'सिनेपाः@बक्स अफिस' ले पुस १९ गते शनिवार राति ११:५९ बजेसम्मको आधिकारिक तथ्याङ्क सार्वजनिक गर्दै चलचित्रहरूको आम्दानीको अवस्था बाहिर ल्याएको हो। सार्वजनिक रिपोर्ट अनुसार चलचित्र 'परान' ले बक्स अफिसमा आक्रामक व्यापार गर्दै अन्य प्रतिस्पर्धी चलचित्रहरूलाई निकै पछाडि पारेको छ।
यस अवधिमा सबैभन्दा बढी आम्दानी गर्ने चलचित्रको सूचीमा 'परान' पहिलो स्थानमा रहेको छ। यसले हालसम्म ६ लाख २८ हजार ७ सय ९३ टिकट बिक्री गर्दै कूल १७ करोड ७१ लाख १७ हजार ८ सय ३० रुपैयाँ आम्दानी गरेको छ। यो कमाइ हाल प्रदर्शनमा रहेका अन्य सबै चलचित्रहरूको संयुक्त आम्दानीभन्दा पनि कैयौँ गुणा बढी हो। त्यस्तै, दोस्रो स्थानमा रहेको चलचित्र 'झरी इन्द्रेणी' ले २९ हजार ६ सय ८३ टिकट बिक्री गरी ९३ लाख ८३ हजार ५ सय १६ रुपैयाँ सङ्कलन गरेको छ। तेस्रो स्थानमा रहेको चलचित्र 'हर्ष' ले ८ हजार ८ सय ६८ टिकट बिक्री गर्दै २८ लाख ७८ हजार ८ सय ३६ रुपैयाँ जोडेको छ।

चौथो स्थानमा रहेको 'अभिमन्यु' ले ६ हजार ८ सय ९२ टिकट बिक्री गरेर २१ लाख ५८ हजार ४ सय २२ रुपैयाँ आम्दानी गरेको छ। त्यस्तै, 'पीआर' ६ लाख ८२ हजार २ सय ८३ रुपैयाँ कमाइ गर्दै पाँचौँ स्थानमा रहन सफल भएको छ भने 'मुगलान' ६ लाख ५ हजार २ सय ९४ रुपैयाँ आम्दानीका साथ सूचीको अन्तिम स्थानमा देखिएको छ। मुगलानले टिकट सङ्ख्या (२,२८८) मा पीआर (२,१६६) लाई उछिने पनि कुल आर्थिक आम्दानीमा भने पछि परेको हो। समग्रमा नेपाली चलचित्र बजारमा 'परान' को एकलौटी राज देखिएको छ भने अन्य चलचित्रहरूले बक्स अफिसमा निकै न्यून व्यापार गरिरहेका छन्।