काठमाडौं महानगरपालिका–१२ टेकुस्थित सडकमा ईभी गाडी र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा ३० वर्षीय दिपक बजगाईंको मृत्यु भएको छ ।
र काभ्रे बेथानचोक गाउँपालिका–२ घर भएका बजगाईले चलाएको बा ९१ प ७५६४ नम्बरको मोटरसाइकल बाग्मती प्रदेश ०१–००१ य १७४३ नम्बरको ईभी गाडीसँग ठोक्किएको भएको थियो । गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ईभी चालकलाई नियन्त्रणमा लिएको छ ।
उता, आजै बूढानीलकण्ठ नगरपालिका–७ गल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भएका अवि श्रेष्ठको मृत्यु भएको छ । गल्फुटारबाट चक्रपथ तर्फ आउँदै गरेको श्रेष्ठले चलाएको बा प्र ०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै आज दिउँसो भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् । काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ना ७ ख ९२६६ नम्बरको डिजेल बोकेको ट्यांकरले भक्तपुरतर्फ नै जाँदै गरेको बा २३ प ९२३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक दार्चुलाको नौगाड गाउँपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते भएका छन् । उनीहरु पति पत्नी हुन ।
घाइते करणको कौसलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नमराज ढुंगानाले जानकारी दिए ।
प्रहरीले ट्यांकर चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जका २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको प्रहरी वृत्त थिमिले जनाएको छ ।