माघे सङ्क्रान्ति नजिकिएसँगै कालीमाटीमा तरुल र सखरखण्डको 'बाढी', दैनिक आयात डेढ लाख किलो नाघ्यो

Jan 13, 2026 06:55 AM merolagani



नेपालीहरूको मौलिक चाड माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको मुख्य तरकारी बजार कालीमाटीमा तरुल र सखरखण्डको आयातमा निकै ठूलो वृद्धि भएको छ। 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, पुसको अन्तिम साता पुग्दा यी कन्दमूलको आयातको  'ग्राफ' ह्वात्तै बढेको छ।

माघे सङ्क्रान्तिमा 'कन्दमूल' विशेष गरी तरुल, सखरखण्ड र पिँडालु खाने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ। पुस मसान्तमा तरुल पकाएर माघ १ गते खाने चलनका कारण अहिले बजारमा यसको माग अत्यधिक बढेको हो। मागलाई धान्नका लागि धादिङ, नुवाकोट, सर्लाही, चितवन र नवलपरासी लगायतका जिल्लाहरूबाट ठूलो परिमाणमा तरुल र सखरखण्ड काठमाडौँ भित्रिरहेका छन्। पुसको सुरुवाती दिनहरूमा तरुल र सखरखण्डको आगमन सामान्य थियो। तर पुस २५ र २६ गते पछि यसको आयातमा 'अस्वाभाविक' उछाल आएको छ।

विगतका महिनाहरूको तुलनामा अहिलेको आयात परिमाण निकै उच्च देखिएको छ। समितिको तथ्याङ्कीय ग्राफ अनुसार, साउनदेखि मङ्सिरको अन्त्यसम्म तरुलको दैनिक औसत आयात १० हजारदेखि २० हजार किलोको हाराहारीमा रहने गरेको थियो। तर, पुस २५ र २६ गतेसम्म आइपुग्दा यो ग्राफ सिधै उकालो लागेर दैनिक १ लाख ५० हजार किलो (१.५ लाख किलो) पुगेको छ। यो सामान्य समयको तुलनामा झण्डै १० गुणा बढी आयात हो।

यसैगरी, सखरखण्डको आपूर्तिमा पनि सोही प्रकृतिको उछाल आएको छ। मङ्सिर महिनासम्म दैनिक औसत ५ देखि १० हजार किलो मात्र भित्रिने गरेको सखरखण्ड पुस अन्तिम साता झण्डै ७० हजार किलो पुगेको छ। कार्तिक महिनामा ५० हजार किलोको एउटा सानो 'पिक' देखिए पनि पुसको यो आयातले चालू आर्थिक वर्षकै सबै रेकर्डहरू तोडेको छ। सङ्क्रान्तिको अघिल्लो दिन (पुस मसान्त) सम्म यो आयात अझै बढ्ने अनुमान व्यवसायीहरूको छ।

आयात बढे पनि अत्यधिक मागका कारण मूल्य भने  घटेको छैन। बरु सामान्य दिनको तुलनामा केही महँगिएको  छ। कालीमाटी बजारको पछिल्लो थोक मूल्य विवरण अनुसार उपभोक्ताले तरुल (घर तरुल) प्रतिकेजी ८० देखि १०० रुपैयाँ । वन तरुल प्रतिकेजी २०० देखि २५० रुपैयाँ (यो सबैभन्दा महँगो र खोजी हुने तरुल हो)। पन्जे र हात्तीपाइले तरुल प्रतिकेजी ९० देखि १२० रुपैयाँ।सखरखण्ड प्रतिकेजी ७० देखि ९० रुपैयाँ छन्। 

खुद्रा बजारमा पुग्दा यी कन्दमूलको मूल्यमा प्रतिकेजी १५ देखि ३० रुपैयाँसम्म थप हुन सक्ने बजार समितिले जनाएको छ। बजारमा अहिले मुख्य गरी घर तरुल, वन तरुल, मुढे तरुल, सिमल तरुल र सखरखण्डको वर्चस्व रहेको छ। समितिका अनुसार सङ्क्रान्ति लक्षित व्यापारका लागि कालीमाटीमा चौबीसै घण्टा मालवाहक गाडीहरू भित्रिने क्रम जारी छ।

 




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।