यी हुन् पछिल्लो समय धेरै बढेका 'जेनजी' स्टकहरु

Jan 23, 2026 06:30 AM MeroLagani



पछिल्लो समय आईपीओ निष्काशन भएका कम्पनीहरुले शेयर बजारमा धमाका मच्चाइरहेका छन् । पुराना कम्पनीहरुको शेयर मूल्यमा खासै उतारचढाब नदेखिए पनि नयाँ सूचीकृत कम्पनीहरुले भने हरेक दिन नयाँ रेकर्ड बनाएर बढिरहेका छन् ।

चालु आवमा सागर डिष्टिलरी, श्रीनगर एग्रिटेक र एसवाई प्यानल नेपाल लिमिटेड गरी तीन वटा मात्रै कम्पनीको शेयर सूचीकृत भएका छन् । यी तीन वटै कम्पनीहरुको अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । कुनै समय नेप्सेमा सूचीकृत कम्पनी मध्ये न्यून चुक्ता पुँजी भएका कम्पनीहरु चल्छन् भन्ने भाष्य निर्माण भएको थियो ।

पछिल्लो पटक नयाँ सूचीकृत कम्पनीहरु चल्छन् भन्ने भाष्य प्रचलनमा छ । लगानीकर्ताहरुले नयाँ सूचीकृत कम्पनीहरुलाई ‘जेनजी स्टक’ भन्ने गरेका छन् । त्यस्तै कम्पनीको शेयर मूल्य भने उच्च गतिमा बढिरहेको छ । एसवाई प्यानल नेपालको बजारमा कारोबार योग्य शेयर ५२ लाख ३२ हजार कित्ता, श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको ३२ लाख ६२ हजार कित्ता र सागर डिष्टिलरीको १४ लाख ५२ हजार कित्ता शेयर छ । सागर र श्रीनगर एग्रिटेकको कारोबारयोग्य शेयर कित्ता कम भए पनि एसवाई प्यानलको कारोबार योग्य शेयर कित्ता तुलनात्मक रुपमा बढी छ तर कारोबार योग्य कित्ता कम बढी भन्दा पनि नेप्सेमा सूचीकृत नयाँ कम्पनीहरुले अहिले बजारमा धमाका पिटिरहेको लगानीकर्ताहरु बताउँछन् । चालु आवमा सूचीकृत भएका शेयरमध्ये श्रीनगर एग्रिटेक र एसवाई प्यानलको शेयर ५२ हप्ताकै उच्च मूल्यमा कारोबार भइरहेको छ भने सागर डिष्टिलरी पनि ५२ हप्ताको उच्च मूल्य भन्दा थोरै तल गएर कारोबार भइरहेको छ । कम्पनीको शुरुवाती मूल्यलाई आधार मान्दा सागर डिष्टिलरी ६१९.२५ प्रतिशत, श्रीनगर एग्रिटेक इन्डष्ट्रिज ३६३.४१ प्रतिशत र एसवाई प्यानल नेपाल ४३४.८७ प्रतिशतले बढिसकेको छ ।

चालु आवमा मात्रै होइन, आव २०८१/८२ को पछिल्लो त्रैमासमा सूचीकृत भएका कम्पनीहरुले पनि बजारमा धमाका मच्चाइरहेको छ । बन्दीपुर केबुलकार, बुंगल हाइड्रो, दरमखोला, विकास हाइड्रोपावर, प्योर इनर्जी, सान्भी इनर्जी, माबिलुङ इनर्जी जस्ता कम्पनीहरुले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । शेयर मूल्यका आधारमा सबैभन्दा स्वष्तिक लघुवित्तको शेयर सबैभन्दा महँगो ३ हजारको हाराहारीमा कारोबार भइरहेको छ भने झापा इनर्जी, गार्डियन माइक्रो लाइफ नेपाल माइक्रो इनर्जी, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री फर्मासेटिकल्स, प्योर इनर्जी र झापा इनर्जीको शेयर मूल्य १ हजार रुपैयाँभन्दा बढी छ । सान्भि इनर्जी, ट्रेड टापवर, विकास हाइड्रोपावर, हिमस्टार ऊर्जा कम्पनी, माबिलुङ इनर्जी, दरमखोला हाइड्रो इनर्जी, बुंगल हाइड्रोको शेयर मूल्य ५ सय देखि १ हजार रुपैयाँको बीचमा कारोबार भइरहेको छ ।

आव २०८१/८२ मा सूचीकृत भएका कम्पनीहरुमध्ये पनि सबैभन्दा बढी स्वष्तिक लघुवित्त ६६५.८९ प्रतिशतले बढिरहेको छ भने ओम मेगाश्री ४१९.२२ प्रतिशत, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स ४८९.३७ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्स ३३५.३३ प्रतिशत, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स ३४९.५९ प्रतिशत, प्योर इनर्जी ३०३.७३ प्रतिशतले बढेर कारोबार भइरहेको छ ।

टे्ड टावर लिमिटेड शुरुवाती कारोबार मूल्य भन्दा १५७.३९ प्रतिशत, विकास हाइड्रोपावर १०१.९२ प्रतिशत, हिमस्टर ऊर्जा कम्पनी २७६.६९ प्रतिशत, माबिलुङ इनर्जी १३७.९६ प्रशित, दरमखोला हाइड्रो इनर्जी ७१.५३ प्रतिशत, बुंगल हाइड्रो १३४.७९ प्रतिशत, बन्दीपुर केबुलकार २४३.८६ प्रतिशत र झापा इनर्जी ४४५.३० प्रतिशतले बढेको तथ्यांक छ ।

 




सस्तो शेयरमा किन झुम्मिए साना लगानीकर्ता ? कारण ५० अर्बको खेल, के हो ५० अर्बको खेल ?

Jan 22, 2026 05:39 PM

सुवास निरौला 

पछिल्लो समय दोस्रो बजारमा एउटा रोचक दृश्य देखिन थालेको छ। लगानीकर्ताहरूको ध्यान ठूला र महँगा कम्पनीभन्दा साना र सस्ता मूल्य भएका कम्पनीहरूतर्फ ह्वात्तै मोडिएको छ।