प्रहरीले चोरीको अनुसन्धान भइरहेकोले चोरी गरिएको रकम र बहुमूल्य वस्तुहरुको मात्रा अझै बढ्न सक्ने बताएको छ । प्रहरीले चोरले करिब ३,२०० वटा सेफ फोरेर त्यहाँ राखिएको रकम चोरी गरेको बताएको छ । यो घटनालाई जर्मन इतिहासको सबैभन्दा ठूलो बैंक डकैती मानिएको छ ।

क्रिसमस विदाको दिन सोमबार राती भएको यो घटना बैंकका अधिकारी र प्रहरीले मंगलबार विहान मात्र थाहा पाएका थिए । बैंकको सुरक्षा गार्डहरुले त्यति ठूलो चोरीको घटना हुँदा किन थाहा पाएनन् भन्ने बारेमा अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
प्रत्यक्षदर्शीहरूले सोमबार राति नजिकैको पार्किङ ग्यारेजको भर्याङमा ठूलो झोला बोकेका धेरै पुरुषहरू देखेको बताएपछि अहिले प्रहरीले त्यही आधारमा अनुसन्धान गरिरहेको छ । सिसिटिभी फुटेजमा पनि ठूला ठूला झोला बोकेका मानिसहरु बैंकबाट बाहिरिएको देखिएपनि तिनीहरुले मास्कसहित पुरै शरिर ढाक्ने कपडा लगाएकोले पहिचान हुन नसकेको प्रहरीको भनाइ छ ।
घटना सार्वजनिक भए लगत्तै बैंकका ग्राहकहरुले बैंक घेराउ गर्दै आफूहरुले जम्मा गरेको पैसा फिर्ता पाउन माग गरिरहेका छन् । ‘हामीले सुरक्षा खोजी गर्दै बैंकमा पैसा जम्मा गर्यो, बैंकले नै सुरक्षा दिन नसकेर हाम्रो पैसा लुटायो,’ भन्दै आक्रोशित मानिसहरुले नारा लगाइरहेका छन् ।
स्पार्कास बैंकले अहिले सम्म उक्त घटनाप्रति कुनै टिप्पणी गरेको छैन । तर, प्रहरीले भने बचतकर्ताको पैसा जसरी पनि फिर्ता गराउने र ढिलो चाँडो चोरहरुलाई जसरी पनि पक्राउ गर्ने दावी गरेको छ ।