जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण अघि बढेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड परियोजनाका रुपमा उक्त आयोजना निर्माण हुनेछ ।
डोल्पा र जाजरकोटको सीमा क्षेत्र मुड्केचुला गाउँपालिका डोल्पा र नलगाढ नगरपालिकाको क्षेत्रमा पर्ने उक्त आयोजना निर्माण हुनेछ । सुरुमा आयोजनालाई ८२.३ मेगावाट क्षमतामा निर्माण गर्ने प्रस्ताव गरिएपनि पछि आयोजनाको क्षमता बढाएर १२४.३५ मेगावाट क्षमतामा निर्माण गर्न लागिएको हो ।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न उक्त जलविद्युत् आयोजनाको क्षमता संशोधन गर्न कम्पनीले विद्युत् विकास विभागमा आवेदन पेश गरिसकेको र प्रमाणीकरणको प्रक्रियामा रहेको छ ।

कम्पनीले यो आयोजनालाई पिकिङ रन अफ द रिभर प्रकृतिमा विकास गर्न लागेको हो । कम्पनीका अनुसार, हालसम्म आयोजनाको निर्माण पूर्व गर्नुपर्ने सम्भाव्यता अध्ययन र विस्तृत इन्जिनियरिङ अध्ययनलगायत पूर्वतयारीका काम अन्तिम चरणमा पुगेका छन् ।
एनईए इन्जिनियरिङ कम्पनीले विस्तृत अध्ययन गर्न सन् २०२० डिसेम्बरमा कम्पनीसँग सम्झौता गरेको थियो । एनईएले गत २०२४ सेक्टेम्बरमा सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाइसकेको छ । विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) लगायतका काम सकेर आगामी आर्थिक वर्ष २०८३/०८४ देखि आयोजनालाई निर्माणको चरणमा लैजाने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।
विस्तृत अध्ययन र वित्तीय व्यवस्थापन सँगसँगै
विस्तृत अध्ययनसँगै आयोजना निर्माणका लागि आवश्यक पर्ने वित्तीय व्यवस्थापन तथा लगानी मोडालिटीको काम पनि सँगसँगै अघि बढेको आयोजनाले जनाएको छ । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सञ्जय सापकोटाले आयोजनाको विस्तृत अध्ययन सँगै वित्तीय व्यवस्थापन काम अघि बढेको बताए । प्रारम्भिक रुपमा कुल ३० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना निर्माण गर्न विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी हुनेछ ।
उनका अनुसार, चालू आवभित्र डीपीआर, वातावरणीय अध्ययन, जग्गा प्राप्ति, वित्तीय व्यवस्थापनलगायतका काम सम्पन्न गरेर आगामी २०८३ साउनदेखि आयोजना निर्माण सुरु गर्ने योजना बनाइएको छ ।
कस्तो बन्नेछ आयोजना ?
कुल ४७५.३ मिटर अग्लो ग्रस हेड रहने आयोजनाले वार्षिक रुपमा ७३८.२ गिगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरी नलगाड हब सवस्टेशनमा लगेर जोडिनेछ ।
क्यासकेड आयोजना भए पनि हेडवक्स भने निर्माण हुनेछ । कुल ७ किलोमिटरको सुरुङमार्गमार्फत जगदुल्ला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन भइ निस्कने पानीलाई सिधै डाइभर्सन बनाएर त्रिवेणी भन्ने ठाउँमा पुर्याएर विद्युत उत्पादन गरिनेछ । कुल ४ वर्षभित्र निर्माण सम्पन्न गरेर आयोजनाबाट व्यवसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।