लाभांश प्रस्ताव पारित गर्न जीवन विकास लघुवित्तले डाक्यो साधारण सभा

Dec 23, 2025 09:16 AM Merolagani



जीवन विकास लघुवित्त वित्तीय संस्था (JBLB@) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

लघुवित्तले पुस २९ गते, मंगलबार, लघुवित्तको केन्द्रिय कार्यालय, कटहरी २, मोरङ्गमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३६८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।