अन्डाको मूल्यमा ९० रुपैयाँको 'भारी' कटौती, अब कतिमा पाइन्छ प्रतिक्रेट?

Jan 06, 2026 04:43 PM merolagani



नेपाल लेयर्स कुखुरा पालक संघले अन्डाको मूल्यमा एकै पटक प्रतिक्रेट ९० रुपैयाँको भारी कटौती गरेको छ । संघले मङ्गलवार (पुस २२ गते) देखि लागू हुने गरी अन्डाको मूल्यमा घटाउने निर्णय गरेको हो। 

गएको मंसीर महिनादेखि चर्को मूल्य तिर्न बाध्य उपभोक्तालाई संघको यो निर्णयले ठूलो राहत पुग्ने देखिएको छ ।

संघका जारी गरेको सूचना अनुसार नयाँ निर्धारित मूल्यअनुसार अब मध्यम (मिडियम) अन्डाको  मूल्य प्रतिक्रेट ४ सय ६० रुपैयाँ कायम गरिएको छ । यसअघि यसको मूल्य ५ सय ५० रुपैयाँ रहेको थियो। त्यसैगरी ठूलो (लार्ज) अन्डाको मूल्य ५ सय ६५ रुपैयाँबाट ९० रुपैयाँले नै घटाएर अब प्रतिक्रेट ४ सय ७५ रुपैयाँ तोकिएको छ। अन्डाको मूल्यमा यसरी अचानक गिरावट आउनुमा बजारमा मागको तुलनामा उत्पादन बढी हुनु मुख्य कारण मानिएको छ।

अहिले चिसो मौसमका कारण विद्यालय तथा कलेजहरूमा हिउँदे बिदा सुरु भएकाले अन्डाको नियमित खपतमा कमी आएको छ। साथै,अहिले पर्यटकीय सिजन नभएकाले होटेल तथा रेस्टुरेन्टहरूबाट हुने मागमा समेत उल्लेख्य गिरावट आएको छ।

अर्कोतर्फ,फार्महरूमा अन्डा उत्पादन कम भएपछि विस्थापित गर्नुपर्ने बुढो भइसकेका लेयर्स कुखुराहरू बजारमा नबिकेर फार्ममै रहँदा उत्पादनमा भने वृद्धि भइरहेको छ। माग घटेको तर उत्पादन बढेको यही असन्तुलनका कारण संघले मूल्य घटाउनुपर्ने अवस्था आएको हो। संघले यो नयाँ मूल्य देशभरका सबै उत्पादन केन्द्रहरूमा मङ्गलवार देखि नै लागू हुने जनाएको छ ।