कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १५ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमध्ये ४० प्रतिशत अर्थात ६ लाख २० हजार कित्ता साधारण शेयर लमजुङ जिल्लाको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिकाको वडा नं. २ र ३ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता साधारण शेयर मर्स्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २७ वर्ष ५ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.४२ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।