भक्तपुरकी पूर्णिमा ढुङ्गाना (नाम परिवर्तन)को पनि ब्यथा उस्तै छ । विगत तीन वर्षदेखि जापानमा रेहेकी ढुङ्गानाले आईपीओमा परेको शेयर बिक्री गरिन् । ब्रोकर नम्बर २१ ले केवाईसीको बहानामा पैसा पठाउन आनाकानी गरेको छ । नेपालमा भएको सम्पर्क व्यक्तिलाई ब्रोकरमा पठाउदा समेत उनले पैसा पाइनन । अहिले आफूसँग न शेयर छ, न त बिक्री भएको शेयरको पैसा पाईयो भन्ने चिन्तामा ढुङ्गाना छिन् ।

माथि उल्लेखित प्रतिनिधि पात्र मात्रै हुन् । शेयर बिक्री गरेपछि पैसा फिर्ता नपाउनेहरुको उजुरी देश विदेशमा रहेर कारोबार गर्ने लगानीकर्ताबाट आउने गरेको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसीले बताए । यसरी शेयर बिक्री गरेपछि पैसा नपाउने गुनासोका चाङहरु छन् । स्वदेश वा विदेश सबैका शेयर बिक्री गरेपछि पैसा नपाउने ब्यथा उस्तै छन् ।
विदेशको कमाईले स्वदेशको बजारमा लगानी गर्ने सोच भएपनि कारोबारमा देखिने समस्याले पीडा गराएको दक्षिण कोरियामा रहेका मनोज विष्टले बताए । उनले कोभिडको समयदेखि शेयर बजारमा लगानी गर्न थालेका थिए । तर शेयर कारोबार पछि पैसा समयमा नआउने र ब्रोकरले रोकेर राख्न थालेपछि अरु थप लगानी नेपाली बजारमा नबढाउने सोचमा विष्ट छन् ।
यसरी बजारका लगानीकर्ताहरू निरुत्साहित भएका छन् । लगानीकर्ताको मनोबल कमजोर हुँदा पुँजी पलायन हुने र कम्पनीहरूले नयाँ पुँजी जुटाउन नसक्ने औद्योगिक विकास तथा आर्थिक गतिविधिमा नै धक्का पुगेको छ । यसको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मुलुकको समग्र अर्थतन्त्रमा नकारात्मक असर पारेको जानकारहरुको भनाई छ ।
पैसा भुक्तानी नगर्ने बहाना केवाईसी
तीन चार वर्षको अन्तरालमा केवाईसी अपडेट गर्नु पर्ने प्राबधान रहेको ब्रोकर नम्बर २१ अर्थात मिदास स्टक ब्रोकिङले बताएको छ । सम्बन्धित व्यक्तिलाई केवाईसी अपडेट गर्न म्यासेज, इमेल गर्ने गरेको त्यसको प्रतिकृया आएन । शेयर बिक्री भयो अहिले इडिआईएस पनि गर्न सक्नेले किन केवाईसी अपडेट नहुँदा भुक्तानी रोक्का भएको नम्बरको भनाई छ ।
यता शेयर बिक्री गर्न मिलेपछि पैसा पठाउन नमिल्ने भन्ने हुँदैन । केवाईसी अपडेट नभएको भए शेयर बिक्री गर्न पनि रोक्का गर्नु पर्ने ढुङ्गानाको तर्क छ । अनलाईन प्रणालीबाट बिक्री गरेको हो । ब्रोकरमा बैंक खाता छ । आफ्नै खातामा पैसा फिर्ता पाउन पनि धेरै दुख पाउनु परेको उनको गुनासो छ ।
वित्तीय कारोबार गर्ने निकायमा केवाईसीलाई महत्वका साथ हेरिन्छ । सोही अनुसार धितोपत्र बजारमा ब्रोकर मार्फत कारोबार गर्ने ग्राहकहरुको पहिचान, ठेगाना, पृष्ठभूमिलगायतका विषयमा जानकारी संकलन गर्दछ । सम्पत्ति शुद्धिकरण, भ्रष्टाचार, चोरी, ठगीलगायतका वित्तीय अपराध रोक्नका लागि केवाईसीको अवधारणा ल्याइएको हो । यसले वित्तीय पारदर्शिता ल्याउने जानकारहरुको विश्वास छ ।
तर, हाल सीडीएससीले सेन्ट्रल केवाईसी लागू गरिसकेको छ । डिम्याट खाता, टीएमएस र सेन्ट्रल केवाईसी आवद्ध गरेर लगानीकर्ताहरुको विगतको कारोबार हिस्ट्री पहिचान गर्न सकिन्छ । सेन्ट्रल केवाईसी मार्फत लगानीकर्ताहरुले कुन ब्रोकरमा कसरी कारोबार गरेकाे छ सम्पूर्ण विवरण ब्रोकरलाई जानकारी हुन्छ । तर पनि ब्रोकरले शेयर बिक्री गरेको पैसा फिर्ता दिन आनाकानी गर्ने गरेका हुन्।
केवाईसीको बहनामा बिक्री भएको शेयरको पैसा फिर्ता नदिनु ब्रोकरको सरासर बदमासी रहेको नेपाल शेयरधनी संघका अध्यक्ष्य घनश्याम पाण्डेले बताए । लगानीकर्ताको ब्रोकरमा होल्ड भएको पैसाको ब्याज सहित भुक्तानी गर्नु पर्ने दावी पनि उनले गरे। पाण्डेले मेरो लगानीसँग भने, ‘ब्रोकरमा बैंक खाता लिङक भएपछि हजार ठाउँमा केवाईसी अपडेटकाे फण्डा लगानीकर्तालाई दुख दिने मेसो मात्रै हो । सेन्ट्रल केवासी लागु गरिएको भनिएको छ । राष्ट्रिय परिचय पत्र मार्फत सबै नागरिकको सम्पूर्ण विवरण हुन्छ । त्यसमै समन्वय गरेर स्वत स्फूर्त रुफमा अपडेट हुनेछ ।’
शेयर बिक्री गर्न मिल्ने पैसा दिन नमिल्ने
वित्तीय कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउनका लागि ग्राहकको सम्पूर्ण विवरण अर्थात केवाईसी अपडेट हुन जरुरी छ । तर यदि ग्राहकले केवाईसी अपडेट नगरेमा खाता निष्कृय भएर शेयर बिक्री गर्न पनि नमिल्नु पर्ने हो । तर शेयर बिक्री मिल्ने ! सो बिक्री भएको शेयरको भुक्तानीमा विभिन्न बहाना बनाउँदै आफूहरुलाई झुलाउँदा ब्रोकरको नियत माथि नै शंका उत्पन्न भएको लगानीकर्ताहरुको तर्क छ ।
शेयर बजारमा कारोबार गर्ने लगानीकर्ता कहाँ कुन देशमा छ भन्ने कुरा ब्रोकरलाई थाहा हुँदैन । ब्रोकरको नजरमा कारोबार गर्न योग्य सबै समान हुन्छन् । ब्रोकरहरुले जसरी हुन्छ आफ्नो सुविधालाई चुस्त राख्ने प्रयासमा नै रहेका छन् ।
बरु शेयर खरिद गरेका ग्राहकबाट समयमै भुक्तानी नपाए पनि तिर्नु पर्ने रकम समयमै भुक्तानी गर्ने गरेको ब्रोकरहरुको दाबी छ । विदेशबाट हुने गरेको कारोबारमा रेमिट्यान्स खातामा पैसा पठाउन समस्या देखिएको थियो । उक्त समस्या सामाधानमा ब्रोकरहरु सारेकारबालासँग बहस पैरबी गर्दै आएको छ । अर्को मजर्र पछि बैंकको नाम र खाता नम्बर नै परिवर्तन हुँदा पनि पैसा पठाउन समस्या हुने गरेको छ ।
के भन्छन् सरोकारवाला निकाय ?
लगानीकर्ताले शेयर बिक्री गरेपछि समयमा नै पैसा पाउनु पर्ने नेपाल धितोपत्र बोर्डले बताएको छ । केवाईसी अपडेट नभए ब्रोकर खाता निष्कृय हुन्छ । लगानीकर्ताले शेयर खरिदबिक्री गर्न पाउदैनन् । यदि बिक्री भएको शेयरको भुक्तानी भएको छैन् भने पीडित लगानीकर्ताले बोर्डमा उजुरी गर्न सक्ने प्राबधान रहेको नेपाल धितोपत्र बोर्डको भनाई छ ।
विदेशमा रहेर शेयर बिक्री गर्ने लगानीकर्ताले भुक्तानी प्राप्त गर्न समस्या भएको गुनासो नेप्सेमा पनि आएको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले बताए । शेयर कारोबार भएको भुक्तानी समयमा नै हुनुपर्ने व्यवस्था छ । केवाईसी अपडेट भएको छैन् भने कारोबार प्रणाली स्वःतह निकृय हुने र दोहोरो कारोबार गर्न नपाउने पराजुलीको भनाई छ । यस विषयमा नियामक निकाय नेपाल धितोपत्र बोर्डले नीतिगत व्यवस्था गरेको छ । उनले भने, 'यो विषयले सम्पत्ति शुद्धिकरण निवारणसँग सरोकार राखेको हुन्छ । नेप्सेले ब्रोकरको कारोबारको निगरानी गर्ने भएपनि कारोबारको विवरण बोर्डलाई नै बुझाउने हो ।’
पुँजी बजारमा घट्न सक्ने सम्भावित कानुनी तथा आतंककारी क्रियाकलापहरु, विभिन्न शकांस्पद गतिविधिको पहिचान गर्न र पुँजी बजारमा आउन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न बोर्डले धितोपत्र सम्बन्धी व्यवसाय गर्न अनुमतिपत्र प्राप्त कम्पनी वा संस्थाले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ बमोजिम ग्राहकको पहिचान गर्ने अथार्त केवाईसीको व्यवस्था गरेको छ ।
यस्तो व्यवस्थाले बजारमा हुने कारोबारलाई पारदर्शी बनाएको छ । तर केवाईसी अपडेटकाे नाममा ब्रोकरले लगानीकर्तालाई दुख दिने गरेको लगानीकर्ताको आरोप छ । शेयर बजारमा यस्ता व्यवहारिक कठिनाईहरु भोग्दै आएका छन् । शेयर कारोबार प्रकृयामा देखिएका यस्ता समस्याहरुले शेयर बजार प्रति लगानीकर्ताको विश्वास घटाएको छ । बजारसँग सम्बन्धित सराेकारवाला निकायहरुले यस्ता कठिनाईहरुलाई सहज र सरल बनाएर चुस्त दुरुस्त बनाउनु पर्नेमा जानकारहरुले जोड दिएका छन् ।