नेप्से व्यवस्थापन र सञ्चालक समितिले अहिलेको सूचक गणना विधिमा प्राविधिक कमजोरीहरू रहेको स्वीकार गर्दै यसलाई आधुनिक बनाउन गृहकार्य तीव्र पारेका हुन्। नेप्से स्रोतका अनुसार, नयाँ इन्डेक्स मोडेल विशेष गरी भारतको बिएससी र एनएससीले प्रयोग गर्ने गणना पद्धतिसँग मेल खाने गरी तयार पारिनेछ।
नेपाल र भारतको इन्डेक्स क्याल्कुलेसनमा के छ फरक ?
नेप्सेले अहिले अपनाइरहेको विधि र भारतको बिएससीले अपनाउने विधिमा मुख्यतया दुई वटा प्रमुख भिन्नता छन्। जसमा पहिलो हो मार्केट क्यापिटलाइजेसन भर्सेस फ्री-फ्लोट। नेप्सेले हाल 'फुल मार्केट क्यापिटलाइजेसन' (कुल बजार पूँजीकरण) लाई आधार मानेर सूचक गणना गर्छ। यसमा संस्थापक शेयर र सर्वसाधारण शेयर दुवैलाई गणना गरिन्छ। तर, भारतको बिएससीले 'फ्री-फ्लोट मार्केट क्यापिटलाइजेसन' पद्धति प्रयोग गर्छ। यसको अर्थ बजारमा वास्तवमै किनबेच हुन सक्ने पब्लिक शेयरलाई मात्र सूचक गणनामा प्रयोग गर्छ।

दोस्रो भिन्नता भनेको वेटेज प्रणाली। भारतमा निश्चित ठुला कम्पनीहरूको प्रदर्शनले इन्डेक्सलाई बढी प्रभाव पार्छ, जसलाई 'सेन्सेक्स' भनिन्छ। नेप्सेमा भने साना कम्पनीहरूको मूल्यमा आउने तीव्र उतारचढाबले पनि कहिलेकाहीँ समग्र इन्डेक्सलाई अस्वाभाविक रूपमा चलायमान बनाइदिने गर्छन्।
यो भिन्नताले नेप्से इन्डेक्समा कस्तो फरक पारिरहेको छ ?
नेप्सेले हाल 'फुल मार्केट क्यापिटलाइजेसन' (कुल बजार पूँजीकरण) लाई आधार मानेर सूचक गणना गर्छ। यसमा संस्थापक शेयर र सर्वसाधारण शेयर दुवैलाई गणना गरिन्छ। जस्तै बजारमा किनबेच नहुने सरकारी वा संस्थापक होल्डिङका ठूला हिस्सा पनि समावेश हुन्छन्। यसले गर्दा नेपाल टेलिकम जस्ता विशाल पूँजीकरण भएका तर कम शेयर कारोबार हुने कम्पनीको मूल्यमा आउने सानो उतारचढाबले पनि समग्र नेप्से सूचकलाई अस्वाभाविक रूपमा चलायमान बनाइदिने गरेको छ।
त्यसको लागि नेप्सेले कस्तो गृहकार्य गरिरहेको छ ?
नेप्से व्यवस्थापनका अनुसार हालको सफ्टवेयर र तथ्याङ्क व्यवस्थापन प्रणाली (ट्रेड म्यानेजमेन्ट सिस्टम)मा केही 'ग्याप' हरू छन्। इन्डेक्स रिकन्स्ट्रक्सन गर्दा केही प्राविधिक पक्षमा सुधारको लागि अहिले गृहकार्य भइरहेको छ। जसमा सबैभन्दा पहिले डाटा क्लिनिङको लागि गृहकार्य भइरहेको छ। धेरै कम्पनीहरूको संस्थापक र सर्वसाधारण शेयरको अनुपात प्रस्ट छैन। नेप्सेले सीडीएस एण्ड क्लियरिङसँग समन्वय गरी प्रत्येक कम्पनीको 'फ्री-फ्लोट' शेयर एकिन गर्ने कार्य गर्ने छ।
दोस्रोमा रियल-टाइम एडजस्टमेन्ट कसरी गर्ने भन्ने छ। त्यसको लागि नयाँ सफ्टवेयर मोड्युल तयार पार्ने, जसले कर्पोरेट एक्सन (लाभांश, हकप्रद) पछिको बजारलाई 'अटो-एडजस्ट' गर्नेछ, जसमा मानवीय त्रुटिको सम्भावना शुन्य बनाउने प्रयास नेप्सेको छ। यो विधिमा बजारमा वास्तवमै किनबेचका लागि उपलब्ध शेयरलाई मात्र सूचक गणनामा समावेश गरिन्छ, जसले गर्दा बजारमा कति माग र आपूर्ति छ भन्ने कुराको वास्तविक चित्र देखाउने छ। विशेष गरी बोनस शेयर, हकप्रद शेयर र मर्जरपछिको मूल्य समायोजनमा हुने 'स्टाटिस्टिकल नोइज' लाई कम गर्न र अन्तर्राष्ट्रिय मापदण्डको 'डिभाइजर' प्रणाली लागू गर्न गृहकार्य भइरहेको छ। यसका लागि नेप्से सञ्चालक समितिले विदेशी विशेषज्ञ वा भारतीय परामर्शदाताको सहयोग लिनेबारे पनि अनौपचारिक छलफल गरिरहेको छ।
यो सुधार भयो भने इन्डेक्समा के फरक पार्छ ?
यस सुधारको सबैभन्दा ठुलो प्रभाव बजारको पारदर्शिता र विश्वसनीयतामा देखिनेछ। अहिले धेरै लगानीकर्ताको गुनासो हुने गर्छ कि नेप्से सूचक बढे पनि उनीहरूको पोर्टफोलियो बढ्दैन। इन्डेक्स रिकन्स्ट्रक्सनपछि सूचकको वृद्धि र लगानीकर्ताको सम्पत्तिको वृद्धि बिचको तादात्म्यता मिल्नेछ। साथै, थोरै कित्ता शेयर भएका कम्पनीको मूल्यमा अस्वाभाविक खेलो फड्को गरेर समग्र इन्डेक्सलाई प्रभावित पार्ने 'कर्नरिंग' को समस्या पनि उल्लेख्य रूपमा घट्नेछ। वैज्ञानिक सूचक भएपछि विदेशी संस्थागत लगानीकर्ताहरूलाई नेपाली बजारको विश्लेषण गर्न सहज हुनेछ, जसले दीर्घकालीन रूपमा विदेशी लगानी भित्र्याउन समेत मार्ग प्रशस्त गर्नेछ।
नेप्सेले गर्न लागेको यो परिवर्तन केवल अङ्कको फेरबदल मात्र नभई नेपाली शेयर बजारलाई परिपक्व र आधुनिक बनाउने एउटा नयाँ कदम हो। भारतको बिएससी जत्तिकै भरपर्दो प्रणाली स्थापना गर्ने लक्ष्य राखेको नेप्सेले यस गृहकार्यलाई सफल बनाउन सकेमा नेपाली लगानीकर्ताले विश्व स्तरीय र पारदर्शी कारोबारको अनुभव गर्न पाउनेछन्। सञ्चालक समितिले गरिरहेको यो गम्भीर गृहकार्यले आगामी दिनमा नेपाली पूँजी बजारलाई नयाँ उचाइमा पुर्याउने र लगानीकर्ताको मनोबल उच्च राख्ने अपेक्षा गर्न सकिन्छ।