शेयर मूल्य किन बढ्यो भर्खरै आईपीओ आएका कम्पनीहरुकाे ? कारण यस्तो

Jan 06, 2026 05:41 PM Merolagani



बाबुकृष्ण महर्जन

हालै आईपीओ निष्काशन गरेर नेप्सेमा सूचीकृत भएको एसवाई प्यानल नेपाल लिमिटेडले साधारण सभाको लागि पुस १८ गते बुक क्लोज गर्यो । पुस २०, २१ र २२ गते शेयर बेचेका लगानीकर्ताहरुले अहिलेसम्म इडीआईएस गरेर शेयर ट्रान्सफर गर्न सकेका छैनन् ।

साधारणतया कारोबार भएको भोलिपल्ट इडीआईएस गरेर ब्रोकरको पुल एकाउन्टमा ट्रान्सफर गर्नु पर्छ र टी प्लस २ मा शेयर खरिदकर्ताको खातामा शेयर आउँछ । बिहीबार बेचिएको शेयर आइतबार खातामा आउनुपर्ने हुन्छ तर बुक क्लोजका कारण इडीआईएस गर्न नमिल्दा एसवाई प्यानलको शेयरमा उछाल आएको लगानीकर्ताहरु बताउँछन् ।

‘गत आइतबार बेचेको एसवाई प्यानलको शेयर अहिलेसम्म इडीआईएस गर्न मिलेको छैन ।’–एक लगानीकर्ताले भने । सम्बन्धित ब्रोकरमा सम्पर्क गर्दा बुधबार साँझ मात्रै सो शेयर ट्रान्सफर गर्न मिल्ने जानकारी पाएको उनले बताए । बुक क्लोजका कारण शेयर बिक्रीकर्ताले बेचेको शेयर खरिदकर्तालाई ट्रान्सफर गर्न नपाउनु तथा खरिदकर्ताले पनि समयमै शेयर नपाउँदा ‘फ्लोटिङ शेयर सर्टेज’का कारण एसवाई प्यानलको शेयर मूल्यमा उछाल आएको ती लगानीकर्ताले बताए । गत आइतबार २ लाख ९० हजार कित्ता, सोमबार १ लाख ४६ हजार कित्ता र मंगलबार १ लाख ८८ हजार कित्ता शेयर किनबेच भए पनि अहिलेसम्म इडीआईएस हुन सकेको छैन । यी सबै शेयरहरु एकैचोटी बुधबार बेलुकी मात्रै इडीआईस गर्न मिल्ने हुन्छ जसले गर्दा बिहीबार एसवाई प्यानलको शेयरमा आपूर्ति आउन सक्ने उनले आँकलन गरे ।

सोमबार एसवाई प्यानलसँगै सागर डिष्टिलरी, बन्दीपुर केवलकार एन्ड टुरिज्म, श्रीनगर एग्रीटेक इन्डस्ट्रिज, दरमखोला हाइड्रोपावरलगायतका भर्खरै आईपीओ आएर नेप्सेमा सूचीकृत भएका कम्पनीहरु सर्किट लेभलमा कारोबार भएका थिए। नयाँ आईपीओ आएका कम्पनीहरु ‘टप गेनर’का साथै तिनीहरुको शेयर ‘टप टर्नओभर’मा पनि परेका थिए ।

एसवाई प्यानलजस्तै सागर डिष्टिलरीको बुक क्लोज पुस १४ गते थियो । पुस १६ गते सागरको शेयर बेचेका लगानीकर्ताले पुस २१ गते सोमबार मात्रै इडीआईएस गर्न पाए । समयमै खातामा शेयर नआउँदाको असर बजारले सर्किट लाग्न सफल भएको ती लगानीकर्ताले बताए ।

एसवाई प्यानल र सागर मात्रै होइन, बन्दीपुर केबुलकार एन्ड टुरिज्मले पनि पुस १७ गते बुक क्लोज गर्यो । बन्दीपुरको शेयर बिक्रीकर्ताले पुस २१ गते सोमबार मात्रै इडीआईएस गर्न पाए । बन्दीपुर र सागरका लगानीकर्ताले किनेकाे शेयर बुकक्लोज भएको चार दिन पछि मात्रै खातामा आए । खातामा आउनासाथ १० प्रतिशतदेखि ३० प्रतिशतसम्म नाफा भएर सो नाफा बुक गर्न लाग्दा मंगलबार बन्दीपुर र सागरको शेयर मूल्य घट्न गएको ती लगानीकर्ताले बताए ।

पछिल्ला कारोबार दिनमा हालै आईपीओ आएर सूचीकृत कम्पनीहरुमा लगानीकर्ता आकर्षित भएको देखिन्छ । एसवाई प्यानल, बन्दीपुर केबुलकार, सागर डिस्टिलरी, श्रीनगर एग्रीटेक कम्पनी, दरमखोला हाइड्रोपावर, ट्रेड टावर, सान्भी पावर, बुंगल हाइड्रोपावर, माबिलुङ इनर्जी, पियर इनर्जी, हिमस्टार ऊर्जा जस्ता भर्खरै सूचीकृत भएर कारोबार हुन थालेका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण थियो । यही बीचमा बुक क्लोज भएर ४ दिनसम्म शेयर ट्रान्सफर गर्न नमिल्ने नियमको फाइदा उठाउँदै केही लगानीकर्ताको समूहले नयाँ कम्पनीहरुको शेयर मूल्यलाई नयाँ उचाईमा पुर्याएको ती लगानीकर्ताले प्रष्ट पारे।