हुन्डाईले पूर्णकालीन रुपमा रोबोटलाई काममा लगाउँदै, ठूलो संख्यामा कामदारको जागिर खोसिने

Jan 07, 2026 06:14 AM mero lagani



दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाई मोटर ग्रुपले सन् २०२८ देखि आफ्ना कारखानामा मानव जस्तो रोबोटलाई काममा लगाउने भएको छ । त्यसबाट हजारौं श्रमिकहरुले जागिर गुमाउने भएका छन् ।

हुण्डाईले काममा पूर्णकालीन रुपमा काम लगाउन लागेका रोवर्टहरुले शुरुमा अन्य मानिस (कामदार)को सहयोगीकोरुपमा काम गर्ने र पछि आफैले सबै काम गर्न सक्ने बताइएको छ । कम्पनीले रोबोटले मानव कामदारमाथि पर्ने शारीरिक तनाव कम गर्न, सम्भावित खतरनाक कार्यहरू सम्हाल्न र प्रविधिको व्यापक प्रयोगको लागि मार्ग प्रशस्त गर्न मद्दत गर्ने बताएको छ।

कम्पनीले सुरुमा कति रोबोट प्रयोग गर्ने र परियोजनाको लागत कति हुनेछ भन्ने खुलाएको छैन ।

हुन्डाईका उपाध्यक्ष जेहुन चाङले मानव कामदारहरूले रोबोटका कारण आफ्नो जागिर गुमाउन सक्ने चिन्तालाई स्वीकार गरे । तर उनले अझै पनि अन्य भूमिकाका साथै रोबोटलाई तालिम दिनुपर्ने बताएका छन् । हुण्डाईले सोमबार मात्रै सन् २०२६ मा अमेरिकामा २० अर्ब डलरभन्दा बढी लगानी गर्ने घोषणा गरेको छ ।

कम्पनीले अमेरिकामा कार उत्पादन विस्तार गर्ने र अटोनोमस ड्राइभिङ टेक्नोलोजी र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा लगानी गर्ने बताएको छ ।

हुन्डाई मोटर कम्पनी सन् १९६७ मा दक्षिण कोरियामा स्थापित भएको एक विश्वव्यापी मल्टीन्याशनल अटोनिर्माता कम्पनी हो । विश्वभर कम्पनीका लगभग ५००० भन्दा बढी डिलरशिप र शोरूमहरू छन् । कम्पनीमा हाल २,५०,००० कर्मचारीहरू रहेको र ह्युमनोइड रोबोटलाई काममा लगाएपछि कामदारको संख्या व्यापकरुपमा कटौती हुने बताइएको छ ।

स्मरण रहोस् अमेजन,टेस्ला र चिनियाँ कार बनाउने बीवाईडी जस्ता कम्पनीले पनि ह्युमनोइड रोबोट (अर्थात् मानिसले जस्तै काम गर्न सक्ने रोबर्ट) प्रयोग गर्ने बताएका छन् ।