यही व्यवस्थाको फाइदा उठाउँदै धेरै संस्थापक लगानीकर्ताले तीन वर्षको लकिङ खुलेपछि शेयर बेचेर निस्किँदा कम्पनीको साधारण सभामा गणपुरक संख्या पुर्याउन नै मुश्किल हुन थालेको हो ।

पुस महिना धेरै साधारण सभा हुने समय हो । पछिल्लो पटक युनिभर्सल पावर कम्पनी लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको साधारण सभा शेयरधनीको गणपुरक संख्या नपुग्दा स्थगित हुन पुगेको हो । कम्पनी ऐन २०६३ अनुसार कुल जारी पुँजीको ५० प्रतिशत भन्दा धेरै शेयरधनीको प्रतिनिधित्व नभएको अवस्थामा गणपुरक शेयर नपुगेको मानी साधारण सभा स्थगित गर्ने गरिन्छ । पहिलो पटक साधारण सभा आह्वान गर्दा गणपुरक संख्या नपुगेमा दोस्रो बैठक कम्तिमा ७ दिनको अग्रिम सूचना दिएर बोलाउनुपर्छ । दोस्रोपटक बोलाइएको बैठकमा भने २५ प्रतिशत भन्दा बढी शेयरधनी पुगेमा त्यसलाई गणपुरक संख्या पुगेको मानी बैठक सम्पन्न हुने गर्दछ ।
पछिल्लो पटक युनिभर्सल पावर कम्पनी र राधी विद्युत कम्पनी लिमिटेडले पुस २२ गते साधारण सभा आह्वान गरेको थियो । युनिभर्सल पावरले ९ प्रतिशत बोनस शेयरसहित त्यसमा कर तिर्न पुग्ने गरी नगद लाभांश प्रस्ताव गरेको थियो भने राधी विद्युतले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । दुवै कम्पनीको संस्थापक शेयरको लक इन अवधि सकिएर सबै संस्थापक शेयर सर्वसाधारण सरह कारोबार हुन थालेको छ । संस्थापक शेयरधनीले शेयर बेचेर निस्केपछि पछिल्लो समय ५१ प्रतिशत शेयरको प्रतिनिधित्व गराउन नसक्दा साधारण सभा स्थगित हुने क्रम बढेको एक हाइड्रोपावर कम्पनीको साधारण सभा भाग लिन गएका लगानीकर्ताले बताए । पछिल्लो समय संस्थापक शेयरको लक इन अवधि सकिने बेलामा हकप्रद शेयर निष्काशन गरेर संस्थापक शेयरधनी कम्पनीबाट बाहिरिने क्रम बढेको छ । पुस २२ गते गणपुरक संख्या नपुगेर साधारण सभा स्थगित भएपछि दुवै कम्पनीले पुस ३० गते साधारण सभा आह्वान गरेका छन् ।
त्यसैगरी गत सोमबार पुस २८ गते सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले साधारण सभा गरेको थियो । साधारण सभामा कम्पनीले १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करबापत्को नगद लाभांशसहित १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको बोनस लाभांश दर अनुसार कम्पनीको शेयर मूल्यसमेत समायोजन भइसकेको छ तर यो कम्पनीमा पनि गणपुरक संख्या नपुगेर साधारण सभा स्थगित भयो।
सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका कम्पनी सचिव ध्रुवराज शर्माले लकिङ खुलेका कम्पनीहरुको साधारण सभामा पछिल्लो समय गणपुरक संख्या पुर्याउन समस्या भएको बताए । २८ गतेको साधारण सभा स्थगित भए पछि कम्पनीले छिट्टै नै साधारण सभाको लागि नयाँ मिति सार्वजनिक गर्ने तयारीमा रहेको उनले बताए । लकिङ खुल्नु अगाडि भने गणपुरक संख्या नपुगेर साधारण सभा स्थगित हुने समस्या नहुने उनले स्पष्ट पारे ।
लकिङ खुलेपछि धेरै संस्थापक शेयरधनी शेयर बेचेर बाहिर निस्किने हुँदा शेयरधनी विकेन्द्रित भएर साधारण सभा स्थगित हुने समस्या बढेको साधारण सभा भाग लिन आएका एक शेयरधनीले बताए । उनका अनुसार पछिल्लो समय संस्थापक शेयरधनीले शेयर बेचेर निस्केपछि कम्पनी कसको भन्ने नै समस्या हुने गरेको उनले अनुभव सुनाए । धेरै जनाले थोरै थोरै कित्ता शेयर मात्रै होल्ड गर्दा कम्पनीको मुख्य स्वामित्व कसको भन्ने नै अन्यौल रहेको उनले बताए । कानुनी रुपमा शेयर होल्ड गर्ने सबैको स्वामित्व भए पनि थोरै कित्ता मात्रै शेयर भएकाले कम्पनी व्यवस्थापनमा चासो नदिने हुँदा कम्पनी सञ्चालनमै असर पर्ने उनले बताए । थोरै कित्ता भएका लगानीकर्ता साधारण सभामा भाग लिन समेत नआउने हुँदा नै कम्पनीको साधारण सभा नै स्थगित हुने अवस्था आएको उनले बताए । दोस्रो पटकक साधारण सभा आह्वान गर्दा पनि नियमानुसार कोरम नपुगेमा कम्पनीको अवस्था के हुने भन्ने स्पष्ट छैन । ती लगानीकर्ताले बैंक र बीमा कम्पनी जस्तै अन्य कम्पनीमा पनि निश्चित प्रतिशत शेयर तोकेरै संस्थापक शेयर राखि राख्नुपर्ने उनले बताए । जसले गर्दा पब्लिक कम्पनी निश्चित व्यक्तिको भनेर भन्न सकिने अवस्था रहेको उनले बताए ।
नेप्सेमा सूचीकृत पुरानो मध्येको एक नेसनल हाइड्रोपावरमा यही अवस्था आएको थियो । कम्पनीका प्रबद्र्धकले शेयर बेचेर निस्केपछि मुख्य प्रवर्द्धक को हो भनेर खोज्नुपर्ने अवस्था आएको थियो । कम्पनी बेवारिसे हुने अवस्था आउने जोखिम रहेकाले नेपाल धितोपत्र बोर्डले आगामी दिनमा यो विषयमा स्पष्ट नीति तर्जुमा गर्नुपर्ने खाँचो रहेको उनले बताए । साथै साधारण सभाबाट पारित भए पछि मात्रै कम्पनीले प्रदान गर्ने बोनस शेयरको मूल्य समायोजन हुने व्यवस्था मिलाउनुपर्नेमा समेत उनले जोड दिए तर सिनर्जी पावरका कम्पनी सचिव शर्माले भने लकिङ खुल्दैमा कम्पनी बेवारिसे नहुने बताए । कम्पनीका संस्थापक व्यक्तिगत जमानी (पीजी) बसेर बैंकबाट ऋण लिएकाे हुने हुँदा साे ऋण चुक्ता नभएसम्म ती संस्थापक कम्पनीमै रहने बताए । बैंकसँगकाे सहमतिमा ती पीजी दिएका संस्थापकले केही शेयर भने बेच्न सक्ने उनले जानकारी दिए।