सवारी लाइसेन्स छपाइमा सुस्तताः डेढ महिनामा ८ हजार लाइसेन्स छापिए, १२ लाखमध्ये बाँकी कहिले ?

Dec 23, 2025 03:00 PM merolagani



सरकारले अघि बढाएको सवारी चालक अनुमतिपत्र(लाइसेन्स) छपाइ कार्यमा सुस्तता देखिएको छ ।

करिब १२ लाख लाइसेन्स छपाइ गर्न सरकारले सुरक्षण मुद्रण केन्द्रलाई जिम्मा दिए पनि लाइसेन्स छपाइ सुस्त बनेको हो ।

केन्द्रले पछिल्लो डेढ महिनाको अवधिमा ७ हजार ९७० वटा लाइसेन्स छपाइ गरेको जनाएको छ । गत २०८२ कात्तिक २१ मा सञ्चार तथा सुचना प्रविधि मन्त्री जगदीश खरेलको उपस्थितिमा केन्द्रबाट लाइसेन्स छपाइ कार्य अघि बढेको थियो ।

केन्द्रबाट धमाधम लाइसेन्स छापेर वर्षौदेखि चिटको भरमा सवारी चलाइरहेका चालकलाई स्मार्ट लाइसेन्स दिने लक्ष्य राखिएको थियो । तर, लाइसेन्स छपाइको ढिलासुस्तीले लाखौं सवारी चालकहरुले स्मार्ट लाइसेन्स पाउने अन्योलता समेत बढेको छ ।

यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्रलाई यसअघि ८ हजार डेटा उपलव्ध गराएको थियो । जुन, अति आवश्यक पर्ने वर्गका लाइसेन्सको डेटाअनुसार छपाइ अघि बढेको हो । खासगरी, अहिले वैदेशिक रोजगारी र अध्ययनका लागि जानेहरूलाई प्राथमिकतामा राखेर लाइसेन्स छपाइ अघि बढाइएको केन्द्रले जनाएको छ ।

केन्द्रका कम्युटर इन्जिनियर विशाल कटुवालले यातयाात व्यवस्थाले उपलव्ध गराएको इमर्जेन्सी ८ हजार डेटाको लाइसेन्स छपाइ सकिएको बताए ।

‘कम्तीमा दुई महिना इमर्जेन्सी भएकाहरुको ८ हजार डेटाको लाइसेन्स छपाइ कार्य करिब सकिइसकेको छ,’ उनले भने, ‘यातायात विभागबाट बाँकी डेटा आएपछि बाँकी लाइसेन्स छपाइ अघि बढ्छ ।’

उनका अनुसार, यातायात व्यवस्था विभागबाट आउनुपर्ने लाइसेन्सको डेटा विवरण सयमै नआउँदा समेत क्षमताअनुसार लाइसेन्स छपाइ हुन नसकेको हो ।

छपाई क्षमता पर्याप्त, ढिलाइ किन ?

केन्द्रका अनुसार, सवारी लाइसेन्स छपाइ गर्ने मेसिनको क्षमता पर्याप्त छ । प्रतिघण्टा कम्तीमा २५०० लाइसेन्स छपाइ गर्न सक्ने क्षमता भए पनि त्यसअनुसारको छपाइकार्य भने हुन नसकेको केन्द्रका इन्जिनियर कटुवाल स्वीकार गर्छन् ।

लाइसेन्स छाप्ने मेसिनको क्षमता हुँदा हुँदै पनि किन ढिलाइ भइरहेको छ भन्ने प्रश्नमा उनले विभागबाट जति डेटा प्राप्त हुन्छ, त्यहीअनुसारको लाइसेन्स छपाइ भइरहेको बताउँछन् ।

लाइसेन्स छपाइमा ढिलाइ हुनुका पछाडि यातायात विभागले समयमै लाइसेन्सको डेटा विवरण उपलव्ध गराउन नसक्नु रहेको देखिन्छ । जेनजी आन्दोलनका क्रममा विभागमा केही डेटा प्रणाली र मेसिनमा आगजनी गरिएको थियो । लाइसेन्सका सबै डेटा रिकभर गरेर विवरण उपलव्ध गराउन विभाग लागि परिरहेको छ ।

केन्द्रले मात्र होइन्, अहिले यातायात व्यवस्था विभागले समेत मेसिन खरिद गरेर लाइसेन्स छपाइ गर्ने प्रक्रिया अघि बढाइरहेको छ । सवारी लाइसेन्स परिक्षा पास गरेर बसेका २५ लाख भन्दा बढी चालकहरुले स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् ।