मन्त्रिपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै एर्दोगानले विश्वको कुनैपनि कुनामा हुने राजनीतिक वैधानिकता र अन्तर्राष्ट्रिय कानूनको उल्लंघनलाई टर्कीले समर्थन नगर्ने स्पष्ट पारे । एर्दोगानले कुनैपनि देशको सार्वभौम अधिकार र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्नु जोखिमपूर्ण कदम हुने र यसले विश्वव्यापी रूपमा गम्भीर जटिलताहरू निम्त्याउन सक्ने चेतावनी दिए।
उनले ट्रम्पसँगको वार्तामा टर्कीको चिन्ता व्यक्त गर्दै भेनेजुएलाको सुरक्षा र अखण्डताको मुद्दालाई प्राथमिकताका साथ उठाएका थिए । राष्ट्रपति एर्दोगानले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र त्यहाँका जनता सधैं टर्कीको असल मित्र रहेको उल्लेख गरे । उनले टर्कीले सधैं भेनेजुएली जनताको हितमा हुने कार्यको पक्षमा वकालत गर्ने र कानूनको शासन भन्दा शक्तिको कानून हावी हुने विश्व व्यवस्थाले द्वन्द्व मात्र निम्त्याउने बताए ।
यो कुटनीतिक कदम यस्तो समयमा आएको हो जब अमेरिकी सेनाले भेनेजुएलामा श्रृंखलावद्ध आक्रमण गरी राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर न्युयोर्क पुर्याएको खबर सार्वजनिक भएको छ । यस घटनाले विश्वभर व्यापक निन्दा र विरोध जन्माएको छ ।