गगनको गुनासोः विश्वप्रकाश र मेराविरुद्ध घेराबन्दी भयो

Jan 07, 2026 12:50 PM Merolagani



नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भएको बताएका छन् । बुधवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महामन्त्रीहरुका विरुद्ध पार्टीमा घेराबन्दी भएको बताएका हुन् ।

उनले नेपाली काँग्रेसले पछिल्लो समय प्रक्रिया, विधान निल्दै गएको आरोप लगाए। उनले संख्याको दम्भले नेताहरुले आफूहरुमाथि प्रहार गरिरहेको र सबै मिल्ने काम भएको बताए । उनले पार्टी कार्यालयको घेराबन्दी सानो भएको र आम कार्यकर्ताको घेराबन्दी ठूलो भएकाले आम नागरिकले त्यसको छिनोफानो गर्ने जिकिर गरे ।

उनले भने, ‘नेपाली काँग्रेस पार्टीभित्र पछिल्लो समयमा प्रक्रिया र विधान निल्दै जाने क्रममा म र अर्को अर्को महामन्त्री (विश्वप्रकाश शर्मा) दुई जनालाई पार्टीको महामन्त्रीको रुपमा आफ्नो भुमिका निर्वाह गरिरहँदै गर्दा यसलाई कर्नर गर्ने, घेराबन्दी गर्ने, यसका विरुद्ध सबै मिल्ने काम भएको छ । मैले नेताहरुलाई भनेको छु, यहाँभित्र सबै मिलेर मलाई र विश्वप्रकाश शर्मालाई जति घेराबन्दी गरे पनि यहाँको घेरा सानो छ तर पार्टीको घेरा ठूलो छ, समर्थक, शुभेच्छुकको घेरा ठूलो छ । तपाईंहरु हामीलाई पार्टीको या साँघुरो घेराबाट झन ठूलो घेरामा जान झन झन बाध्य पार्दै हुनुहुन्छ ।’

महामन्त्री थापाले संख्याको आधारमादम्भ राखेर महामन्त्रीहरुलाई घेराबन्दी गरिएको बताए।