सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयर धनीहरूलाई हाल कायम चुक्ता पुँजीको १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। यस अन्तर्गत शेयरधनीहरूले ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) प्राप्त गर्नेछन्। अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेकोमा यस वर्ष लाभांश दरमा वृद्धि भएको हो।
यसै गरी साधारण सभाले बैंकको आगामी कार्यकालका लागि नयाँ सञ्चालक समिति समेत निर्वाचित गरेको छ। नियमावली बमोजिम भएको निर्वाचनबाट संस्थापक समूह (क) बाट राजेश उपाध्याय, सञ्जय गिरी र ग्रोइङ्ग प्रालिको तर्फबाट सागर मल्ल निर्वाचित भएका छन्। त्यस्तै, सर्वसाधारण समूह (ख) बाट श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिकराम अर्याल सञ्चालक पदमा निर्वाचित भएका छन्। नवनिर्वाचित सञ्चालक समितिको आजै बसेको पहिलो बैठकले राजेश उपाध्यायलाई पुनः सञ्चालक समितिको अध्यक्षको रूपमा सर्वसम्मत चयन गरेको छ। उपाध्याय यसअघि पनि बैंकको अध्यक्षका रूपमा नेतृत्वदायी भूमिकामा रहेका थिए।
सभामा आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरिएको छ। प्रतिवेदन अनुसार बैंकका वित्तीय परिसूचकहरूमा उत्साहजनक सुधार देखिएको छ। अघिल्लो वर्ष ९.३९ प्रतिशत रहेको बैंकको आधार दर घटेर ६.९४ प्रतिशत कायम भएको छ भने पूँजीकोष पर्याप्तता अनुपात १४.९३ प्रतिशतबाट वृद्धि भई १७.०६ प्रतिशत पुगेको छ। सो अवधिसम्म बैंकको कुल निक्षेप ५६.२२ अर्ब र कर्जा प्रवाह ४७.२१ अर्ब रुपैयाँ पुगेको जानकारी दिइयो।
सभाका अध्यक्ष राजेश उपाध्यायले शेयरधनीहरूबाट प्राप्त सल्लाह र सुझावलाई आत्मसात् गर्दै बैंकले ग्राहकहरूको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न आफ्ना क्रियाकलापहरूलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले अझ बढी सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताउँदै सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरे।