स्थगित युनिभर्सल पावरको साधारण सभा पुस ३० गते हुने

Jan 07, 2026 11:52 AM merolagani



युनिभर्सल पावर कम्पनी लिमिटेडले आफ्नो स्थगित वार्षिक साधारण सभा आगामी पुस ३० गतेका लागि पुनः आह्वान गरेको छ । कम्पनी ऐन बमोजिम आवश्यक गणपूरक सङ्ख्या (कोरम) नपुगी यसअघि स्थगित भएको सभा नयाँ मितिमा बस्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डलाई पठाएको औपचारिक पत्र अनुसार, आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ को वार्षिक साधारण सभा २०८२ आश्विन २३ गतेका लागि बोलाइएको थियो । तर, कम्पनी ऐन २०६३ तथा कम्पनीको नियमावलीमा तोकिए बमोजिमको गणपूरक सङ्ख्या नपुगेका कारण उक्त सभा स्थगित भएको थियो ।

स्थगित सभा सञ्चालन गर्न कम्पनीको सञ्चालक समितिको बैठक २०८२ पुस २२ गते मङ्गलवार दिउँसो ३:३० बजे बसेको थियो । उक्त बैठकको निर्णय बमोजिम अब वार्षिक साधारण सभा २०८२ पुस ३० गते बुधवार बिहान ११:३० बजे आयोजना गरिने भएको छ ।

तीन वटा आर्थिक वर्षको साधारण सभा एकै पटक गर्न लागेको कम्पनीले गणपूरक सङ्ख्या नपुगेर स्थगित भएपछि पुनः समय तय गरेको जानकारी गराएको हो । सभाका अन्य एजेन्डा र स्थानका बारेमा भने सूचनामा थप खुलाइएको छैन ।