तर, भिआईपी भएपनि उनीहरुले बिमानस्थलको भिआईपी कक्ष प्रयोग गरेनन् । सर्वसाधारणले आवतजावत गर्ने साधारण कक्ष प्रयोग गरेर त्यहाँबाट बाहिरिए ।
टोली ४ दिने नेपाल भ्रमण सके असार ३१ गते स्वदेश फर्कियो। नेपालमा रहुन्जेल उक्त भ्रमणबारे खासै चर्चा भएन, धेरै संचारमाध्यमले त थाहै पाएनन् । जब भ्रमण टोली फर्कियो, तब त्यो नेपालको लागि मात्र नभएर विश्वभरकै संचार माध्यमको लागि ‘हट न्यूज’ बन्यो । भ्रमणको विषयले नेपाली राजनीति मात्रै होइन, विश्व राजनीतिमै सानो तिनो भूईचालो ल्यायो ।
त्यो भ्रमण थियो—भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरासहितका विभिन्न मन्त्री र सांसद रहेको १५ सदस्यीय टोलीको । कुनै तडक भडक नगरि अति सामान्यरुपमा नेपालमा चार दिन रहँदा टोलीले विभिन्न कम्युनिष्ट नेताहरुसंग भेटघाट गर्यो, सहयोग आदान प्रदानको लागि प्रस्तावहरु गर्यो ।

तत्कालिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भ्रातृ संगठन युवा संघ नेपालको निमन्त्रणमा आएको टोलीलाई नेपाल ल्याउने चाँजो पाँजो राष्ट्रिय सभाका तत्कालिन सांसद तथा पुराना कम्युनिष्ट नेता बलराम बाँस्कोटाले गरेका थिए । उनकै समन्वयमा आएको टोलीले पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, माधवकुमार नेपालको साथै वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुसँग गहन छलफल गरेको थियो ।
त्यसको केही महिना अगाडि अमेरिकाले भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई अपदस्त गर्दै विपक्षी दलका नेता जुआन गुएइदोले आफूलाई ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेपछि विश्व राजनीति तरंगित बनेको थियो । त्यहीक्रममा तत्कालिन सत्तारुढ नेकपाका दुई अध्यक्ष मध्ये एक प्रचण्डले अर्का अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी ओली विदेश भ्रमणमा गएको बेला उनलाई समेत थाहा नदिई मुदुरोको पक्षमा कडा विज्ञप्ति सार्वजनिक गरेका थिए । त्यसले नेपाली राजनीतिमा ठूलै विवाद निम्त्याएको थियो ।
त्यही भेनेजुयला शनिबारदेखि एकाएक विश्व राजनीतिको केन्द्रमा छ । निर्वाचित राष्ट्रपति मुदुरोलाई अमेरिकाले राष्ट्रपति भवनबाटै गिरफ्तार गरेर आफ्नो देश लगेको छ । त्योसँगै विश्वभर नै अमेरिकी हस्तक्षेपप्रतिको आक्रोशसहित भेनेजुयलाको भविश्यमाथि प्रश्न उठिरहेको छ । र, नेपालमा पनि त्यसबारेमा चासो र चिन्ता देखिन्छ ।
नेपालबाट भेनेजुयला १५ हजार ४४ किलोमिटर टाढा पर्छ । प्रतिघण्टा ९ सय किलोमिटर उड्ने जहाजमार्फत यात्रा गर्दा पनि १६ घण्टाभन्दा बढी समय लाग्छ ।
नेपाल र भेनेजुएलाबीच सन् १९८७ मा कूटनीतिक सम्बन्ध जोडिए पनि दुई देशबीच त्यस्तै कुनै सम्बन्ध छैन। भेनेजुयलामा नेपालीहरु कति छन् ? त्यो यकिन छैन । एनआरएनका पदाधिकारीहरुसँग पनि त्यसबारेमा कुनै तथ्याँक छैन । एक पदाधिकारीका अनुसार भेनेजुयलामा २५ देखि ३० जनासम्म नेपालीहरु रहेको अनुमान गरिएको छ ।
भेनेजुयला पेट्रोलियम पदार्थको उत्पादक र नेपाल आयातकर्ता मुलुक भए पनि नेपालको कारोबार भने भेनेजुयलासँग छैन । पेट्रोलियम पदार्थ मात्र होइन, दुई देशबीच अन्य वस्तुहरुको व्यापार पनि नगण्य छ । करिब ३ वर्ष अघिको तथ्याँकमा भेनेजुयलाबाट नेपालमा २ लाख ५ हजार डलरका समान आयात भएको थियो भने १४ हजार ४ सय डलर बराबरको समान निर्यात भएको थियो । ती समानहरु पनि सोझै नभई तेस्रो देशहरुमार्फत आयात निर्यात भएको थियो ।
यसकाे अर्थ के हो भने भेनेजुयलाका कुनै घटना क्रमले वा त्यहाँको राजनीतिक उथल पुथल नेपालको लागि ‘नजाने गाउँको बाटो’ जस्तै हो । प्रत्यक्षरुपमा न भेनेजुयलामा अमेरिकी हस्तक्षेप र राष्ट्रपति मुदुरोको पक्राउलगायतका घटनाले नेपाल प्रभावित गर्छ, न त नेपालको कुनै घटना क्रमले भेनेजुयलालाई नै असर गर्छ । तर, विश्वव्यापीरुपमा पर्ने असरहरुको छिटाले एक देशका घटनाहरुले अर्काे देशलाई पनि असर पार्न सक्छ ।
भेनेजुयलामा आएको ‘राजनीतिक बाढी’ को असर पनि त्यस्तै हो । त्यसले सोझै असर नपारे पनि अप्रत्यक्ष र मानसिकरुपमा भने प्रभावित गर्छ, अहिले त्यही भइरहेको छ । जसरी अमेरिकाले भेनेजुयलाको खनिजलाई हडप्नको लागि मुदुरोलाई लागू पदार्थको व्यापारमा सहयोग गरेको आरोपमा पक्राउ गरेको छ, त्यस्तै गरि भोलिका दिनमा यहाँको खनिज पदार्थलाई लिएर अमेरिका वा कुनै देशले सामरिक हस्तक्षेप गरे भने नेपालको अवस्था के होला ? अहिले यो प्रश्न धेरै नेपालीले एक आपसमा गरिरहेका छन् ।
कम्युनिष्ट होइनन् मदुरो
धेरैलाई अमेरिकाले अपदस्त गरेका भेनेजुयलाका राष्ट्रपति मदुरो कम्युनिष्ट हुन् भन्ने लाग्छ । अमेरिका विरोधी र हालका राष्ट्रपति डोनाल्ड ट्रम्पसहितका शासकहरुको निशानामा परेका कारण धेरैलाई उनी कम्युनिष्ट हुन् भन्ने लाग्छ । तर, वास्तविकता त्यस्तो होइन, मदुरो कम्युनिष्ट होइनन्, समाजवादी हुन् । त्यस्ता समाजवादी जो कम्युनिष्टलाई माया गर्छन् र पश्चिमा पूँजीवादी तथा सम्राज्यवादी शक्तिहरुलाई घृणा गर्छ ।
समाजवादी पार्टीका नेता मदुरोका आदर्श पूर्वराष्ट्रपति ह्युगो चाभेज हुन् ।
बरु मदुरोको अपदस्त पछि कार्यवाहक राष्ट्रपति बनेकी उपराष्ट्रपति डेल्सी रोड्रिगेज घोषितरुपमै कम्युनिष्ट पार्टीको नेता भएको र उनले गुरिल्ला युद्धसमेत लडेको नेपाली कम्युनिष्ट पार्टीका नेता बलराम बाँस्कोटा बताउँछन् । बाँस्कोटा मदुरो र रोड्रिगेजसँग प्रत्यक्षरुपमा सम्वन्ध भएका एक मात्र नेपाली नेता हुन्, जसले पटक पटक भेनेजुयलाको भ्रमण गरेका छन् । नेपालका कम्युनिष्ट पार्टीहरुलाई भेनेजुयलाका कम्युनिष्ट पार्टीहरुसँग सम्बन्ध कायम गर्न र त्यहाँको समाजवादी सरकारको पक्षमा उम्भाउन बास्कोटाले मुख्य भूमिका खेल्दै आएका छन् । उनले भेनेजुयलाको पक्षमा गरेको पृष्ठपोषणलाई लिएर नेपालमा ‘बेला न कुबेला भेनेजुयला’ भन्ने थेगो नै बसेको छ ।
‘हिजो मलाई बेला न कुबेला भेनेजुयला भन्दै जिस्काउनेहरु अहिले अमेरिकी हस्तक्षेप पछि बल्ल झस्किएका छन् र सम्राज्यवादीहरुले समाजवादीहरु विरुद्ध कतिसम्म षडयन्त्र र अत्याचार गर्छन भन्ने कुरा बल्ल देखेका छन्’, नेता वास्कोटाले मेरो लगानीसँग भने । बास्कोटाका अनुसार अमेरिकाले भेनेजुयलाको पेट्रोलियम पदार्थलगायतका खनिजहरुमा आँखा लगाउँदै मदुरोलाई गिरफ्तार गरे पनि उसकाे लागि सहज भने छैन । ‘मदुरो त एक जना नायक हुन्, त्यस्ता नायकहरु सयौं हजारौं छन्, मदुरो त केवल समाजवादी मात्रै हुन्, कम्युनिष्ट होइनन्, वास्तविक कम्युनिष्ट त कार्यवाहक राष्ट्रपति तथा उपराष्ट्रपति हुन् । अब उनको नेतृत्वमा भेनेजुयला लड्छ,’ वाँस्कोटाले भने ।
के उनी ट्रम्पसँग झुकेर सम्झौता गर्न सक्दैनन् ? भन्ने प्रश्नमा बास्कोटाले त्यो असम्भव रहेको बताए । ‘मदुरो र रोड्रिगेज दुवै जनासँग मेरो वर्षाै पुरानो घनिष्ट सम्वन्ध छ । उहाँहरु दुवै जना राष्ट्रिय स्वाभिमानको लागि मर्न तयार हुने तर झुक्न तयार नहुने स्वभावको हुनुहुन्छ । मदुरो भन्दा रोड्रिगेज अझ कडा हुनुहुन्छ,’ उनले मेरो लगानीसँग भने । बास्कोटाले भेनेजुयलामा हस्तक्षेप गरेर ट्रम्पले भेनेजुयलालाई होइन, अमेरिकाको भविश्य अनिश्चित बनाएको दावी गरे । ‘अमेरिकी हस्तक्षेप पछि विश्व नै भेनेजुयलाको पक्षमा देखिएको छ । भेनेजुयलामा अमेरिका विरुद्ध गाउँ गाउँबाट जुलुसहरु निस्किरहेका छन् र सिँगै देश एक देखिएको छ । यही वाहानामा रुसले युक्रेनी राष्ट्रपतिलाई पक्राउ गर्यो र युक्रेनलाई कब्जा गर्यो भने अमेरिका के गर्छ ?,’ बास्कोटाले भने ।
कति छ भेनेजुयलाको तेल भण्डार ?
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोमाथि लागू औषध कारोबारीहरुलाई संरक्षण गरेको आरोप लगाए पनि त्यो केवल बाहानाबाजी मात्र भएको र उनको मुख्य स्वार्थ त्यहाँको तेल भण्डार रहेको स्पष्ट छ । भेनेजुयलामा विश्वकै सबैभन्दा ठूलो कच्चा तेलको भण्डार छ । यो अनुमानित ३०३ बिलियन ब्यारेल हो। बिजनेस टुडेकाअनुसार हाल प्रति ब्यारेल ५७ डलर रहेको भेनेजुयलाको तेल भण्डारको मूल्य करिब १७.३ ट्रिलियन डलर रहेको छ । अर्थात् अब यो खजानालाई अमेरिकाले अनौपचारिक रुपमा कब्जा गर्नेछ । यदि यसलाई बजार दरभन्दा आधा मूल्यमा बेचियो भने पनि यो सञ्चितिको मूल्य ८.७ ट्रिलियन डलर हुनेछ । यो रकम अमेरिका र चीनबाहेक विश्वका सबै देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा बढी हो ।
त्यसबाहेक पनि भेनेजुयलामा अन्य विभिन्न खनिजहरु रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् । त्यसमाथि पनि अमेरिकाले लामो समयदेखि आँखा लगाउँदैछ । मदुरोलाई पक्राउ गरेपछि ट्रम्पले भेनेजुयलाको तेलको व्यवस्थापन अमेरिकाले गर्ने घोषणा गरिसकेका छन् । त्यसबाट पनि मदुरोको पक्राउको खास कारण के हो भन्ने स्पष्ट हुन्छ ।
तर, ट्रम्पले भने झैं साँच्चै त्यहाँको तेललगायतका खनिजहरुमा अमेरिकी आधिपत्य कायम होला ? त्यो भने त्यति सजिलो छैन । किनकी मदुरो पछिको सत्ता झन कडा राष्ट्रवादी र अमेरिका विरोधी रोड्रिगेजको हातमा गएको छ र मदुरोको पक्राउ विरुद्ध सिँगै भेनेजुयला एक भएको छ । अन्तराष्ट्रिय फोरमहरुमा अमेरिकालाई साथ दिएकाहरु पनि ट्रम्पको समर्थनमा बोल्न डराइरहेका छन् । त्यसको अर्थ के भेनेजुयलामा ‘भियतनाम युद्धको रिहर्सल’ भइरहेको हो ? वा अफगानिस्तान, इराक वा अरु केही ? यो भने समयक्रमले स्पष्ट पार्नेछ ।