट हामीले एउटा पाठ सिक्नपरेको छ । मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना, आम जनतालाई रोजगारी, गास, बास, कपासको सुनिश्चितताको माग गरेको छ । ती मागहरुलाई पूरा गर्न सबैले कटिवद्ध भएर आ–आफ्नो ठाउँबाट लाग्न आवश्यक छ । यसका अतिरिक्त सरकारले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तिब्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने हाम्रो दायित्व हो । तसर्थ घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको छ । यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोगको अपेक्षा समेत गर्दछु ।’

उनले संस्कृतिको संरक्षणसँगै पर्यटनसँग जोड्नुपर्ने पनि बताइन् । उनले उपत्यकाका नेवार समुदायलाई योमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा शुभकामना समेत व्यक्त गरिन् ।