बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार उक्त दिन बिहान ११ बजे क्यापिटलकै कार्यालयमा शेयर बाँडफाँटको कार्यक्रम तय गरिएको छ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अन्तिम तथ्याङ्क अनुसार यस कम्पनीको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूबाट कुल ६९ हजार ५१० जना आवेदकले १० लाख ४८ हजार ९० कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीले यस समूहका लागि कुल ६८ हजार ९६७ कित्ता शेयर मात्रै छुट्याएको हुनाले मागभन्दा करिब १५ गुणा बढी आवेदन पर्न गएको छ।
धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोला प्रथा (लक्की ड्र) बाट शेयर बाँडफाँड गर्दा ६ हजार ८९६ जना आवेदकले मात्रै १० कित्ताका दरले शेयर हात पार्नेछन्। शेयर बाँडफाँट गर्दा बाँकी रहने थप ७ कित्ता शेयर भने १० कित्ता पाउने मध्येकै ७ जनालाई १/१ कित्ताका दरले थप गरी ११ कित्ता उपलब्ध गराइनेछ। यसको अर्थ आवेदन दिएका ६९ हजार ५१० मध्ये ६२ हजार ६१४ जना आवेदकको हात खाली हुने निश्चित देखिएको छ। तथ्याङ्कलाई हेर्दा आवेदन दिएका मध्ये करिब १० प्रतिशतले मात्रै शेयर पाउने र बाँकी ९० प्रतिशत लगानीकर्ता हात रित्तो हुने छ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा ११ मेगावाट क्षमताको 'अपर तादी खोला जलविद्युत् आयोजना' निर्माण गरिरहेको छ।
आयोजनाको काम द्रुत गतिमा अघि बढिरहेको र स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन प्रक्रिया पुरा गरेपछि कम्पनीले अब सर्वसाधारणका लागि पनि आईपीओ खुला गर्ने तयारी गरेको छ। मंगलबार बाँडफाँट भएपछि यसको नतिजा मेरो शेयरको वेबसाइट, कुमारी क्यापिटलको पोर्टल वा सिडिएससीको आधिकारिक आईपीओ रिजल्ट वेबसाइट (iporesult.cdsc.com.np) बाट हेर्न सकिने छ।