यो निर्णयसँगै नेपाली कामदारका लागि इजरायलको रोजगारी थप व्यवस्थित र आधिकारिक हुने अपेक्षा गरिएको छ ।
बैठकले ऊर्जा र वातावरणको क्षेत्रमा एउटा ठूलो कदम चाल्दै 'पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२' स्वीकृत गरेको छ । यसले इन्धनमा परनिर्भरता घटाउन र आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न सहयोग पुर्याउनेछ । यस्तै, सरकारले ओमान सरकारसँग हुने समझदारी पत्रलाई पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रशासनिक र सुरक्षा निकायमा बढुवातर्फ, सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गरेको छ । त्यसै गरी, नेपाल लेखा परीक्षण सेवा तर्फको विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिए ।
सरकारले सामाजिक र सहकारी क्षेत्रका समस्या समाधानका लागि पनि केही निर्णयहरू लिएको छ । समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गरिएको छ । यस्तै, 'जेनजी' सहिद परिवारको कल्याणकारी कार्यक्रम सञ्चालनका लागि अनुदान उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । वातावरण संरक्षणका लागि महत्त्वपूर्ण मानिएको 'वन तेस्रो संशोधन नियमावली २०८२' लाई पनि सोमबारकै बैठकले स्वीकृति प्रदान गरेको छ ।
यी निर्णयहरूले मुलुकको प्रशासनिक सुदृढीकरण, वैदेशिक सम्बन्ध विस्तार र आन्तरिक ऊर्जा व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने सरकारको विश्वास छ ।