निर्वाचनमा भाग लिन १२० पार्टीले निर्वाचन आयोगमा दर्ता गराएका छन् । त्यसका लागि ९६,६३,३५८ पुरुष, ९२,४०,१३१ महिला र अन्य २०० गरी जम्मा १,८९,०३,६८९ मतदाता कायम भएको आयोगले जानकारी दिएको छ । निर्वाचनको लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

राजनीतिक पार्टीहरुमा टिकट वितरणको विषयलाई लिएर तीब्र विवाद भएका छन् । त्यस्ले गर्दा राता रात पार्टी छोड्ने र एउटा पार्टीको नेताले अर्काे पार्टीबाट चुनावको दावेदारी गर्ने अवस्था सृजना भएको छ । पार्टी महाधिवेशनको विषयमा लिएर विभाजित भएको नेपाली कांग्रेसका थुप्रै चर्चित र वरिष्ठ नेताहरु चुनाव लड्ने नलड्ने अनिश्चित भएको छ भने कतिपय नेताहरुले चुनाव नलड्ने सार्वजनिकरुपमा घोषणा नै गरेका छन् । त्यस्ता नेताहरुमा ह्रदयराम थानी, मिनबहादुर विक, राजेन्द्र केसी, बद्री पाण्डेलगायतका नेताहरु रहेका छन् ।
यसपटक टिकट वितरणको विषयमा सबैभन्दा बढी विवाद एमालेमा देखिएको छ । भरखरै सम्पन्न भएको महाधिवेशनमा आफूलाई साथ नदिएकै कारण अध्यक्ष केपी ओलीले कतिपय चर्चित अनुहारहरुलाई टिकट नै दिएनन् । त्यस्ता अनुहारहरुमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, उपमहासचिव योगेश भट्टराई, नेताहरु गोकुल वास्कोटा, ठाकुर गैरे, कर्णबहादुर थापा, राजेन्द्र गौतमलगायतले टिकट नै पाएनन् । कास्की, रुपन्देही, बाजुरा, मोरङ, झापा, कन्चनपुरलगायतका स्थानमा पहिले अर्कैलाई उम्मेदवार घोषणा गरेर पछि अर्कै उम्मेदवारलाई टिकट दिइएको छ । यस्ले पार्टी भित्र असन्तुष्टि देखिएको छ ।
उता, एक दर्जन पार्टीहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा पनि टिकट वितरणमा भद्रगोल भएको छ । कतिपय नेताहरुले सुरक्षित स्थान खोज्दै आफ्नो गृह क्षेत्रभन्दा अर्कै क्षेत्रमा गएपछि व्यापकरुपमा असन्तुष्टि भएको छ भने कतिपय नेता कार्यकर्ताहरुले त पार्टी नै छोडेका छन् । पार्टीका पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृह जिल्ला गोरखाबाट महोत्तरी झरेपछि त्यहाँका कैयौं कार्यकर्ताले पार्टी त्याग्ने चेतावनी दिइरहेका छन् । दाङ १ बाट पार्टीले मेटमणी चौधरीलाई टिकट दिएपछि अर्का दावेदार लुम्बिनी प्रदेशका पूर्वमुख्य मन्त्री कुलप्रसाद केसीले पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बन्ने चेतावनी दिएका छन् ।
जाजरकोटमा पहिले उठदिन भनेका पूर्वगृहमन्त्री शक्ति बस्नेतलाई नै रातारात टिकट दिइएपछि जिल्लाका एक दर्जन भन्दा बढी नेताहरुले चुनावमा खट्न नसक्ने जानकारी पार्टी अध्यक्ष प्रचण्डलाई दिएका छन् ।
उता, बर्दिया १ उम्मेदवार बन्ने गरि राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका पूर्वगृहमन्त्री तथा पार्टी नेता बामदेव गौतमलाई अन्तिम समयमा टिकट नदिएपछि निराश देखिएका छन् । एमालेमा जस्तै नेकपामा पनि देशका धेरै जिल्लामा टिकट वितरणको क्रममा भाँडभैलो देखिएको छ ।
उता, पुराना भनिएका पार्टीहरुलाई विस्थापन गर्दै यही चुनावबाट सरकार बनाउने दावी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पनि टिकट वितरणमा भाँडभैलो नै मच्चिएको छ । धेरै ठाउँमा पार्टी कार्यकर्ताहरुले नेताको दवावमा टिकट दिइएको भन्दै विद्रोहको चेतावनी दिएका छन् । बाग्लुङको निर्वाचन क्षेत्र नम्वर १ मा टिकट दिने क्रममा पार्टी केन्द्रले ठाडो हस्तक्षेप गरेर सुशील खड्कालाई टिकट दिएपछि भन्दै जिल्ला नेताहरुले निर्वाचनमा असहयोग गर्ने चेतावनी दिएका हुन्।
गत निर्वाचनमा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरिसकेका र अहिले पनि टिकटका दाबेदार समेत रहेका खिमानन्द कँडेलले केन्द्रबाट हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले पार्टीले गलत निर्णय गरेको बताएका छन्।
यस्तै अवस्था नुवाकोट, भक्तपुर, धादिङ, दाङ, अर्घाखाँची, बर्दियालगायतका थुप्रै जिल्लाहरुमा विवाद सृजना भएको छ ।
उता, टिकट वितरणकै विषयलाई लिएर राप्रपादेखि मधेशवादी दलहरुसम्म विवाद देखिएको छ । टिकट नपाएपछि अर्काे पार्टी प्रवेश गरेर उम्मेदवार बन्ने प्रवृत्ति सबैभन्दा धेरै मधेशवादी दलका नेताहरुमा देखिएको छ । यस्ले समग्र निर्वाचन प्रणालीलाई नै बदनाम गरेको देखिएको छ ।