एमाले महाधिवेशनः दुई अर्थमन्त्रीमा टिकेका दुई गुट र हराएका एक अर्थमन्त्रीको खोजी

Dec 14, 2025 03:21 PM mero lagani



विघटित प्रतिनिधि सभाको दोस्रो ठूलो दल नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडाैंमा जारी रहेको छ । 

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीचको भिडन्त जति रोचक मानिएको छ, त्यसको पछाडिका निर्णायक पात्रको रुपमा रहेका दुई अर्थमन्त्रीको भिडन्तले यो महाधिवेशनलाई थप रोचक बनाएको छ ।

विष्णु पौडेल र सुरेन्द्र पाण्डे नेपालमा तुलनात्मकरुपमा सफल अर्थमन्त्रीहरु मानिन्छन् । त्यतिमात्र होइन, उनीहरु एमाले पार्टी पङित र बाहिर पनि उत्तिकै प्रभावशाली मानिन्छन् । आकर्षक भाषण गर्न नजान्ने तर तथ्य तथ्यांङसहितको बहस र छलफलमा आफूलाई अब्बल प्रस्तुत गर्नु दुबै पूर्वअर्थमन्त्रीहरुको विशेषता हो । उनीहरु दुई मध्ये सैद्धान्तिकरुपमा पाण्डे अगाडि मानिन्छन् भने कार्यकर्ता परिचालनमा पौडेल अगाडि मानिन्छन् ।

 

चार पटक गरि झण्डै साढे २ वर्ष अर्थमन्त्री भएका पौडेल र एक पटक करिब २० महिना अर्थमन्त्री भएका पाण्डे दुवै जना पूर्वअर्थमन्त्रीहरु आफ्नो कार्यकालमा शेयर बजार मात्र होइन, समग्र देशको अर्थतन्त्रमा केही आशा जगाउन सफल भएको ‘ट्रयाक रेकर्ड’ छ । अर्थात उनीहरु दुवै जना एमाले नेता कार्यकर्ता मात्र होइन, देशले नै ‘पत्याएका’ अर्थमन्त्री हुन् ।

पंचायतकालदेखि नै मदन भण्डारीका प्रिय पात्र हुँदै पार्टी राजनीतिमा प्रभाव जमाएका दुवै नेताहरु पछिल्लो केही वर्ष यता अलग अलग गुटमा लागेका छन् । पौडेल सदाबहाररुपमा ओली गुटका हर्ताकर्ता मध्ये एक हुन् भने पाण्डे सदाबहाररुपमा ओली विरोधी । चितवनमा भएको १० औं महाधिवेशनमा दुवै जना उपाध्यक्षमा निर्वाचित भएका थिए ।

 

अहिले चलिरहेको ११ औं महाधिवेशनमा उनीहरु दुवै जना कुन पदमा उम्मेद्वार होलान् ? यी पङित लेख्दासम्म स्पष्ट भइसकेको छैन । तर, एमाले नेता कार्यकर्ताहरु मात्र होइन, एमालेको राजनीतिमा चासो राख्ने इतर राजनीतिक खेमाका मानिसहरु पनि पाण्डे र पौडेल दुवै एमालेको नेतृत्वमा आउनु पर्ने चाहाना राख्छन् । के त्यो सम्भवः होला ? त्यो भने एक दुई दिनमै स्पष्ट हुनेछ ।

उता, एमालेमात्र होइन, देशमै सबैभन्दा धेरै लाभको पदमा पुग्ने व्यक्तिको ‘रेकर्ड’ बनाएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको बारेमा धेरै एमाले नेता कार्यकर्ताहरुले चासो राखेका छन् । तर, खतिवडा भने महाधिवेशन स्थलमा मात्र होइन, एमालेका कार्यक्रमहरुमा पनि विरलै देखिने पात्रको रुपमा चर्चित छन् । ‘माधव नेपाल प्रधानमन्त्री हुँदासम्म उनको वरिपरि मात्रै र ओली प्रधानमन्त्री भएपछि ओलीको वरिपरि मात्रै रहने उहाँको स्वभावले गर्दा धेरै नेता कार्यकर्ताहरुले उहाँलाई बोकेर पार्टीले के पायो भन्ने बारेमा प्रश्न गरिरहेको अवस्था छ’ ओली निकट एमालेका एक नेता भन्छन् । उनका अनुसार पार्टीका कार्यक्रमहरुमा खतिवडाको खोजी हुन्छ तर उनलाई कहिल्यै भेट्न सकिदैन । भेट्नै पर्यो भने वक्ता बनाएर बोलाउनु पर्छ, अन्यथा केन्द्रिय कमिटीकै पदाधिकारीले पनि भेट्न सक्दैनन् ।