वर्षको सुरुवाती दिनमा उत्पादनमूलक समूहको सूचक ६,६६०.१९ अंकमा रहेकोमा वर्षको अन्तिम दिन १,९१८.४९ अंकले बढेर ८,५७८.६८ अंकमा बन्द भएको छ। समग्रमा उत्पादनमूलक कम्पनीको सूचक २८.८१ प्रतिशतले वृद्धि भयो, जसले यो समूहका लगानीकर्तालाई उत्साहित बनाएको छ। यद्यपि, सूचकमा देखिएको यो उछाल उत्पादनमूलक समूहमा रहेका सबै कम्पनीको शेयर मूल्य बढेका कारण नभई यसै वर्ष थपिएका नयाँ कम्पनीहरूको मूल्यमा आएको उच्च वृद्धिले गर्दा हो। कतिपय पुराना कम्पनीको मूल्य भने यो वर्ष ओरालो लागेको देखिन्छ।

परिसूचक र कारोबार रकमका आधारमा हेर्दा सन् २०२५ लगानीकर्ताका लागि समग्रमा औसत वर्ष साबित भएको छ। यस वर्ष नेप्से परिसूचक २.२२ प्रतिशतले बढेर २,६३३.७६ अंकमा पुग्यो भने कारोबार रकम ७.९१ प्रतिशतले वृद्धि भई कुल १,७२३.२३ अर्ब पुगेको छ। सूचक र कारोबारमा देखिएको यो झिनो बढोत्तरीले लगानीकर्तालाई उल्लेख्य नाफा नभए पनि ठूलो नोक्सानीबाट भने जोगाएको छ। बजारमा सूचीकृत १३ वटा उप सूचकमध्ये आठ वटा समूहमा सुधार देखिँदा पाँच वटा समूह भने ओरालो लागे। उत्पादनमूलक पछि अन्य समूह २१.६१ प्रतिशत र होटेल तथा पर्यटन समूह १०.३४ प्रतिशतले बढ्दा विकास बैंक, लघुवित्त, जीवन बिमा र म्युचुअल फण्डमा सामान्य सुधार देखिएको छ। अर्कोतर्फ, वित्त (फाइनान्स) समूह सर्वाधिक ६.५५ प्रतिशतले घट्दा व्यापार (ट्रेडिङ) समूह १६.१४ प्रतिशत र निर्जीवन बिमा समूह १०.८० प्रतिशतले ओरालो लागे। बैंकिङ र जलविद्युत समूहमा पनि क्रमशः २.२६ र १.०५ प्रतिशतको गिरावट देखियो।

कम्पनीगत आधारमा हेर्दा सन् २०२५ मा सबैभन्दा बढी नाफा राँधी विद्युत् कम्पनीका शेयरधनीले आर्जन गरे। गत वर्ष ३३० रुपैयाँमा रहेको यस कम्पनीको मूल्य वर्षको अन्त्यसम्म आइपुग्दा १२८.४८ प्रतिशतले बढेर ७५४ रुपैयाँ पुग्यो। यस्तै, नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य वर्षभरिमा १२२.२० प्रतिशतले बढ्दा बुटवल पावर कम्पनीको ९३.२० प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चरको ८८.०४ प्रतिशतले वृद्धि भयो। सूचीकृत २० वटा कम्पनीका शेयरधनीले यो वर्ष २५ प्रतिशतदेखि १२८ प्रतिशतसम्म पूँजीगत लाभ हासिल गर्न सफल भए।

तर, केही कम्पनीका लगानीकर्ताका लागि भने सन् २०२५ निकै निराशाजनक रह्यो। सुपर मादी हाइड्रोपावरको मूल्य सर्वाधिक ४९.२१ प्रतिशतले घट्दा पिपुल्स हाइड्रोपावर ४७.७० प्रतिशत र बलेफी हाइड्रोपावरको मूल्य ४७.५७ प्रतिशतले गिरावट आयो। सर्वाधिक मूल्य घट्ने २० कम्पनीको सूचीमा रहेका कम्पनीहरूले २९.६६ प्रतिशतदेखि ४९.२१ प्रतिशतसम्मको नोक्सानी व्यहोर्नु परेको छ।

सूचीकरणका हिसाबले यो वर्ष निकै फलदायी रह्यो, जहाँ १८ वटा नयाँ कम्पनी दोस्रो बजारमा थपिए। नयाँ सूचीकृत कम्पनीहरूमध्ये स्वस्तिक लघुवित्तका शेयरधनीले असाधारण नाफा कमाएका छन्। यसको अन्तिम कारोबार मूल्य ओपनिङ मूल्य ३९१.७० रुपैयाँको तुलनामा ६०५.६४ प्रतिशतले बढेर २,७६४ रुपैयाँ पुगेको छ।
त्यस्तै, गार्डियन माइक्रो लाइफको मूल्य ४७२.०९ प्रतिशत र सगर डिस्टिलरीको ४२५.२० प्रतिशतले वृद्धि भएको छ। नयाँ सूचीकृत कम्पनीहरूमध्ये ओपनिङ मूल्यको तुलनामा सबैभन्दा कम वृद्धि हुनेमा दरमखोला हाइड्रो इनर्जी रह्यो, जसको मूल्य ४१.९७ प्रतिशतले मात्र बढेको छ।

समग्रमा, निश्चित समूह र कम्पनीका लागि सन् २०२५ निकै लाभदायक रहे पनि केही क्षेत्रमा भने अझै सुधारको पर्खाइ रहेको देखिन्छ।