योजना आयोगका दुई पूर्व उपाध्यक्ष चुनावी मैदानमाः देशको योजना बनाउँछु भन्नेहरु टोले योजनामा लोभ देखाएर चुनाव जित्ने दाउमा

Jan 23, 2026 05:08 PM mero lagani



फागुनको २१ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय योजना आयोगका दुई जना पूर्व उपाध्यक्षहरु चुनावी मैदानमा होमिएका छन् । 

उनीहरु हुन्-प्युठानबाट उम्मेदवार रहेका डा.गोविन्दराज पोखरेल र तनहुँ १ बाट उम्मेदवार रहेका डा. स्वर्णिम वाग्ले ।

 

प्युठानको रास्पुरकोटमा जन्मेका पोखरेलले जर्मनीको फ्लेन्सवर्ग विश्वविद्यालयबाट ग्रामीण ऊर्जा प्रविधि तथा सीप विस्तारमा स्नातकोत्तर र त्यही विश्वविद्यालयबाट सन् २००४ मा ऊर्जा अर्थतन्त्र र नीति विषयमा विद्यावारिधि गरेका छन् । उनी इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत थापाथली इन्जिनियरिङ क्याम्पसका प्राध्यापक रहेका उनी केही वर्ष वैकल्पिक उर्जा केन्द्रको कार्यकारी निर्देशक तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पनि भएका थिए ।

प्युठानमा २०७४ को आम चुनावमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसँग पराजित भएका थिए । त्यतिबेला पौडेल ४७,५१४ मतका साथ विजयी हुँदा दोस्रो स्थानमा रहेका डा. पोख्रेलले भने ३१,२८६ मत मात्र पाएका थिए । नेपाली कांग्रेससहितका विभिन्न दलहरुले गठवन्धन गरेर लडेको २०७९ को चुनावमा भने पोखरेलले टिकट पाएनन् । त्यतिबेला उनको पार्टीले जनमोर्चाकी पौडेललाई सहयोग गरेको थियो । तर, गठवन्धनका बीच पौडेल एमालेका सूर्य थापासँग पराजित भइन् । थापाले ४१,११८ मत ल्याएर विजयी हुँदा पौडेलले भने ३५, ८१४ मत ल्याएकी थिइन ।

यस पटक प्युठानमा १४ दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नेकपा (एमाले)बाट सूर्यबहादुर थापा क्षेत्री, नेपाली कांग्रेसबाट डा. गोबिन्दराज पोखरेल, नेपाली कम्युनिष्ट पार्टीबाट कृष्णध्वज खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुसान्त वैदिक, राष्ट्रिय जनमोर्चाबाट तिलक जी.सी., नेकपा (माओवादी केन्द्र)बाट सीता विक (सम्झना), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धनेश्वर पण्डितलगायतले उम्मेदवारी दर्ता गरेका छन् ।

विगतमा विभिन्न पार्टीहरुसँग तालमेल गर्दै आएका दलहरु यस पटक दलहरू एक्लाएक्लै चुनाव लडिरहेकोले उम्मेदवार र पार्टीको वास्तविक हैसियत देखिनेछ । परम्परागत रुपमै बामपन्थी खास गरि मसालको किल्लाको रुपमा रहेको प्युठानमा २०७९ को आम निर्वाचनमा मसाल, तत्कालिन नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसको गठवन्धन हुँदासमेत एमाले उम्मेदवार सूर्य थापा विजयी भएका थिए । यस पटक पनि एमालेबाट उनै थापा उम्मेदवार भएका छन् भने गठवन्धनका कारण त्यति बेला टिकट नपाएका पोखरेल नेपाली कांग्रेसको उम्मेदवार बनेका छन् । मुख्य प्रतिस्पर्धा थापा र पोखरेलबीच नै हुने अनुमान गरिएको छ । 

तनहुँ–१ मा स्वर्णिम र गोविन्दको दोस्रो भिडन्तमा एमालेबाट थपिइन् भगवती, सबैलाई ‘जोशी फ्याक्टर’को आश र त्रास

तनहुँ–१ मा फेरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति रहेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले उम्मेदवार बनेका छन् । वि.स. २०३१ मा गण्डकी प्रदेशको गोरखामा जन्मेका डा. स्वर्णिम वाग्ले अन्तर्राष्ट्रिय विकास अर्थशास्त्री हुन्। विगत २५ वर्षदेखि नेपालभित्र र बाहिर सक्रिय डा. वाग्ले वि.स. २०७७ देखि २०७९ सम्म राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को न्यूयोर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एसिया(प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार थिए। कुनै बेला नेपालकी कांग्रेसका तत्कालिन सभापति शेरबहादुर देउवाका ‘पकेटका वुद्धिजिवी’ मानिने वाग्लेलाई देउवाले नै योजना आयोगको सदस्य र पछि उपाध्यक्ष बनाएका थिए । तर, पछि देउवासँगको सम्वन्ध बिग्रिए पछि २०८० सालमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका थिए । लगत्तै उपनिर्वाचन लडेर जितेका थिए ।

यसपटकको निर्वाचनमा पनि वाग्ले र नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई फेरि आमने–सामने भएका छन् भने त्यसमा एमालेकी भगवती न्यौपाने थपिएकी छन् । त्यसैले यहाँको चुनाव त्रिपक्षिय हुने अनुमान गरिएको छ । त्यसमाथि यहाँ कांग्रेसबाट कारवाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी ‘फ्याक्टर’ पनि प्रभावकारी मानिन्छ । यहाँबाट उनका छोरा दिपकराज जोशी उम्मेदवार छन् । पार्टीबाट कारवाहीमा परेदेखि नै पूर्व गृहमन्त्री जोशीले ‘स्वतन्त्र कांग्रेस अभियान’चलाइरहेका छन् । यो समुहसँग कम्तिमा ५ हजार ‘पकेटका भोट’ रहेको अनुमान गरिन्छ । कथंकदाचित अन्तिम समयमा दिपकराज जोशीले उम्मेदवारी निस्क्रिय पारेर कुनै पार्टी वा उम्मेदवारलाई समर्थन गरे भने त्यसले निर्वाचन परिणाममै असर पार्न सक्ने अनुमान गरिएको छ ।

तनहुँ–१ बाट २०७९ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेलले २०७९ सालको निर्वाचनमा उक्त क्षेत्रबाट २५ हजार ३१८ मत पाउँदा एमालेका एकबहादुर राना मगरले १९ हजार ९४३ मत पाएका थिए ।

पौडेल राष्ट्रपति निर्वाचित भएपछि उक्त क्षेत्र खाली भयो । २०८० वैशाखमा भएको उपनिर्वाचनमा कांग्रेस छाडेका वाग्ले उक्त क्षेत्रबाट भारी मतान्तरसहित निर्वाचित भएका थिए।

उपनिर्वाचनमा वाग्लेले ३४ हजार ९११ मत पाउँदा कांग्रेसका भट्टराईले २० हजार १२२ मत पाएका थिए । एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाएका थिए।

विगतका चुनावी मत परिणाम जे जस्तो भए पनि यसपाली वाग्ले, भट्टराई र न्यौपाने तीनै जना निर्वाचन जित्ने दाबी गर्छन् ।

देशको योजना बनाउँछु भन्नेहरु टोले योजनामा लोभ देखाएर चुनाव जित्ने दाउमा

शंकै छैन प्रा.डा पोख्रेल र डा.वाग्ले वौद्धिक व्यक्तित्व हुन् । दुवैजना तुलनात्मक रुपमा इमान्दार नै मानिन्छन् । राष्ट्रिय—अन्तराष्ट्रिय क्षेत्रमा चिनिएका र देशकै समग्र आर्थिक अवस्थालाई परिवर्तन गर्नु पर्ने र त्यसको नेतृत्व आफूले गर्न सक्ने दावि उनीहरु दुवै जनाले गर्दै आएका छन् । योजना आयोग जस्ता देशकै आवधिक योजनाहरु निर्माण गर्ने, सरकारको प्रमुख सल्लाहकार मानिने निकायको नेतृत्व गरिरहेका अर्थविद्हरु भने चुनाव जित्नको लागि टोल टोलका टुक्रे योजनाहरु बनाइदिने भन्दै आश्वासन बाँड्न व्यस्त देखिएका छन् ।

‘देशका अर्थविद्हरुले चुनाव लड्दा देशको विकासको खाका प्रस्तुत गर्नु पर्ने हो तर उहाँहरु जस्ता वौद्धिक व्यक्तित्वहरु पनि अन्य सामान्य नेता कार्यकर्ता वा ठेकेदारहरुले जस्तो स-साना कुरामै केन्द्रित भएर चुनाव जित्ने प्रयास गर्नु बिडम्बना हो ।’ राष्ट्रिय योजना आयोगका एकजना पूर्व उपाध्यक्ष भन्छन—हाम्रोमा चुनाव कस्ता मान्छेले लड्ने र एजेण्डाहरु कसरी स्थापित गर्ने भन्ने स्पष्ट नहुँदा वौद्धिक व्यक्तिहरु पनि चुनावी राजनीतिमा गएपछि अल्मलिने गरेका छन् । पोखरेल र वाग्लेका एजेण्डा र प्रचारको शैलीलाई हेर्दा त्यो छर्लंग हुन्छ ।

 




सस्तो शेयरमा किन झुम्मिए साना लगानीकर्ता ? कारण ५० अर्बको खेल, के हो ५० अर्बको खेल ?

Jan 22, 2026 05:39 PM

सुवास निरौला 

पछिल्लो समय दोस्रो बजारमा एउटा रोचक दृश्य देखिन थालेको छ। लगानीकर्ताहरूको ध्यान ठूला र महँगा कम्पनीभन्दा साना र सस्ता मूल्य भएका कम्पनीहरूतर्फ ह्वात्तै मोडिएको छ।