श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न मन्त्रिस्तरीय निर्णय गरेर निर्देशिका जारी गरिएको छ । आन्तरिक रोजगार प्रवर्द्धन गर्न नेपाल सरकारले घोषणा गरेको आन्तरिक रोजगार प्रवर्द्धन दशक अभियानका कार्यक्रम र प्रतिवद्धतालाई कार्यान्वयन गर्ने साझा कार्यक्रमको रूपमा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनको लागि कानूनी प्रवन्ध गर्न निर्देशिका ल्याइ कार्यान्वयन गरिएको श्रम मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले साबिकको प्रधानमन्त्री रोजगार कार्यक्रम अब नरहेको बताए । त्यसको सट्टामा अब राष्ट्रिय नयाँ कार्यक्रम ल्याइएको हो । यो कार्यक्रम संघसहित, सातै प्रदेश तथा ७५३ वटै स्थानीय तहमा चल्नेछ ।
राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत मुलुकको श्रम वजारमा आउने युवा श्रम शक्तिलाई श्रम बजारको माग अनुरुप सीप सिकाई, रोजगार, स्वरोजगार तथा उद्यमशीलता विकास गर्ने कार्यक्रम संचालन गरिने घिमिरेले बताए । उनका अनुसार वैदेशिक रोजगारीवाट फर्किएका व्यक्तिहरुको सीप, पूँजी, अनुभव र प्रविधिलाई मुलुकको श्रम बजारको माग अनुरुप प्रवर्द्धन गरी रोजगार, स्वरोजगार र उद्यमशीलता विकासका लागि सञ्चालित कार्यक्रमहरुसमेत संचालन गरिनेछ भने स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत वेरोजगारहरुलाई लक्षित गरी सञ्चालन हुने न्यूनतम रोजगारीको कार्यक्रम संचालन गर्ने योजना छ ।
सहसचिव घिमिरेले भने–‘खासगरी वैदेशिक रोजगारीवाट फर्किएका व्यक्तिहरुलाई लक्षित गरी सञ्चालन हुने पुनःएकीकरण कार्यक्रम समेत रोजगार प्रवर्द्धन कार्यक्रममार्फत संचालन हुनेछ । यो कार्यक्रम अन्तर्गत वेरोजगार, रोजगारीको खोजीमा रहेका, वैदेशिक रोजगारीवाट फर्केका, राज्यले विशेष सहुलियत उपलब्ध गराउनुपर्ने व्यक्तिहरुलाई लक्षित गरेर रोजगारी दिइनेछ ।’
यो कार्यक्रम सुरु गर्न करिब २ अर्ब यसै आर्थिक वर्षको बजेटमै राखिएको छ । अब त्यसैबाट खर्च गरिनेछ । उनका अनुसार यो कार्यक्रम संचालनका लागि राष्ट्रिय निर्देशक समितिको व्यवस्था निर्देशिकाले गरेको छ ।
श्रम मन्त्रीको अध्यक्षतामा रहने समितिमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एकएक जना सचिवहरु सदस्य रहनेछन् भने नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारी समेत सदस्य रहनेछन् ।
गाउँगाउँमा रोजगार सेवा केन्द्र समेत रहनेछन् । रोजगार सेवा केन्द्रको काम, कर्तव्य र अधिकार स्थानीय तहको स्वीकृत कार्यक्रम गर्नुका साथै न्यूनतम रोजगार कार्यक्रम व्यवस्थापन सम्वन्धी कार्य, वालश्रम तथा वाध्यकारी श्रम निवारण सम्वन्धी कार्य, सामाजिक सुरक्षा कोषसँग सम्वन्धित कार्य, आन्तरिक रोजगार प्रवर्द्धन र वैदेशिक रोजगारीसँग सम्बन्धित कार्य, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको सीप, पूँजी, अनुभव तथा प्रविधिको उपयोग र उद्यमशीलता विकाससँग सम्वन्धित कार्य, सीप तथा क्षमता विकास, व्यवसाय तथा उद्यमशीलता विकासका लागि बैंक तथा वित्तीय संस्थासँग समन्वय र सहजीकरण सम्वन्धी कार्य गर्नेछ ।
निर्देशिका अनुसार मन्त्रालयवाट सञ्चालनमा ल्याइएको श्रम संसार प्रणालीसँग आवद्ध गरी स्थानीय तहले प्रयोगमा ल्याएको श्रम र रोजगारसँग सम्वन्धित सूचना प्रणाली सञ्चालनको कार्य, श्रम र रोजगारसँग सम्वन्धित सूचना प्रणालीको प्रयोग गरी स्थानीय तहमा वेरोजगार, आंशिक रोजगार, रोजगार, स्वरोजगार तथा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको अभिलेख समेत त्यस्तो केन्द्रले राख्नेछ ।
निर्देशिका अनुसार राष्ट्रिय रोजगार प्रर्वद्धन कार्यक्रम अन्तर्गत सीप विकास तालिम सञ्चालन गरिनेछ । श्रम बजारको माग अनुरूपको सीपयुक्त र व्यावसायिक जनशक्ति आपूर्ति गर्न कम्तीमा तीन सय नब्बे कार्यघण्टाको व्यावसायिक तथा सीप विकास तालिम सञ्चालन गर्न गरिनेछ भने तालिम सञ्चालन गर्दा सैद्धान्तिक र व्यवहारिक दुवै विषय समावेश गर्नु पर्नेछ । सीप विकास सम्वन्धी तालिम सञ्चाचन गर्दा असी प्रतिशत व्यवहारिक एवम् प्रयोगात्मक सीप र वीस प्रतिशत सैद्धान्तिक ज्ञान दिने गरी विधि अवलम्वन गर्नुपर्नेछ । कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्दा सम्बन्धित उद्योग तथा प्रतिष्ठानमा कार्यरत श्रमिकलाई संलग्न गराएर सञ्चालन गर्न सकिने व्यवस्था निर्देशिकामा छ ।
त्यस्तै, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सीप विकास सम्वन्धी विषयको पाठ्यक्रम स्वीकृत गर्ने, सीप परीक्षण, स्तरीकरण तथा प्रमाणीकरण गर्नेछ भने राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान मातहतका व्यावसायिक प्रशिक्षण केन्द्रले सीप परीक्षण गरी प्रमाणीकरणको लागि प्रतिष्ठानमा पठाउनु पर्ने उल्लेख छ ।
साझेदारी तथा सहकार्यमा रोजगारी सिर्जना र तालिम सञ्चालन गर्ने समेत निर्देशिकामा व्यवस्था छ । यसका लागि स्थानीय तहमा निजी क्षेत्र तथा गैर सरकारी क्षेत्रसँगको साझेदारी तथा सहकार्यमा स्थानीय श्रम बजारको माग वमोजिम सीपमूलक तालिम तथा रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न सकिनेछ । कार्यक्रम सञ्चालन गर्दा दिगो रोजगारी सिर्जना र श्रम बजार माग अनुकूलको सीप विकाससंग सम्बन्धित कार्यक्रमलाई प्रथामिकता दिनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।