सुदूरपश्चिमले चितवनलाई हराउंदा बिराटनगर प्लेअफमा, चितवन प्लेअफमा पुग्न कठिन

Dec 04, 2025 08:22 PM mero lagani



सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपियल) मा विहिबारको दोस्रो खेलमा लिग चरणमा सुदूर पश्चिम रोयल्सले चितवन राइनोजलाई हराउंदा त्यसको वास्तविक फाइदा भने विराटनगर किंग्सलाई भएको छ । 

आजको खेलमा चितवन पराजित भएसंगै विराटनगर लिग चरणको एक खेल अगाडि नै प्लेअफमा पुगेको छ । सुदूर पश्चिम भने लिग चरणका ६ वटै खेलमा अपराजित रहंदै १२ अंकका साथ शिर्ष स्थानमा कायम छ ।

आजको खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको छ । आज पराजय भएसंगै चितवनको भने प्लेअफमा पुग्ने सम्भावना थप कमजोर बनेको छ । ६ खेलबाट ४ अंक रहेको चितवन छैटौं स्थानमा छ ।

आजको खेलमा सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा सबै विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाए भने देव खनालले २८, ओपनर अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन बनाए ।

सुदूरपश्चिमका लागि पुनित मेहराले २.१ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले १,१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिविवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको थियो ।

सुदूर पश्चिमको लागि क्रिस लिनले सर्वाधिक ७५ रन बनाए । आरिफ शेखले र कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित रहँदै समान २४ रन बनाए । विनोद भण्डारीले २१ र पुनित मेहराले १३ रन जोडे ।

बलिङमा चितवनका सैफ जैबले २ तथा रन्जित कुमार र जर्ज स्मृक्शले १,१ विकेट लिए ।