मादुरो पक्राउ परेपछि खुलेको पहिलो कारोबार दिन अर्थात् सोमबार (जनवरी ५) बजारमा यस्तो उछाल आयो कि जसले पछिल्ला धेरै वर्षका रेकर्डहरू तोडिदियो। उक्त दिन त्यहाँको मुख्य शेयर सूचक 'आईबीसी इन्डेक्स'एकै दिन ३६७ अंक अर्थात् १६.४५ प्रतिशतले बढेर दुई हजार ५९८ अंकमा बन्द भयो। अघिल्लो कारोबार दिन बजार दुई हजार २३१ अंकमा सीमित थियो। यो वृद्धि यस वर्षकै सबैभन्दा ठूलो एक दिने वृद्धि हो। लगानीकर्ताहरूमा राजनीतिक परिवर्तनसँगै अमेरिकी प्रतिबन्धहरू फुकुवा हुने र अर्थतन्त्र पुनः लयमा फर्किने ठूलो आशा पलाएको यसले पुष्टि गर्छ।

ऐतिहासिक उछालपछि आज (जनवरी ६) भने बजार केही शान्त देखिएको छ। ठूलो वृद्धिको भोलिपल्ट बजारमा कुनै ठुलो उथलपुथल नदेखिनुलाई लगानीकर्ताहरू 'पर्ख र हेर' को अवस्थामा रहेको मानिएको छ। हाल बजार दुई हजार ५९८ अंककै आसपासमा स्थिर देखिएको छ।
भेनेजुएलाको यो एक मात्र सक्रिय शेयर बजार हो। लामो समयको आर्थिक सङ्कट र अन्तर्राष्ट्रिय एक्लोपन भोगेका भेनेजुएलाका लगानीकर्ताहरूले मादुरोको गिरफ्तारीलाई शेयर बजारका लागि अहिलेसम्मकै सबैभन्दा सुखद र 'बुलिश' खबरका रूपमा स्वागत गरेका छन्। सरकारी नियन्त्रणमा रहेका तेल उद्योगहरू बाहेकका निजी क्षेत्रका कम्पनीहरूमा अहिले लगानीको चासो निकै बढेको छ। विश्लेषकहरूका अनुसार यदि यो राजनीतिक परिवर्तनले स्थायी रूप लियो भने भेनेजुएलाको शेयर बजारले आगामी दिनमा अझै कयौँ नयाँ उचाइहरू छुने र विदेशी लगानीसमेत भित्रिने सम्भावना बलियो देखिएको छ।