च्याट जिपिटीमाथि आत्महत्या दुरुत्साहन र हत्या गर्न उत्प्रेरित गरिरहेको आरोपमा मुद्दा दायर, विश्वकै एआई उद्योगहरुको भविश्यमाथि गम्भिर प्रश्न

Dec 12, 2025 03:32 PM mero lagani



च्याट जिपिटीलगायतका कृत्रिम वौद्धिकता (एआई) ले मानिसहरुलाई आत्महत्या र अन्य व्यक्तिहरुको हत्या गर्न प्रेरित गरिरहेको आरोपमा मुद्दा दायर भएको छ । अमेरिकाको क्यालिफोर्निया राज्य अदालतमा बिहीवार मुद्दा दायर गरिएको छ । 

उक्त मुद्दामा च्याटजीपीटीले ५६ वर्षीय स्टेन एरिक सोलबर्गलाई विभिन्न किसिमको भ्रममा पार्दै उत्तेजनात्मक अवस्थामा पुर्याएर ८३ वर्षीया आमा सुजेन एडम्सको हत्या गर्न प्रेरित गरेको दावी गरिएको छ । सोलबर्गले अमेरिकाको कनेक्टिकटमा बस्ने उनकी आमा सुजेनको हत्या अगस्टमा गरेका थिए ।

 

अभियोजनकर्ताले च्याटजीपीटीले स्टेन एरिकलाई हरेक दिन पटकमा घण्टौंसम्म व्यस्त राखेको र उनलाई आफ्नै आमाको विरुद्धसमेत उक्साएको र त्यही उक्साहटमा परेर उनले पहिले आमालाई धम्काएको तथा त्यसको केही दिनपछि हत्या गरेको दावी गरिएको छ । साथै यस्तो समस्या केवल स्टेन एरिकमा मात्र नभएर विश्वव्यापीरुपमै भैरहेको भन्दै च्याट जिपीटीलाई हदैसम्मको कारवाही गर्न माग गरिएको छ । दायर गरिएको मुद्दामा च्याट जिपीटीले धेरै मानिसहरुलाई आत्महत्या गर्न प्रेरित गरिरहेकोले त्यसलाई नियन्त्रण नगरिए विश्वव्यापीरुपमा भयावह अवस्था सृजना हुने चेतावनी दिइएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

त्यसो त च्याट जिपिटी विरुद्ध मानिसहरूलाई आत्महत्याको लागि प्रेरित गरेको आरोपमा यस अगाडि नै सातवटा मुद्दाहरु दर्ता भैसकेका छन् । तर, च्याट जिपिटीलाई अर्काे कुनै व्यक्तिको हत्या गर्न प्रेरित गरेको आरोपमा मुद्दा परेको भने विश्वमै यो नै पहिलो घटना हो ।

यो मुद्दाकाे फैसला कस्तो आउला, त्यो आफ्नो ठाउँमा छ । तर, यो मुद्दा जस्ले जसरी दायर गरेका छन्, त्यसले विश्वभरमै चर्चा पाइरहेको छ । मुद्दा अधिवक्ता जे एडेलसनले दर्ता गरेका हुन्, जो सामाजिक न्यायका मुद्दाहरु प्रभावकारीरुपमा उठाउने र खासगरि सामाजिक संजालले पारेका दुस्प्रभावको विरुद्ध ठूला मुद्दाहरू लड्ने वकिलकोरुपमा चर्चित छन् । उनले दायर गरेका मुद्दाहरुमा केवल फैसला मात्र हुँदैन, दुरगामी असर पार्ने नजीरहरु पनि स्थापित हुन्छन् । यदी यो मुद्दामा पनि उनले माग गरे झैं च्याट जिपीटीले हत्या र आत्महत्या बढाउने कारक बनिरहेको छ भन्ने अदालतले फैसला गरेमा त्यसले विश्वकै एआई उद्योग, च्याट जिपीटी र त्यसको निर्माता तथा संचालक माइक्रोसफट् कम्पनीलगायत अमेरिकाको आइटी उद्योगलाई नै गम्भिर असर पार्ने आशंका गरिएको छ ।

बिहीवार आफू विरुद्ध मुद्दा दायर भएपछि च्याट जिपीटीले यो अविश्वसनीय हृदयविदारक स्थिति भएको भन्दै तथ्य के हो भन्ने बुझ्ने प्रयास भैरहेको बताएका छन् ।