केही लगानीकर्ताले रवि–बालेन मिल्दा करिव आधा सेन्चुरी 'बुर्कुची' मारेकाे शेयर बजारले रवि–बालेन र कुलमान मिलेपछि त कम्तिमा एक सेन्चुरी मार्ने आंकलन गर्न थालेका छन् । तर अर्काथरी लगानीकर्ताले राजनीतिक अन्यौलता अझै कायम रहेकाले तीन नेता रवि–बालेन र कुलमान एक ठाँउमा उभिएपनि बजार धेरै नबढ्ने तर्क गरेका छन् ।

रवि–बालेन सम्झौतापछि गत आइतबार शेयर बजार उच्च अंकले बढेको थियो । आइतबार नेप्से परिसूचक ४७.५५ अंक बढेर २६३३.४२ विन्दुमा पुगेको थियो । गत साताको अन्तिम दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएको बजार सम्झौतापछि पहिलाे पटक गत आइतबार खुलेको शेयर बजार भने उच्च अंक बढेर बन्द भएको थियो ।
गत शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बीच सम्झौता भएको थियो । सम्झौतापछि खुलेको बजार बढेको थियो । लामिछाने र शाह बीच लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति नै रहने र आगामी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा बालेन शाहलाई संसदीय दरको नेताको रुपमा अघि सारिने सम्झौता भएकोले त्यसको सकारात्मक प्रभाव आइतबारको बजारमा परेको थियाे ।
अर्काेतिर, राजनीतिक अन्योल र अस्थिरताका कारण सुस्त रहेको बजार, सरकारले तोकेको समयमा नै निर्वाचन हुने छनक पाएसँगै बढेको थियो ।
यस्तै, अर्को सम्झौता गत सोमबार बेलुका भएको छ । रवि, बालेन र ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ । कुलमान रास्वपाको उपसभापति बन्ने गरी सहमति भएको छ । यो त्रिपक्षीय सहमतिपछि बजार बढ्ने अपेक्षा धेरै लगानीकर्ताले गरेका छन् ।
शेयर बजार बन्द भएपछि भएकाे सम्झौताले गर्दा सोमबारको शेयर बजारमा त्यसको सकारात्मक प्रभाव पार्ने कुरै भएन । मंगलबार गुरुङ समुदायको महान पर्व तमु ल्होसार भएकाले शेयर बजार बन्द हुन पुग्यो । बुधबार खुल्ने बजारमा यो पछिल्लो सम्झौताले सकारात्मक प्रभाव पार्ने आंकलन गरिएको छ ।
फागुन २१ को लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन कार्यक्रम अन्तर्गत सोमबार राजनीतिक पार्टीहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेश गरेका छन् । यसले पनि आगामी फागुन २१ गतेको निर्वाचन हुने निश्चित जस्तै भएको छ । यसले पनि शेयर बजारमा सकारात्मक प्रभाव पार्ने आंकलन लगानीकर्ताले गरेका छन् ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भने, ‘अहिलेको पूँजीबजारले विशेषतः चुनावी माहोल र समयमै चुनाव खोजिरहेको छ । बालेन साह, रवि लामिछाने र कुलमान घिसिङ बीच भएको सहमतिले सकारात्मक माहोल सिर्जना गर्ने छ ।’
अर्का एक लगानीकर्ताले पनि राजनीतिक अन्योल समाप्त हुने दिशातर्फ उन्मुख रहेकाले त्यसको सकारात्मक असर शेयर बजारमा पर्ने बताए । उनले भने, ‘अब नेपालमा राजनीतिक माहोल राम्रो बन्न सक्ने छनक आम लगानीकर्ताहरुले पाइसकेका छन् र मनोबल पनि बढ्न थालेको छ । शेयर बजार बढाउने थुप्रै सकारात्मक नीतिहरु यस अघि नै बनिसकेका छन् । अबका दिनमा राजनीतिक माहोल पनि राम्रै बन्दै जाने हो भने शेयर बजार विस्तारै बढ्दै जाने देखिन्छ ।’