चाँदीलाई चीनले ‘दुर्लभ धातु’ जस्तै रणनीतिक महत्व दिएपछि यसको प्रभाव ऊर्जा, रक्षा र वित्तीय बजारमा देखिन थालेको छ। चीनले अब चाँदी निर्यातमा रोक नै नलगाएपनि सरकारी अनुमति चाहिने नियम ल्याएको छ । सन् २०२६-२७ मा चाँदी निर्यातको लागि जम्मा ४४ वटा कम्पनीलाई मात्रै अनुमति दिइएको छ ।

चीन विश्व चाँदी बजारमा सबैभन्दा ठूलो खेलाडीमध्ये एक हो, जसले करिब १५–२०% उत्पादन हिस्सा ओगटेको छ। विश्व बजारमा मेक्सिको पछि धेरै चाँदी उत्पादन गर्ने राष्ट्रमा चीन पर्दछ । विश्वको परिष्कृत चाँदी उत्पादनको ६०-७० प्रतिशत हिस्सा चीनले ओगटेको छ। चीनको निर्यात नियन्त्रणले विश्व आपूर्ति श्रृंखला र मूल्यमा प्रत्यक्ष असर पारिरहेको छ, जसले नेपालजस्ता आयातमा निर्भर मुलुकमा मूल्य वृद्धि र अस्थिरता ल्याउने आँकलन गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले चीनको पछिल्लो कदमले चाँदीको मूल्य बढाउन सहयोग पुग्ने बताउँछन् । ‘अहिलेसम्म चिनियाँ चाँदीको अन्तर्राष्ट्रिय बजारमा खासै असर रहेको सुनिएको थिएन । सन् २००३ देखि चीन सुन चाँदीको विश्व बजारमा निस्किएको हो । पछिल्लो समय इभी गाडी, व्याट्रि र सोलार प्यानलमा चाँदीको प्रयोग बढेको छ । चीनले विद्युतीय गाडी, सोलार प्यानलको बजारमा आफ्नो बर्चश्व कायम राख्न खोजिरहेको छ। घरेलु मागलाई ध्यानमा राखेर चीनले चाँदी निर्यातमा नियन्त्रण गरेको हो । यसले आगामी दिनमा चाँदी झनै महंगो हुन सक्छ ।’–उनले भने ।
‘पहिलो चाँदीको फिजिकल डेलिभरी खासै हुँदैनथ्यो, डेरिभेटिभ बजारमा मात्रै धेरै कारोबार हुन्थ्यो । प्रायः केन्द्रीय बैकहरुले सुन रिजर्भ बढाउँदा सुनको मूल्य आकाशियो । अहिले चाँदीमा पनि फिजिकल डेलिभरीको माग बढ्दा आगामी दिनमा चाँदीको मूल्य बढ्ने सम्भावना बढेर गएको छ।’–पूर्वअध्यक्ष शाक्यले भने।
विश्व बजारमा अहिले चाँदीको मूल्य ७३ देखि ७६ डलर प्रति औन्समा कारोबार भइरहेको छ । मूल्य बढ्दै गएपछि लगानीकर्ताहरुले सुरक्षित विकल्पको रुपमा चाँदीमा समेत लगानी बढाउन थालेका छन् ।
चीनले यो किन गरिरहेको छ ?
चीनका लागि चाँदी केवल एक औद्योगिक र लगानी सम्पत्ति मात्र नभएर एक रणनीतिक सम्पत्ति पनि बनेको छ। यसले अन्य देशसँग सम्झौता सुरक्षित गर्न वा आफ्नो पक्ष प्राप्त गर्न यसलाई प्रयोग गर्न सक्छ। विज्ञहरु विश्वास गर्छन् कि यसैकारण चीनले चाँदीमाथि आफ्नो नियन्त्रण बढाइरहेको छ। यसबाहेक घरेलु रुपमा चाँदीको उच्च माग छ।
चीन सौर्य प्यानल, इलेक्ट्रोनिक्स र विद्युतीय सवारीसाधनको विश्वको सबैभन्दा ठूलो निर्माता हो। यी सबैले उल्लेखनीय मात्रामा चाँदी खपत गर्छन्। त्यसकारण चीनले औद्योगिक माग बढाएको छ र चाँदीको आपूर्ति माथि निर्यात प्रभुत्व बढाएको छ। जसले गर्दा विश्वव्यापी रुपमा विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व बढेको छ। विशेषगरी अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएपछि चीन र अमेरिका बीच शुरु भएको तनावलाई मध्यनजर राखेर रणनीतिक रुपमै चीनले चाँदी निर्यातलाई नियन्त्रण गरेको बताइएको छ ।