आर्थिक वर्ष ०७९/०८० मा १० हजार ६ सय ७५, आ.व.०८०/०८१ मा ८ हजार ८ सय ८१ र आ.व. ०८१/०८२ मा ७ हजार १ सय ६९ दुर्घटना भएको प्रहरीले जनाएको छ । कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडक दुर्घटनाको संख्या वर्षेनी घट्दै गएपनि मृत्युदर बढिरहेको बताए । सडक दुर्घटनाका कारण मृत्युदर ७.३४ प्रतिशत बढेको जानकारी दिए । सबैभन्दा धेरै दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको उनले बताए।
तिब्र गति, लापरवाही, मादक पदार्थ सेवन गर्ने, नियमको पालना नगर्ने, क्षमता भन्दा बढी यात्रुहरु राख्ने, आफ्नो गाडीको नियमित रुपमा मर्मतसम्भार नगर्ने कारणले पनि धेरै दुर्घटना भएका छन् । महिनामा माघ र फागुन र बारमा शुक्रवार र बुधवार बढी दुर्घटना हुने गरेको प्रहरीको तथ्यांक छ । बढी दुर्घटना हुनेमा दुई पाङ्ग्रे सवारीसाधन रहेको बताए।
उनले भने, ‘आर्थिक वर्ष ०७९/०८० मा १० हजार ६ सय ७५ दुर्घटना भएको छ । आ.व.०८०/०८१ मा ८ हजार ८ सय ८१ र आ.व. ०८१/०८२ मा ७ हजार १ सय ६९ दुर्घटना भएको छ तर दुर्घटनाको संख्या घट्दो क्रममा छ । मृत्युदर ७.३४ प्रतिशत बढ्नु भनेको दुःखको कुरा हो । यसमा हामी सजग हुनुपर्छ । संवेदनशील हुनुपर्छ । यस आर्थिक वर्षको दुर्घटनाको विवरण हेर्दा पनि २ हजार ८८ वटा दुर्घटना भएको छ । जसमा ६९ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको छ । तिब्र गति, लापरवाही, मादक पदार्थ सेवन गर्ने, नियमको पालना नगर्ने, क्षमता भन्दा बढी यात्रुहरु राख्ने, आफ्नो गाडीको नियमित रुपमा मर्मतसम्भार नगर्ने, त्यस्तै जथाभावी तरिकाले प्रयोग गर्ने देखिएको छ । यान्त्रिक गढबढीका कारण पनि दुर्घटना भएको छ । पुराना सवारी साधन व्यवस्थापन गर्न नसक्दा पनि दुर्घटना भएको छ । शुक्रवार र बुधवार बढी दुर्घटना भएको छ । माघ र फागुनमा बढी दुर्घटना भएको छ । दुर्घटना दुई पाङ्ग्रे सवारीसाधन बढी छन् ।’
उनले रात्रीकालीन समयमा दुर्घटना बढेकाले काठमाडौं उपत्यकासमित विभिन्न स्थानमा तिब्र गति न्युनिकरणमा लागेको बताए । जेनजी आन्दोलनका कारण प्रहरी कार्यालयहरु जलेर नष्ट हुँदा समस्या व्यहोरिरहनुपरेको बताए ।