देशभर चिसो बढेसँगै विद्युत् खपत उल्लेख्य वृद्धि, कति पुग्यो पिक आवरको डिमाण्ड ?

Jan 07, 2026 03:15 PM merolagani



पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित देशभर चिसो बढेसँगै विद्युत् खपत बढ्न थालेको छ ।नेपाल विद्युत प्राधिकरणका अनुसार, विगतको तुलनामा पछिल्ला केही दिनयता विद्युत् खपत बढ्न थालेको हो ।

काठमाडौं उपत्यकामा गत मंगलबार तापक्रम यो वर्षकै सवैभन्दा कम थियो । त्यसदिन काठमाडौंको तापक्रम ३ डिग्री सेल्सियस र ललितपुरको २.७ डिग्री सेल्सियसको मापन गरिएको थियो ।

प्राधिकरणका अनुसार, हिजो मंगलबार बिहान र बेलुकाको पिक आवरको समयमा विद्युत् खपत बढेको थियो । उक्त दिन पिक आवरमा देशभरको विद्युत् खपत २२८० मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।

अन्य दिनमा पिक आवरमा १९ सय देखि २१ सय मेगावाटसम्म पुग्ने विद्युत् खपत उक्त दिन भने केही बढेको थियो । देशभर चिसो बढेसँगै आम उपभोक्ताले विद्युतीय उपकरणहरुको प्रयोग बढाउँदा विद्युत् खपत बढेको प्राधिकरणको दाबी छ ।

खासगरी, चिसोको बेला हिटर, वासिङ मेसिन, मोटर, विद्युतीय चुल्हो, पानी तताउने उपकरणलगायतका कारण विद्युतु खपतमा वृद्धि भएको देखिन्छ । अहिले विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण ग्रिडमा करिब ४ हजार मेगावाटको विद्युत् जडित छ । त्यसमध्ये हाल करिब ३ हजार २ सय मेगावाटमात्र विद्युत् उत्पादन भइरहेको देखिन्छ ।

उद्योगमा बढेन विद्युत खपत

प्राधिकरणका अनुसार, अहिले स्वदेशी उद्योगहरुले खपत गर्ने बिजुलीमा भने त्यति उल्लेख्य वृद्धि हुन सकेको छैन् । अहिले औद्योगिक घरानाहरुले ३५० देखि ४०० मेगावाट मात्रै बिजुली खपत गरेका छन् । कतिपय उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन नभएका कारण पनि विद्युत् खपत त्यति बढ्न सकेको छैन् । औद्योगिक क्षेत्र त्यति चलायमान नहुँदा पनि विद्युत् खपत कम भएको देखिन्छ ।

औद्योगिक क्षेत्र सवैभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका रुपमा लिने गरिन्छ । विद्युत् खपत बढे पनि स्वदेशी माग नबढ्दा बचत हुने बिजुली प्राधिकरणले भारत निर्यात समेत गरिरहेको छ । अहिले पनि ५ सय मेगावाट हाराहारीको बिजुली भारत निर्यात भइरहेको प्राधिकरणले जनाएको छ ।