साताभर नै राम्रो प्रदर्शनको कारण शेयर कारोबार मापक सूचकले बढेर सेन्चुरी नै मार्यो। २५६०.२९ अंकमा रहेको सूचक २६७६.०३ अंकमा बन्द भएको थियो। जुन ११५.७४ अंकको वृद्धि थियो भने प्रतिशतको आधारमा ४.५२ प्रतिशत थियो।
तर त्यस पछि भने बजार थप माथि जान सकेन। गएको १० कारोबार दिन देखि सूचक लगातार घट्दो क्रममा देखिएको छ। साताको पहिलो कारोबार दिन आइतबार सूचक थप दोहोरो अंकले घट्यो। आइतबार सूचक १२.५० अंकले घटेर २५९४.८७ अंकमा ओर्लियो। जुन पछिल्लो समयको माथिल्लो बिन्दुबाट ८१.१६ अंको गिरावट हो।

यस अघि कात्तिकमा पनि शेयर बजारले गति लिन सकेको थिएन। शेयर बजारका लागि सबै विषय सकारात्मक हुँदा हुँदै पनि बजार माथि जान नसक्नुको प्रमुख कारण भनेको नै फागुनको लागि घोषित निर्वाचन हुन्छ कि हुँदैन भन्ने संशय नै थियो।
निर्वाचनको लागि दल दर्ता हुनु पर्ने अन्तिम समयसम्म पनि मुलुकका प्रमुख दलले निर्वाचन आयोगमा दल दर्ता गरेका थिएनन्। सोही कारण कात्तिक भरि शेयर बजारले गति लिन सकेको थिएन। तर प्रमुख राजनीतिक दल नेपाली काँग्रेसले दल दर्ता गर्ने अघिल्लो दिन देखि शेयर बजारमा हरियो देखियो। काँग्रेसले दल दर्ता गरेपछि शेयर बजार बेस्सरी उफ्रिन पुग्यो । जसले गर्दा शेयर बजारले साता भरमा नै सेन्चुरी मार्यो। तर दल दर्ता हुँदै गर्दा नेकपा एमालेले भने अन्तिम दिन दल दर्ता सँगै प्रतिनिधि सभा पुनर्स्थापनाको रिट पेस सँगसँगै गर्यो। अन्तिम दिन एमालेले बिहानै निर्वाचन आयोग पुगेर दल दर्ता गर्यो भने सोही दिन सर्वोच्च अदालतमा संसद् पुनर्स्थापनाको रिट निवेदन पेस गर्यो। जसले गर्दा सातामै सेन्चुरी मारेको बजार त्यसपछि भने सुस्ताउन थाल्यो। जुन आइतबारसम्म निरन्तर छ।
अर्को तर्फ नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतले आदेश दिएपछि शेयर बजार थप सशङ्कित देखिएको छ।
अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले शाक्यलाई प्राधिकरणबाट हटाएका थिए। घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए। यो निर्णयको विरुद्धमा शाक्य सर्वोच्च अदालत गए। शाक्यको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश द्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दियो। उक्त घटनाले शेयर बजारलाई थप प्रेसर पारेको लगानीकर्ताले बताएका छन्। “अन्तरिम सरकारको निर्णय सर्वोच्चले उल्टाइदियो। अब एमालेले संसद् पुनर्स्थापनाको लागि दर्ता गरेको रिटमा पनि सर्वोच्चले उसकै पक्षमा आदेश दिन्छ कि भन्ने संशय बढेर गएको छ। यदि त्यस्तो भयो भने निर्वाचन के हुन्छ ? यही डर शेयर बजारका लगानीकर्तामा देखिएका कारण शेयर बजार घट्न थालेको हो,” लगानीकर्ता सन्तोष भट्टराईले मेरो लगानीसँग भने।
एकातर्फ निर्वाचनको संशय लगानीकर्तामा देखिएको छ भने अर्को तर्फ दोस्रो त्रैमासको अन्तिम महिना सुरु हुने क्रममा रहेको छ। पुस लागे सँगै ब्याजको जोहो गर्नु पर्ने बाध्यता लगानीकर्तामा हुने गर्छ। शेयर बिक्री गरेर नै ब्याज तिर्ने मानिस कम हुने भएपनि त्रैमासको अन्तिम महिनामा शेयर बजारमा प्रेसर पर्छ भन्ने मनोवैज्ञानिक प्रेसर लगानीकर्तामा हुने गर्छ। जसले खरिद गर्नको पैसा हुनेले समेत अन्तिम महिनामा भने थप शेयर बजार घट्ने अपेक्षा राख्दै खरिद आदेश कम राख्ने गर्छन्। बिक्री आदेश भन्दा बढी खरिद आदेश भए सँगै शेयर बजारमा अटोमेटिकल्ली दबाब पर्ने गर्छ। जसले शेयर बजारलाई घटाउँदै लैजान्छ।
शेयर बजार लगानीकर्ताको मनोविज्ञानमा बढी चल्ने भएकोले गर्दा पनि लगानीकर्ताको मनोविज्ञान कमजोर हुने बित्तिकै शेयर बजारमा प्रेसर पर्न थाल्छ। तर अहिले लगानीकर्ताले मनोविज्ञान कमजोर बनाउने पर्ने भने दरिलो कारण नभएको जानकारहरू बताउँछन्।